महामारीको चपेटामा देशको शिक्षा प्रणाली

भुवन पोख्रेल

कोभिड–१९ का कारण हरेक क्षेत्र अस्तव्यस्त भएका छन् । कोभिडका कारण लगाइएको निषेधाज्ञाले हरेक क्षेत्र व्यापार, व्यवसाय, रोजगारी सबैमा चुनौती थपिएको थपियै छन् । कोभिड संक्रमणको दर अझै घटेको छैन । सबैको पहुँचमा खोप कहिले पुगने हो ? टुङ्गो छैन । कोभिड–१९ ले अस्तव्यस्त पारेको क्षेत्र सबैभन्दा बढी शिक्षा र स्वास्थ्य हो ।

महामारीका कारण लामो समयदेखि विद्यालय जानबाट वञ्चित बालबालिका हिजोआज सामाजिक सञ्जालको माध्यमबाट विद्यालय र शिक्षक–शिक्षिकासँग जोडिएका त छन् तर तिनको सिकाइको गुणस्तरमा भने क्रमिक ह्रास आइरहेको देखिन्छ । सुसंस्कृत र परिस्कृत समाज निर्माणमा शिक्षाको ठूलो भुमिका रहन्छ । हालको प्रविधिमैत्री युग सँगसँगै हरेक मानिस मोवाइल फोन, ल्यापटप, इन्टरनेटबिना बस्न नसक्ने भएको छ । यी साधनहरुमार्फत् पनि मानिस शैक्षिक गतिविधिमा जोडिनसक्छ ।

तर, हामीकहाँ राज्यको कमजोर शैक्षिक नीति र ग्रामीण क्षेत्रका नागरिकको मोबाइल, ल्यापटप तथा इन्टरनेटमा कमजोर पहुँचका कारण पनि अहिले लखौँ विद्यार्थी देशको शैक्षिक कार्यक्रमबाट बाहिर छन् । राजधानीलगायत सहरी क्षेत्रमा अनलाइन कक्षाहरु कामचलाउ रुपमा चलिरहेका भए पनि ग्रामीण इलाकामा नाम मात्रका कक्षा पनि सञ्चालन हुन सकिरहेका छैनन् ।

देशका ग्रामीण क्षेत्रका शिक्षकहरु पनि अनलाइन कक्षाका लागि तयार छैनन् । उनीहरुसँग न त प्रविधिको सहज पहुँच छ न त ल्यापटपलगायत अत्यावश्यक उपकरण नै छ । जसले गर्दा अनलाइन कक्षाहरु नामका लागि मात्र साबित भएका छन् । २०७६ चैत्र १२ देखि नेपालमा शिक्षाको लय बिग्रिएको छ । जेनतेन सिकाइलाई निरन्तर दिइरहेका बहुसंख्यक सामुदायिक विद्यालयहरुलाई कोभिड–१९ ले थला परिरहेकै छ ।

अधिकांश विद्यालयहरु शिक्षण सिकाइ पाठ्यपुस्तक केन्द्रित छ । अझ विपतका समयमा सिकाइ निरन्तरताका लागि वैकल्पिक उपायहरुको योजना र अभ्यास नुहँदा शिक्षक विद्यालय र सरोकारवालाहरुलाई नयाँ परिस्थिति फलामको चिउरा भयो र यो चपाउन नसकेको प्रत्यक्ष भार विद्यार्थीहरुले भोगिरहेका छन् । शिक्षित र सम्पन्न परिवारका बालबालिका सहजै घरघरमा सुरक्षित तवरमा अनलाइन पढिरहेका छन् तर सामुदायिक विद्यालयका बहुसंख्यक बालबालिकको पढाइ अस्तव्यस्त छ ।

