परीक्षितको जन्म तथा अश्वमेध यज्ञ

राधेश्याम उपाध्याय

एक दिन भीष्मको मृत्युलाई सम्झेर युधिष्ठिरलाई चिन्ता भयो र जमिनमा मुर्छा भइ ढले । श्रीकृष्णको संकेत पाएर भीमले उठाए । युधिष्ठिरको त्यस्तो स्थिति जानेर धृतराष्ट्रले ‘हे बाबु ! तिमी आफ्नो कार्यमा मति लगाऊ । तिमीले चिन्ता नगर । बरु मैले आफ्नो दुष्कर्म सम्झेर दुःिखत हुनुपर्ने हो । अघि विदुरको अर्ती नमान्नाले एक जनाको हठका कारणले सय जना छोराहरु गुमाए । म यो समयमा अत्यन्त चिन्तित छु । बरु तिमी गान्धारी र मलाई सम्झाऊ ।’

युधिष्ठिरको यस्तो अवस्था देखेर युधिष्ठिर केही बोल्न सकेनन् । धृतराष्ट्रको यस्तो कुरा सुनेर श्रीकृष्णले ‘अब चिन्ता गर्नु वृथा छ, जे हुने भइसक्यो । ज्ञानी नारद, व्यास, विदुर र भीष्मले समेत बुझाए, सबै आफ्नो कर्तव्य हो भनेर बुझिसक्नुभयो । जसले आफ्नो क्षेत्रीय धर्माधर्म पालन गरेर युद्धमा मरे ती सबै संसार पार तरे । तिनकानिम्ति शोक गर्नु वृथा छ । ठूला ज्ञानी प्रतापिहरुले आफूले गरेको दुष्कर्म कटाउन यज्ञ दान तप गर्दछन् । श्रीरामले रावण कुम्भकर्ण आदि राक्षसहरुलाई मारेर अश्वमेघ यज्ञ गर्नुभएको थियो । तिम्रा पूर्वज भरतले पनि धेरै यज्ञ गरे । तिमी पनि यज्ञ गर ।’

श्रीकृष्णको यस्तो वचन सुनेर केहीबेर सोचि ‘त्यो यज्ञ गर्नका लागि प्रशस्त धन चाहिन्छ । यहीले युद्धका कारण राज्यकोष रित्तो छ । प्रजाहरु पनि आफन्तको मृत्युले दुःिखत छन् । कोसँग धन मागेर यज्ञ गर्नसक्छु र ?’ भनि युधिष्ठिरले भने । यो सुनेर व्यास मुनिले भने ‘हे युधिष्ठिर ! तिमी व्यर्थमा धन कहाँ पाउने भनेर चिन्तित नहोऊ । पहिले मरुतले यज्ञ गरेर जुन सम्पत्ति विप्रहरुलाई लान दिए त्यो धन बोक्न नसकेर विप्रहरुले त्यहीँ फालेका छन् । त्यो सम्पत्ति त्यहीँ छ । त्यो स्थान अहिले तिम्रो राज्यमा पर्दछ । इच्छा भएको जति ल्याऊ । तिमीले ल्याउँदा केही दोष लाग्दैन ।’

यो सुनेर युधिष्ठिरले ‘मरुतले कहिले कुन यज्ञ गरे ? यज्ञमा के–के दान गरेर संसार पार तरे ? भनी व्यास मुनीलाई प्रश्न गर्न थाले । यो सुनेर व्यस मुनिले भन्नु भयो – ‘हे राजन ! कुनै समयमा इक्षकु वंशमा मरुत नाम गरेका राजा थिए । उनको सत्कीर्ति चारैतिर फैलिएको थियो । त्यसै समयमा अङ्गिरा ऋषिका दुई छोरा वृहस्पति र संवर्त थिए । ती दुईको मेलमिलाप थिएन । आपसमा द्रोह गर्दथे । देवताहरुले वृहस्पतिलाई आफ्ना पुरोहित (गुरु) माने । त्यो रिसले संवर्त सबै वैभव त्यागेर वनमा गई तपस्या गर्न लागे । उता इन्द्रको आज्ञाले गुरु वृहस्पतिले यज्ञ गर्दै थिए ।

