विजय जिएम
कोभिड १९ संक्रमणको कारणले बैशाषबाट शुरु हुने २०७८ सालको शैक्षिक सत्र अषाढ १ गतेबाट शुरु भइसकेको छ । शैक्षिक सत्र शुरु भएको तीन महिना हुन लागिसकेको छ । तर विद्यालयहरु बन्द छन् । विद्यार्थीहरु भौतिक रुपमा विद्यालयमा उपस्थित हुनसकेका छैनन् । विद्यालयहरुले विभिन्न वैकल्पिक माध्यमबाट सिकाई क्रियाकलापलाई जारी राखेका छन् ।
शहर बजारमा अवस्थित धेरैजसो विद्यालय र विद्यार्थीहरुले अनलाइन कक्षा मार्फत शैक्षिक गतिविधि सञ्चालन गरिरहेका छन् । अनलाइन कक्षाको पहँुच सबै विद्यार्थी र क्षेत्रमा छैन् । ग्रामिण भेगका विद्यालय र विद्यार्थीहरुमा अनलाइन कक्षाको पहँुच छैन् । तर विद्यार्थीहरु रेडियो, टेलिभिजन, टेलिफोन र सिकाई केन्द्र मार्फत पठनपाठन गरिरहेका छन् । सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही विद्यालयहरु सञ्चालन गर्न ढिलाई गर्नुहुँदैन ।
विद्यालय किन र कसरी खोल्ने ?
विद्यार्थीहरुको स्वास्थ्यलाई ख्याल गरेर विद्यालयहरु सञ्चालन गर्नुपर्छ । विद्यालयहरु अब विस्तारै चलायमान हुनुपर्छ । विद्यार्थीहरुको शैक्षिक उपलब्धि र शैक्षिक गुणस्तर थप क्षति हुनबाट रोक्न विद्यालय खोल्नुको विकल्प छैन । २०७७ सालको शैक्षिक सत्रमा पनि कोभिडको कारणले विद्यालयहरु बन्द थिए । विद्यार्थीहरु पुरा अवधि भौतिक रुपमा विद्यालयमा उपस्थित भएर सिकाई क्रियाकलापमा सहभागि हुन पाएनन् । फलस्वरुप २०७७ सालको शैक्षिक सत्रको शैक्षिक गुणस्तर र शैक्षिक उपलब्धिमा क्षति भएको छ । अझै पनि विद्यालय खोल्न ढिलो गर्ने हो भने यो शैक्षिक सत्रको शैक्षिक गुणस्तर र उपलब्धिमा झन ठुलो क्षति हुने देखिन्छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०१९ मा गरेको अध्ययन अनुसार कक्षा १० मा अध्ययन गर्ने देशभरका सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुको विज्ञान, गणित, अंग्रजी र नेपाली विषयको सिकाइ स्तर अति कमजोर रहेको पाइएको छ । उक्त अध्ययन अनुसार ५० प्रतिशत विद्यार्थीले पाठ्यक्रममा रहेको विषयवस्तुको न्युन सिकाइसमेत हासिल गर्न सकेका छैनन् । कक्षा ३, ५ र ८ को पनि सिकाइ उपलब्धि खस्कदो क्रममा छ । विद्यालयहरु नियमित रुपमा सञ्चालन हुँदा त अवस्था नाजुक थियो भने यो २ वर्षको अवधिमा कोभिडको कारणले विद्यार्थीको सिकाइ उपलब्धिको अवस्था झन कस्तो भयो होला ? सबैको लागि सोचनीय विषय बनेको छ ।
विद्यालयहरु लामो समयसम्म बन्द हुँदा विद्यार्थीहरुको शारीरिक, मानसिक तथा सामाजिक विकासमा बाधा पुगेको छ । विद्यार्थी, अभिभावक र शिक्षक मानसिक तनावमा छन् । विद्यार्थीहरुको समग्र विकासको निम्ति पनि स्वास्थ्य मापदण्डका नियमहरु पालन गरेर विद्यालयहरु आलोपालो वा सिफ्ट अनुसार खोल्नुपर्छ ।
विद्यालय खोल्ने वातावरण बनेको हो ?