चार महिनादेखि बन्द भएका विद्यालयहरु खोल्नुपर्ने दबाब बढ्दैछ । संघीय सरकारले स्थानीय तहले नै परिस्थिति विश्लेषण गरेर खोल्न पाउने अनुभूति दिएअनुसार ठाउँ–ठाउँमा विद्यालयहरु खुल्न थालेका छन्, आ–आफ्नै मापदण्डमा । विद्यालय खोल्दा विद्यार्थीप्रति विद्यालय स्वयम् र स्थानीय सरकार जिम्मेवार बन्नुपर्छ । कोरोना कहरका कारण उकुसमुकुस भएका अभिभावक, शिक्षक, स्थानीय सरकारले यसलाई गम्भीरतापूर्वक लिएका थिए । कौतिक दूरी कायम गरी आवश्यक स्वास्थ्य सतर्कता मापदण्ड अपनाएर बालबालिकालाई सुरक्षित रुपमा कक्षा कोठामै पठनपाठनको अवसर दिनुको विकल्प छैन । महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल बन्न पुगेको छ ।

गत वर्षको एसइईको नियति यसपटक १२ कक्षाका परीक्षार्थीले भोग्नु प¥यो । परीक्षाको मुखमा आएर कुनै पनि विकल्प नदिइकन १२ को परीक्षा स्थगित हुनुले विद्यार्थी अन्योलमा परेका छन् । राष्ट्रिय परीक्षाबोर्ड जस्तोसुकै अवस्थामा पनि परीक्षा सञ्चालन गर्न दृढ देखिए पनि अन्तिम समयमा उपयुक्त विकल्प नदिएर परीक्षा रोकियो । यसले विद्यार्थीहरुमा तनाव थपियो । विद्यार्थीहरुलाई तनावबाट मुक्त गर्ने दायित्व परीक्षा बोर्डको हो ।

स्वदेशमै चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका विषयको अध्ययन गर्ने तथा विदेशका विश्वविद्यालयमा अध्ययनका लागि अवसर कुरेर बसेका परीक्षार्थीको परीक्षाको अनिश्चिततासँगै शैक्षिकसत्र खेर जाने हो कि भन्ने चिन्ता थपिएको छ । विद्यालय तहको अन्तिम परीक्षाको समयमा निकास दिन नसक्दा समग्र विद्यालय शिक्षा अस्तव्यस्त हुने अवस्थामा पुगेको छ । विद्यार्थीको खस्कँदो शैक्षिक गुणस्तर, चरम राजनीतिक, भागबण्डा र शिक्षाप्रतिको उदासीनताका कारण दिनानुदिन नेपाली शिक्षा क्षेत्रमा चुनौती थपिएको थपियै छन् ।

गत वर्ष परीक्षाको मुखैमा रोकिएको एसइई आन्तरिक मूल्यांकनका आधारमा सम्पन्न गर्दा विद्यालयले मनोमानी ढङ्गले अंक दिँदा परीक्षाको विश्वसनीयतामै प्रश्न चिह्न खडा भयो । अकस्मात महामारीको विष्म परिस्थितिले सिर्जित समस्याका कारण गत वर्ष परीक्षाको मापदण्ड विकसित गर्न नसकिएको भए पनि यस वर्ष विगतका कमजोरीमा सुधार ल्याउने पर्याप्त समय थियो । तर विडम्बना यस वर्षको एसइईको नतिजा समेत झनै अविश्वसनीय बन्न पुग्यो ।

यसले विद्यालय, शिक्षक र विद्यार्थीको भूमिका र परीक्षाको मर्यादालाई धुलोमै मिसाइदिएको छ । शिक्षा क्षेत्रमा परेको क्षतिको दीर्घकालीन असर देखा पर्दछन् । त्यसर्थ, राज्य बेलैमा सतर्क बन्नुपर्छ । शिक्षा क्षेत्र संवेदनशील क्षेत्र हो । यस्तो विषम परिस्थितिमा राष्ट्रिय शिक्षा नीति समेत बन्न सकेको छैन । शिक्षा यतिखेर सीमित समूहको व्यापार व्यवसायको क्षेत्र जसतो भएको छ । यस्तो अवस्थामा शिक्षा क्षेत्रलाई अग्रगति दिने राष्ट्रिय नीति नहुँदा समग्र शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।

