दाङ,२० भदौ । देउखुरीमा भएको मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गएराती करिब १२ बजेतिर लमहीबाट पश्चिमतर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडास्थित सडकमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा लमही नगरपालिका–७ हसनापुर निवासी मोटरसाईकल चालक अन्दाजी ४० बर्षीय शिबु गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गिरीको उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
परिवारका अनुसार उनी शनिवार आफन्तसँगै अर्घाखाचीमा रहेको धार्मिक तीर्थस्तल सुपा देउराली दर्शनका लागि गएका थिए । सुपादेउरालीबाट फर्किएका गिरी लमहीबाट घर जाने क्रममा राती दुर्घटनामा परेका थिए ।