अहिले विद्यालय खोल्ने वातावरण बनेको छ । विद्यालय खोल्नको लागि केही आधारहरु निर्माण भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार करिब दुई तिहाइभन्दा बढी नेपालीमा कोभिड १९ विरुद्धको एन्टीबढी विकास भएको छ । दुई तिहाइ नेपाली भनेको करिब दुई करोड जनसंख्या हो । कोभिडविरुद्ध एन्टिबढी देखिएका ६८.६ प्रतिशतमध्ये करिब साढे १० प्रतिशत जनसंख्या खोप र ५८ प्रतिशत जनसंख्या प्राकृतिक रुपमा संक्रमित भएर कोभिडविरुद्ध प्रतिरोधात्मक क्षमता हासिल गरेको देखिएको छ । यो सकारात्मक पक्ष हो । प्राकृतिक रुपमा विकास भएको कोभिडविरुद्धको प्रतिरोधात्मक क्षमताले नेपालीहरुमा उच्च मनोबल पैदा गरेको छ । नेपालीहरु कोभिडविरुद्ध लड्न सक्षम छन् ।
विद्यालय बाहेक लकडाउन खुल्ला भएको धेरै भइसकेको छ । बजार, बैंक, मालपोत, विद्युत, कर, टेलिकम, होटेल, रेष्टुरेन्ट, सभा सम्मेलन, हल, सार्वजनिक यातायात लगाएत अन्य क्षेत्रमा मानिसहरुको अत्याधिक भिडभाड छ । बजार लगाएत अन्य क्षेत्रमा भिडभाड गर्नेमध्ये अधिकांश मानिसहरु विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको अभिभावक नै हुन् । बालबालिकाहरुसँग घरमा अभिभावकहरुको त प्रत्यक्ष सम्पर्क हुन्छ । यदि अभिभावकहरु संक्रमित भएको भए बालबालिकाहरु प्नि संक्रमित हुनुपर्ने हो तर बालबालिकाहरुमा कोभिड संक्रमण फैलिएको छैन् । अहिलेसम्म लकडाउन खुलेपछिको अवस्था हेर्ने हो भने संक्रमण दर न्युन नै छ । तसर्थ धेरै आत्तिनुपर्ने र डराउनुपर्ने अवस्था छैन् ।
कोभिड १९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धि कार्यविधि २०७८ अनुसार कुनै जिल्ला र पालिकामा साप्ताहिक संक्रमण दर ५ प्रतिशतभन्दा कम, साप्ताहिक मृत्यु दर १ जनाभन्दा कम, संक्रमितको वृद्धि प्रतिशत १ प्रतिशतभन्दा कम, अस्पताल भर्नाको अवस्था ३० प्रतिशतभन्दा कम र साप्ताहिक नयाँ केश १०० भन्दा कम छ भने ग्रीन जोनभित्र पर्दछ । ग्रीन जोनभित्र पर्ने विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्तिथिमा शैक्षिणिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ।
समुदायमा कोभिड १९ संक्रमणको अवस्था निर्धारण गर्ने सुचकहरु हेर्दा दाङ ग्रीन जोनभित्र पर्दछ । अब स्थानीय पालिकाहरुले कोभिड १९ संक्रमणको अवस्था निर्धारण गर्ने सुचकहरुको आधारमा लकडाउन स्टाटस निर्धारण गरेर डिसिएमसीसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न छिटोभन्दा छिटो पहल गर्न जरुरी छ ।
सरकारले बालबालिका लागि फाइजर र मोर्डनाको खोप ल्याउने तयारी गरिरहेको छ । सरकारले बालबालिका तथा किशोर किशोरीहरुलाई लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरीदको लागि सम्झौता गरेको छ । सरकारले खोपलाई प्राथमिकतामा राखेको छ ।स्थानीय, प्रदेश र संघीय सरकारले कोभिडविरुद्ध तेस्रो लहरको तयारी गरिरहेको छ । कोरोना बाल अस्पताल र जनशक्ति पनि तयार गरेको छ ।
जनस्वास्थ्य विज्ञहरुको आँकलन अनुसार तेस्रो लहरले बालबालिकाहरुलाई संक्रमण गर्ने सम्भावना धेरै छ । तर भाइरसहरुको नयाँ भेरियन्टहरु हानिकारक नहुन पनि सक्छन् । केही नयाँ भेरियन्टहरु कमजोर पनि हुन्छन् र केही खतरनाक पनि हुन्छन् । नयाँ भेरियन्टहरु सबै हानिकारक हुन्छन भन्ने छैन् । कोभिडविरुद्ध सबै तयारी गरेर विद्यालयहरु खोल्नुपर्छ ।
समुदायमा कोभिड १९ संक्रमणको अवस्था निर्धारण गर्ने सूचकहरुको आधारमा लकडाउन स्टाटस निर्धारण गरेर डिसिएमसीले पालिकाहरुलाई विद्यालय सञ्चालन गर्न अनुमति दिनुपर्दछ । कोभिड १९ संकट व्यवस्थापन अध्यादेशको दफा ५ ले प्रमुख जिल्ला अधिकारीलाई प्रतिकार्य मुकरर तोकेको छ । प्रमुख जिल्ला अधिकारी प्रतिकार्य मुकरर भएकोले दफा ४ बमोजिम आदेश गर्न सक्नेछ भन्ने छ । उतm दफा ४ मा बन्द र नियन्त्रित रुपमा सञ्चालन गर्न आदेश दिन सक्ने भनेको छ ।
डिसिएमसीको प्रमुख पनि प्रमुख जिल्ला अधिकारी नै हुन् । तसर्थ प्रमुख जिल्ला अधिकारीले विद्यालयहरुमा स्वास्थ्य मापदण्डका नियमहरु प्रभावकारी तरिकाले पालना गर्ने गरी विद्यालयको प्रकृति हेरेर आलोपालो वा सिफ्ट अनुसार विद्यालयहरु खोल्ने भूमिका खेल्नुपर्दछ ।