त्यही समयमा इक्षाकु कुलका राजा मरुतले पनि यज्ञ गर्ने मनसुवाले वृहस्पतिलाई निमन्त्रण भन्न गए । वृहस्पतिले देवताहरुको पुरोहित भएँ भन्ने घमण्डले राजा मरुतको निमन्त्रणा स्वीकार गरेनन् । त्यहाँबाट राजा भौँतारिँदै ऋषि संवर्त कहाँ गए । उनले ऋषि संवर्तलाई आफ्नो यज्ञ गराई ईच्छा पूर्ण गराइदिने विन्ति गरे । ऋषि संवर्तले पनि सदैव आफ्नो पक्षको समर्थन गर्ने शर्तमा यज्ञ गराउन सुरु गरे । राजाले सबै सुनका पात्रहरुमा यज्ञ सरु गर्न थाले ।

ऋषि संवर्तले पनि वेदमा मन्त्र पढेर आहुति दिन थाले । देवताहरु सल्लाह गरेर ऋषि संवर्तका रिसले यज्ञमा आहुतिको भाग लिन आएनन् । बरु इन्द्रले वैश्वानरलाई दूत बनाएर राजा मरुतसँग गुरु वृहस्पति आएर यज्ञ गराउनुहुन्छ । त्यो यज्ञ रोकेर संवर्तलाई बिदा देऊ नत्र इन्द्रले बज्र हानेर यज्ञ विनाश गरिदिनेछन् । यो समाचार सुनेर राजा मरुत भयभित भए तर ऋषि संवर्तले राजालाई नडराउन मेरो विश्वास गर इन्द्रले त्यसो गर्न पाउने छैनन् । यो त मेरो वृहस्पतिले द्रोह गरेर तिमीलाई डराउन दिएका हुन् ।

तिमी नडराउ, भन तिमी के वर माग्दछौ, माग । यो सुनेर मरुतले– हे प्रभु सबै देवताहरु मेरो यो यज्ञमा आएर आ–आफ्नो भाग सोमरस खाइ खुसस् होऊन भनी मागे । संवर्त ऋषिले पनि राजालाई तथास्तु त्यसै हुनेछ भनि वरदान दिए । जबव ऋषि संवर्तले मास्तिर हेर्दै वेदका ऋचा वाचन गरी यज्ञमा आहुति दिनथाले तब क्रमशः इन्द्र देवता गुरु वृहस्पति तथा सम्पूर्ण देवताहरु खुसी साथ आएर सोमरस पान गरे । यसरी राजा मरुतको सम्पूर्ण यज्ञ पूरा गरी देवगण तथा ऋषि संवर्त फर्किए । राजा अत्यन्त खुसी भएर विप्रहरुलाई बोक्न नसकिने प्रशस्त धन दान दिए । यसरी दानमा पाएको धन विप्रहरुले बोक्न नसकेर छोडेको धन अहिले पर्यन्त त्यहीँ छ । त्यो धन ल्याएर यज्ञ गर । यज्ञ पूर्ण हुनेछ । त्यो धन रहेको स्थान तिम्रो राज्यमा पर्ने भएकाले उक्त धन ल्याई यज्ञ गर्दा कुनै दोष लाग्ने छैन ।’

