शंकरप्रसाद नेपाल
सामान्य किसिमका रोगहरुको रोकथाम गाउँघरमै पाइने जडिबुटीहरुबाट पनि गर्न सकिन्छ । केही दशक पहिलेसम्म गाउँघरमा कोही बिरामी भयो भने गाउँघरमै पाइने जडिबुटीहरुबाट रोगहरुको रोकथाम गर्ने गरिन्थ्यो । त्यस समयमा गाउँगाउँमा स्वास्थ्य सेवाको व्यवस्था थिएन । उपचार गराउन १÷२ दिन नै हिडेर सदरमुकाम जानुपर्ने वाध्यता थियो ।
त्यसैले गर्दा गाउँघरकै जडिबुटीहरुबाटै रोगहरुको नियन्त्रण गर्ने गरिन्थ्यो । अब भने त्यो स्थिति त छैन तर पनि यातायात नपुगेका दुर्गम गाउँहरुमा अझै पनि जडिबुटीबाटै स्वास्थ्योपचार गर्ने गरेको पाइन्छ । यदि यस जडिबुटीलई सही मात्रामा मिलाई, सही तरिकाबाट, रोगहरुको पहिचान गरी जडिबुटी खाने गरेमा, दुर्गम ठाउँमा मात्रै नभई सुगम ठाउँमा बस्ने व्यक्तिहरुका पनि रोगहरुको निराकरण गर्न सकिन्छ । त्यसैले स्वास्थ्य सेवाको पहुँचबाट टाढा भएका अथवा अपरझट कुनै ठाउँमा आवश्यक परेको बेला निम्न लिखित घरेलु उपाय अपनाएर स्वस्थ रहन सकिन्छ ।
धेरैजसो रोगहरु खानपिन र अनिद्राको कारणबाटै हुने गर्दछ । त्यसैले रोग लाग्नै नदिनका लागि समयमै खाना खाने बानी गर्ने, ठिक समयमा सुत्ने, जथाभावी तरिकाबाट खानपिन नगर्ने र सरसफाईमा ध्यान दिने गर्ने हो भने धेरै रोगहरुबाट बच्न सकिन्छ । हामीले कुनै पनि चित्रहरु खाँदा यो सोचेर खाने गर्नुपर्दिछ कि यो चीजले मलाई खराब त गर्दैन ? यो सोच बनाई दाल, भात, घ्यू खाँदा होस् या माछामासु, अण्डा खाँदा होस् ठिक मात्रामा थोरै थोरै खाने गरेमा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।
यदि त्यही चीजहरुलाई अनियन्त्रित तरिकाबाट खाने गर्ने हो भने त्यो स्वास्थयको लागि हानिकारक हुने गर्दछ । तसर्थ, स्वास्थ्यलाई स्वस्थ बनाउन अनियन्त्रित तरिकाबाट खाना नखनो, चिन्ता नलिने, रिस नगर्ने, सधैँ हँसिलो हुने, समयमै सुत्ने, समयमै उठ्ने र मध्यपान नगर्ने हो भने स्वास्थ्य सधैँ निरोगी रहन्छ । अन्यथा सधैँभरि रोगी भइ बस्नुपर्ने हुन्छ । अब एकै छिन केही घरेलु तरिकाबाट स्वास्थ्योपचारको बारेमा केही जानकारी गरिहालौँ ः
– यदि कसैको पिव आउने घाउ भएको छ भने निमको पात र बोक्रालाई थिचेर, पिसेर चन्दनजस्तो लेदो बनाउने र त्यसमा थोरै मह मिसाएर ४÷५ दिनसम्म घाउमा लगाइदिने गरेमा केही दिनमै घाउ ठिक हुँदै जान्छ ।
– यदि जिउमा स–साना विविरा आइ चिलाउने गर्दछ भने – सयपत्रीको पात र डाँठलाई पिसेर रेदो बनाइ त्यसमा थोरै मह मिसाएर जिउमा लेपन गर्ने गरेमा चिलाउने ठिक हुन्छ । यो कार्य २÷३ पटक गर्नुपर्ने हुन्छ ।
– रुघा, खोकी लागेर दुःख दिएको छ भने असुरोको टुप्पोतिरको कलिलो पातलाई कुटेर रस निकाल्ने र उक्त रसमा थोरै मह राखी फिटेर आधा चम्चा जति रस केही दिनसम्म खाने गरे रुघाखोकी ठिक हुँदै जान्छ ।
– महिलाहरुलई रक्तप्रदर भएमा कुरिलोको डाँठको रस निकाली, उक्त रसमा थोरै मह मिसाइ १÷२ चम्चा एक हप्तासम्म खाने गर्ने हो भने क्रमशः सुधार हुँदै जान्छ ।
– यदि कसैलाई पाइल्स बबासिरले गर्दा दिसामा रगत आउने गरेको छ भने त्यस्ता व्यक्तिहरुले गाईको काँचो दूध दुहँदादुहुँदैको तातो एक कम (ठूलो) दूधमा आधा जति रसिलो कागती निचोरेर तुरुन्तै नफिटिकन खाने । यो कार्य २ पटक मात्र प्रयोग गर्ने, धेरै प्रयोग गर्नु हुँदैन ।
– जुम्राले कसैलाई सताएको छ भने सलिफाको पेडा ८÷१० वटा, मरिच ५÷६ वटालाई एकै ठाउँमा मसिनो गरी पिसेर धुलो बनाउने, उक्त धुलोमा तोरीको तेल मिसाइ, राती सुत्नेबेलामा कपालमा लगाइ सुत्नुे गरे जुम्रा सबै मर्ने गर्दछन् ।
– यदि तपाई कमजोर हुनुहुन्छ भने दैनिक एक चम्चा मह दुई महिनासम्म खाने गर्नुहोस् कमजोरीपना क्रमशः हराउँदै जान्छ ।
माथि उल्लेखित बुँदाहरु त उदाहरण मात्रै हुन् । हामै्र वरिपरि रहेका सामान्य मानिने जडिबुटीबाट यति विघ्न स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्दा अविश्वास हुनसक्छ । तर त्यसमा रोगहरुको रोकथाम गर्ने पूर्ण क्षमता छ । यसलाई ठिक तरिकाबाट प्रयोग गर्ने गरे अवश्य पनि फाइदा हुन सक्दछ । आशा छ यो प्रविधिले यहाँका केही समस्याहरु समाधान हुने छन् ।