लामो समयदेखि रोकिएको शिक्षा क्षेत्रका कारण बालबालिकाको पठन संस्कृति हराउँदै गइरहेको छ । शिक्षण सिकाइ क्रियाकलाप आदतसँग सम्बन्धित हुन्छन् । विद्यार्थीको पढ्ने आदत कम हुँदै गएको छ । विद्यालय, परीक्षाबोर्ड, विश्वविद्यालय, शिक्ष्ाँ मन्त्रालय समेत विद्यार्थीको सिकाई सहजीकरणका लागि गम्भीर बन्न नसक्दा यसको मार विद्यार्थी र अभिभावकमा पर्न गएको छ । पठन संस्कृतिमा आएको विचलन र परीक्षाबिनै कक्षा स्तरोन्नति हुने मान्यताले ग्रस्त भएका विद्यार्थीको पढाइप्रतिको उदासीनताको प्रभावले शिक्षा क्षेत्रमा लामो समयसम्म असर पार्छ । यसले शिक्षाको जग कमजोर मात्र नभई समग्र शिक्षा प्रणालीमै अपूरणीय क्षति हुने निश्चित छ ।

नेपालको शिक्षा क्षेत्र, लामो समयदेखि अनिर्णय र अकर्मण्यताको शिकार हुँदै आएको छ । इन्टरनेटको सहयोगमा शैक्षिक गतिविधि सञ्चालन गर्नु अहिलेको आवश्यकता हो तर त्यसका लागि सर्वसाधारणको पनि डिजिटल प्लेटफर्मसम्म सहज र सुलभ पहुँच आवश्यक छ । यसका लागि राज्यले समेत पहल गर्नुपर्छ । तर नेपालमा देशको शैक्षिक दूरावस्थाबारे सरकार मौन छ । शैक्षिक क्रियाकलाप तल्लो तहदेखि माथिल्लो कक्षासम्म के–कस्ता सञ्चालन भएका छन्, यसबारे हाम्रो सरकारलाई कुनै चासो र चिन्ता छैन ।

यस विषम परिस्थितिमा आज सरकारले अनलाइन कक्षाहरु सञ्चालन गर्न त भनेको छ तर त्यस्ता कक्षा कसरी चलिरहेका छन् ? बालबालिकाको पहुँच छ कि छैन चासो दिएको छैन । लाखौलाख विद्यार्थीले ल्यापटप देखेका पनि छैनन् । प्रयोग गर्न त धेरै परको कुरा हो । कमजोर इन्टरनेट सेवाका कारण शिक्षक र विद्यार्थी दोहोरो सम्वाद समेत हुन सकेको छैन । यस्तो अवस्थामा विद्यार्थीको सिकाइ सहजीकरण कस्तो रहला ? भर्खरै विद्यालय जाने बानी परेका शिशु कक्षाका विद्यार्थी कोरोना कहरका कारण आजसम्म अक्षर चिन्न पाएका छैनन् । उनीहरुका लागि अनलाइन कक्षा प्रभावकारी छैन, जसले गर्दा उनीहरुको उमेरसँगै बढ्नुपर्ने सिकाइ क्रियाकलाप निकै पछाडि नै छुटेको छ ।

अनलाइन कक्षाको मूल्यांकन प्रक्रियामा पनि समस्या देखिन्छ । परीक्षाहरु एकपछि अर्को गरी स्थगित भएका छन् । विशेष गरी ११, १२ र विश्वविद्यालय तहका अध्ययन गर्ने बालबालिकाको शैक्षिक सत्र नै खेर गइरहेको छ । चार वर्षमा सकिनुपर्ने पढाइ ६ वर्षमा पनि नसिकने स्थिति छ । त्यसैले पनि नियमित अनलाइन कक्षा र निरन्तर मूल्यांकन प्रक्रिया अनुशरण नगर्ने हो भने हाम्रो देशको शैक्षिक क्षेत्रहरु अझै अस्तव्यस्त भइरहने छन् र भविष्यका कर्णधार मानिने विद्यार्थीको सिकाइ क्रियाकलाप झनझन कमजोर हुँदै जाने निश्चित छ ।