श्रीकृष्ण केही दिन हस्तिनापुरमा बसी द्वारिका फर्कनुभयो । त्यहीबीचमा व्यास मुनि आएर धर्मकुमारलाई शिक्षा दिई शान्त पार्नुभयो र ब्राह्मणहरु बोलाएर स्वस्तिक वाचन गरी राम्रो दिन हेरेर पाण्डवहरु सैन्य लिएर त्यो धन लिन गए । उक्त स्थानमा पुगी शंकरको पूजा गरी व्यासको शिक्षा अनुसार पृथ्वी खनेर असंख्य सम्पत्ति निकाले । त्यो सबै सम्पत्ति हात्ती, घोडा, ऊँट, रथमा राखेर पाण्डवहरु फर्कन थाले । त्यही समयमा छोरा, नाति, पनाति र बन्धु बान्धवहरु साथमा लिएर उत्साहका साथ श्रीकृष्ण हस्तिनापुर आउनुभयो ।

धृतराष्ट्र र विदुरले ठूलो स्वागत गरी यथोचित स्थानमा आदरका साथ बसाए । त्यही समयमा उत्तराका गर्भबाट अभिमन्युको मृत छोरा जन्मियो । कुन्ती, द्रौपदी उत्तरा सुभद्रा मृत बच्चा देखेर विलाप गर्न लागे । सबैले श्रीकृष्णको स्तुती गर्दा हे रुक्मिणीका पति, हे केशव ! दुष्ट द्रोणीले प्रहार गरेको ब्रह्मास्त्रका प्रभावले उत्तरा पुत्र मृत जन्मन गए । त्यसैले हे बासुदेव ! हजुरले आफ्नो योगबलले यस बच्चालाई बचाई हाम्रो कल्याण गर्नुहोस भनि प्रार्थना गर्न लागे । यो बालक जीवित नभए पाण्डुको वंश नासिने र पानी पिण्ड नपाएर पितृगणको उद्धार समेत नहुने भएकाले हजुरले जसरी भए पनि यो बालकलाई जीवन दान दिई पाण्डवहरुको उद्धार गर्नुहोस् भनी प्रार्थना गर्न लागे ।

सबैको विलाप र दुर्गति देखेर श्रीकृष्णले मृत बालकलाई काखमा लिई द्रौणीको ब्रह्मास्त्र शान्त पारी पानी मागि आचमन गरी बालकलाई जीवन दान दिई बचाउनुभयो । आकाशबाट देवगणले खुसी साथ लावा, पुष्प, अविरको वर्षा गरे । त्यहाँ भएका सबैले श्रीकृष्ण भगवान् योगेश्वरको स्तुतीगान गरे । श्रीकृष्णले त्यस बच्चाको नाम परीक्षित भनी राखिदिनुभयो । पाण्डवहरु सैन्य सहित धेरै सम्पत्ति ल्याई आए । दरबारको सबै समाचार पाण्डवहरुले थाहा पाए । सबै पाण्डवहरुले श्रीकृष्णको पूजा गरे । यज्ञका लागि श्रीकृष्णलाई केही दिन हस्तिनापुरमा बस्न आग्रह गरियो । श्रीकृष्णको सल्लाहामा यज्ञका लागि सबै सामग्री तयार भयो ।

त्यही समयमा व्यास मुनि पनि आऊनुभयो । व्यास मुनिको यथोचित पूजा गरी उत्तर दिशा गिरिमा गएर हजुरले भनेको धन प्रशस्त ल्याएँ । अब बन्धुबान्धवको हत्याको पाप पखाल्नका लगि अश्वमेघ यज्ञ कसरी गर्ने भनी मेरो मन आत्तिरहेको छ । धर्म सबैको हित र मेरो कर्तव्यको शिक्षा पाऊ भनि भन्न लागे । युधिष्ठिरको यस्तो विन्ति सुनेर व्यासजी भन्नु हुन्छ ‘हे राजन ! यो वर्षको अन्त्यमा चैत्रको पूर्णिमा आउनेछ । त्यस दिन योग्य श्रेष्ठ ब्राह्मण राखेर शास्त्र विधिअनुसार यज्ञका लागि दीक्षा लिनुपर्नेछ । ब्रह्माचार्य ब्रतको पालन गर्नु, भूमिमा सुत्नु, मृगको सफा छाला (मृगचर्म) धारण गर्नु ।

