यम रेग्मी
हो रत्न टुक्रा जग पुज्य धान
हो सृष्टिको नै पहिलो बिहान
छन् एसियाका घरभित्र ज्योति
छन् वीर पूर्खा अनमोल मोती ।
१
ती पार्वतीको पतिको धरा हो
सीता मुमाको जननी गरा यो
समेटिएको कुल शाह बाट
सिंगारिएको बलबाहु हात ।
२
छन् सिर्जनामा सरिता हजार
छन् साधनामा वनका पहाड
छन् ध्यान गर्दै शिरका हिमाल
छन् स्वर्ण थाली भरिपूर्ण फाट ।
३
के हात थाप्छौ मणि थाल छोपी ?
कैल्यै नझूकोस् शिरबाट टोपी ।
हौ स्वाभिमानी हिमशैल बासी
छ विश्वमा नै इतिहास साची ।
४
भाषा कलाले अति सिग्रिएको
संस्कार मीठोसित हुर्किएको
दिन्नन् छिमेकीहरु निभ्न चूलो
जन्ती मलामीसरि के छ ठूलो ?
५
सौभाग्य ठूलो यहिँ जन्म पाएँ
यै भीर पाखा वनमा रमाएँ
चाहा छ यौटै यहि बस्न पाऊ
सदैव तिम्रो महिमा म गाऊ
६