महामारीमा प्रविधिले हामीलाई चुनौती र अवसर दुवै दिएको छ । हामीले चुनौतीहरु पन्छाउँदै प्राप्त अवसरको सदुपयोग गर्न सकियो भने देशको शैक्षिक क्षेत्रले पुनः गति लिन सक्दछ । अन्यथा हाम्रो शैक्षिक क्षेत्र महामारीसँगै धरासायी हुनेमा कुनै शंका छैन । त्यसर्थ, देशको शैक्षिक क्षेत्रलाई अस्तव्यस्त हुनबाट बचाउन राज्यले तत्कालीन र दीर्घकालीन राष्ट्रिय शिक्षा नीति बनाएर अघि बढ्न ढिला भइसकेको छ । आफ्नो ट्रयाकमा गइरहेको शिक्षाको सिस्टम खल्बलिएको छ ।

अहिले विद्यालय जाने उमेरका बालबालिका विद्यालय बन्द भएपछि घरमै बसिरहेका छन् । अधिकांश कृषकका छोराछोरी भएकाले अचेल खेतीपाती, गाईभैँसी, बाख्रा चराउने, घाँस काट्ने काममा अभिभावकलाई सघाउँदा अभिभावक खुसी पनि हुनुभएको छ । उहाँहरुलाई कामको बोझ घटेको छ । तर विद्यार्थीको नियमित पठनपाठन भनेको ठप्प छ । महामारी नियन्त्रणपछि विद्यालय फर्किन छात्रछात्राहरुको संख्या कम हुने खतरा रहेको छ ।

अब यो महामारी कहिलेसम्म रहन्छ ? कहिले सकिन्छ होला ? भन्ने जस्ता प्रश्नहरु अनुत्तरित भएका छन् । नेपाल अहिले कोरोना महामारीका कारण आर्थिक सामाजिक, राजनीतिक र सांस्कृतिक रुपमा क्षतविक्षत भएको त छ, जसले गर्दा देश गरिबी, बेरोजगारी र भोकमारी जस्ता विषम परिस्थितिबाट गुर्जन थालेको छ । यही महामारीको चपेटामा हाम्रो देशको शिक्षा प्रणाली पनि अछूतो रहन सकेन । बरु झन बढी शिक्षा क्षेत्र चपेटामा पर्न पुग्यो । यसै सन्दर्भमा देशको शिक्ष क्षेत्र कोरोना कहरबाट पीडित मात्र भएन कि शैक्षिक सत्रको समेत क्रमभङ्गता भई शिक्षा प्रणाली नै प्रभावहीन र अनुत्पादक सिद्ध हुने सम्भावना देखियो ।

कोरोना कहरले शिक्षा क्षेत्रका पारेको नकारात्मक असर वा प्रभावको त विश्लेषण गरियो, अब कोरोना कहरले शिक्षा क्षेत्रमा के–कस्ता सकारात्मक प्रभाव पारेको छ त ? विश्लेषण गरौँ । समय परिवेश अनुसार आफूलाइृ अध्यावधिक गरी शिक्षण सिकाइका वैकल्पिक विधि र प्रविधिहरुको खोजी गर्न सकिएको छ । आफूले खोजी गरेका वैकल्पिक विधि, प्रविधिहरुमार्फत् सिक्न र सिकाउन तयारी हुनुपर्ने कुराको सन्देश दिइएको छ ।

विद्यालय शिक्षालाई २१औँ शताब्दीको युगमा प्रवेश गराइ प्रविधिमैत्री बाउन, शिक्षा प्रणालीलाई समयानुकूल पुनर्संरचना र पुनर्आवरण गरी वैज्ञानिक व्यवस्थापन गर्न समेत सहयोग पु¥याउनै देखिएको छ । परम्परावादी सिकाइ प्रणालीलाई निरुत्साहित गरी आधुनिक प्रविधियुक्त सिकाइमा अपडेट हुने एउटा राम्रो अवसर प्राप्त हुँदैन । शिक्षा क्षेत्रमा गरिँदै आएको राष्ट्रिय लगानी र प्राथमिकताका क्षेत्रमा समेत पुनर्विचार गर्ने अवसर प्राप्त भएको छ ।