सम्पूर्ण हिसाबले तन्दुरुस्त अश्व लिई अश्वको ललाटमा म विश्व विख्यात राजा युधिष्ठिर महाभारत युद्धमा भएको संहारको पाप मोचनका लागि अश्वमेध यज्ञ गर्न यो अश्व छाडेको छु । जसलाई म वीर छु भनि घमण्ड छ, उसले यो घोडा समाई युद्ध गरोस् र शक्तिहीनहरु यो अश्वको संरक्षण भई अश्वसँगै शरण परी हस्तिनापुर आओस भनी लेखी अश्व छोड्नुपर्दछ । कहीँ समयपछि चैत्र शुक्ल पूर्णिमा आयो र युधिष्ठिरले पनि व्यासको आदेशानुसार दीक्षा लिई ब्रह्माचार्य ब्रतको पालन गर्दै अश्वको पूजा गरी अश्वको सुरक्षाका लागि अर्जुनलाई – हे भाइ यो अश्व सँगै जाउ जसले युद्ध चाहँदैन उसलाई छाडिदिनु । युद्धदेखि भाग्न मूच्र्छित शस्त्रहीन विरथी भएका नारी र नाबालकहरुलाई शरणमा लिई युद्ध गर्नेहरुलाई युद्धमा परास्त गरी अश्वको सुरक्षा गर्दै आऊनु भनि अर्तिउपदेस समेत दिई खटाई पठाए । घाडा पनि वस्त्राभुषणले सुसज्जित भई उत्तर दिसातर्फ लाग्यो ।

जो जसका बन्धुबान्धवहरु महाभारतको युद्धमा मारिएका थिए उनीहरुले पाण्डवसँग बदला लिने मौका कुरिरहेका थिए । जब अश्व त्रिगर्त देशको सीमानाभित्र प्रवेश ग¥यो तब त्यहाँका योद्धाले घोडा पक्रेर लगे, सबै मिलि अर्जुनसँग युद्ध गर्न लागे । त्यहाँ सूर्यबर्मासँग भयो । शरणमा पर्न आएकालाई माफी दिए र युद्धमा विजय भई घोडालाई मुक्त गरी अर्जुन अगाडि बढे । घोडा घुम्दै प्राग्ज्यौतिष्पुरमा पुग्यो । त्यहाँ बज्रदत्त राजाका सेनाले घोडा पकडे । बज्रदत्त राजा भगदत्तका छोरा थिए । उनी पनि महाभारत युद्धमा मारिएका थिए ।

त्यसैले आफ्ना पिता भगदत्तको बदला लिन योजनपाद नामको बलवान हात्तीमा चढेर ब्रजदत्त अर्जुनसँग युद्ध गर्न आए । उनले योजनपादको हात्तीद्वारा अर्जुनलाई मार्ने कोसिस गरे । त्यो कोसिस असफल भएपछि एउटा शक्ति चलाएर अर्जुनलाई केहीबेर मुच्र्छा पारे । मुच्र्छाबाट ब्यूँतेपछि अर्जुनले पनि तीन गोटा वाण चलाएर हात्तीलाई मारिदिए । ब्रजदत्त हात्तीबाट हामफालि प्राण बचाए । ब्रजदत्तले एक गदा अर्जुनका शिरमा ताकेर हाने ।

अर्जुनले पनि पाँच गोटा वाण चलाएर गदा काटी ब्रजदत्तलाई घायल पारे । ब्रजदत्त आफ्नो जीवन रक्षाका लागि चिन्तित भए । त्यो अवस्था देखि अर्जुनले – ‘हे राजन तिमीलाई मैले माफी दिएँ, आफ्ना दरबार जाऊ । कत्ति पनि डर नमानी राजा युधिष्ठिरको लाग्ने कर लिएर हस्तिनापुर यज्ञमा आउनु भनि राजा ब्रजदत्तलाई माफ दिई घोडा लिई अगाडि बढे ।