पहुँच र पर्याप्तताका आधारमा रेडियो टेलिभिजन, इन्टरनेटमार्फत् अनलाइन क्लास, अफलाइन क्लास, भर्चुअल क्लास जस्ता वैकल्पिक सिकाइका माध्यमका लागि वातावरण तयार भइरहेका छन् । सिकाइमा प्रविधिका माध्यमहरुको उपयोग गर्ने, ती उपयोग गरिने प्रविधिहरु शिक्षक आफैले खोजी गरी सिक्ने र सिकाउने बानीको समेत विकास भई यसले निरन्तरता समेत प्राप्त हुनथालेको छ ।  शिक्षण सिकाइका लागि अत्याधुनिक सुविधा सम्पन्न भौतिक पूर्वाधारहरु मात्र पर्याप्त होइनरहेछ, यी नभए पनि शिक्षक र विद्यार्थी मिलेमा जोखिम व्यवस्थापनका लागि प्रविधिको कौशलतापूर्वक उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

विद्यार्थीमा स्वअध्ययन गर्ने बानीको विकास हुँदै गइरहेको छ । सिकाइ सहजीकरणमा एकअर्काबीचको अन्तरसम्वाद र क्षमता विकासको अवसर जुटेको छ । विद्यालय मात्र सिकाइ केन्द्र रहनेछ । शिक्षकमा मात्र नभई विद्यार्थी र अभिभावकबीचमा समेत जवाफदेही अभिवृद्धि भएको छ । विद्यार्थीहरुले आफ्ना घरपरिवारबाट जीवनका मूल्य मान्यताहरु, संस्कारहरु र व्यावहारिक तथा प्रयोगात्मक ज्ञान आर्जन गर्ने अवसर प्राप्त गरेका छन् । खेल र टाइमपासका लागि अत्यधिक प्रयोग गरिएका प्रविधि ल्यापटप, ट्याब, मोबाइललाई अब सिर्जनात्मक रुपमा उपयोग गर्ने सुनौलो अवसर कोरोना भाइरसले हामीलाई सिकाएको छ ।

कोरोना भाइरसले शिक्षा क्षेत्रमा नकारात्मक असर त पारेकै छ, त्यसमा पनि सकारात्मक सोच राखेर अघि बढ्यो भने सिकाइ सहजीकरण उत्कृष्ट बन्न पुग्दछ । सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकाहरुलाई सिकाइको वातावरण जुटाइदिनेदेखि लिएर उनीहरुको स्वास्थ्य, खेलकुद, मनोरञ्जनलगायतका विषयमा वैज्ञानिक रुपमा समय व्यवस्थापन गरिदिने हो भने बालबालिकाको व्यक्तित्व विकास गर्न सकिन्छ ।

एउटा सफल अभिभावकको हैसियतले पहिलो शिक्षक अभिभावक र पहिलो पाठशाला घर हो तसर्थ अभिभावकले आफ्नो तनाव र रिस कहिल्यै बालबालिकामाथि प्रकट गर्नु हुँदैन । महामारी पूर्वसूचना गरी आउँदैन । हरेक विपतले विनाश मात्र निम्त्याउँदैन त्यसले रुपान्तरणको स्वर्णिम अवसर पनि प्रदान गर्दछ । रत्नाकार थुप्रै वर्ष एकान्त बास बसेर बाल्मिकी भएका थिए । न्यूटन पनि प्लेगको महामारीका कारण बन्द विश्वविद्यालयको अवसरमा अनुसन्धान गरी वैज्ञानिक भए । लगनशील विद्यार्थी, समर्पित शिक्षक, उत्तरदायीपूर्ण अभिभावक र प्राज्ञिक वातावरणलाई भने कदापि नकार्न सकिँदैन ।