दुग्धं गीतामृतं महत्

गुरुप्रसाद शर्मा रेग्मी

गीतारुपी गाईको दूध बडो विलक्षणको अमृत रहेछ । यो दूध जति पिउन सक्यो उति मनोहर आनन्द दिने गर्दछ । त्यो अलौकीक आनन्दको वर्षन गर्न कसैले सक्दैन । त्यसैले यस गीतालाई वेदको सारत्वले भरिएको अमृत कुण्ड भनिएको हुनु पर्दछ । गीताको अठार अध्यायमा सात सय श्लोक मात्र छन् ।

त्यति थोरै श्लोकमा पनि अलौकीक अनेकौँ तत्व भावले भरिपूर्ण छ । यो गीता जति पटक बढ्यो उति पटक नयाँ तथा कुरा देख्न र जान्न पाइन्छ । यसलाई पढ्न सकिन्छ, याद गर्न सकिन्छ, यसबाट जानेका कुरा अनुशरण गनृ सकिन्छ । मैले गीतालाई गहिरिएर १०–१२ पटक पढेको छु । हरेक पटक नयाँ–नयाँ तत्वदर्शी कुराले मलाई रोमाञ्चित बनाइदिएको छ । लेख लेख्न पनि घचघच्याएको छ । यस पटकको गीता पढाइमा जेजस्तो कुरा जान्न पाएँ तिनैलाई गीताको प्रसादि बनाएर पाठकहरुको सामू पस्किदिएको छु ।

कसैले मैले गीता प्रतिदिन पाठ गर्दछु, मलाई कण्ठ छ, मैले पढेको छु भन्दछ भने त्यो पाञ्चायन देवताको पूजा गर्न लागेको बेला उसको पूर्णध्यान स्थान विशेषमा जान यातायातको साधन खोज्न समय बिताएको जस्तो हुन्छ । देख्दा पूजापाठ गरेजस्तो देखिने मन चाहिँ बेलगामको घोडाजस्तो कुद्ने अवस्थाले नै हामीलाई ईश्वरको सामिप्यमा पुग्न दिँदैन । वास्तवमा गीता पढ्दा यसैको गहिराइमा डुबुल्की मार्ने हो भने समुद्रमा डुबुल्की मार्दा मोतीका दाना भेटिएझैँ जीवनको सारतत्व भेटिने गर्दछ ।

पाठ गर्दागर्दा कसैलाई गीता कण्ठ भएको पनि हुनसक्छ तर गीताको गहिरिएर अध्ययन र मनन् गर्ने हो भने विलक्षणको ज्ञान र लिक्षणको आनन्द दिने गर्दछ । यस गीता पुस्तकका हरेक श्लोकको वैज्ञानिक र व्यावहारिक अर्थ सहितको अध्ययनले शान्तिको सारतत्व दिने गर्दछ । धन, विद्या, परिवार, मान, आदर, आदि प्राप्त गरेर कसैले आफूलाई ठूलो मानिस सम्झेर ऊ ठूलो मानिस हुँदैन । अविनासी मानिसको आत्मा यी बिनासी वस्तुहरु प्राप्त गरेर ठूलो मानिस बन्न सक्दैन ।

तर गीताको वास्तविक अध्ययन गरेर त्यसका सारतत्वहरुको अनुशरण गर्दछ भने त्यो अवस्य पनि ठूलो मानिस बन्ने मात्र होइन अजर र अमर पनि हुन्छ । यो गीतामा सनातन धर्मको विस्तृत व्याख्या र सारतत्व विवेचना गरिदिएकाले हाम्रो समाजमा व्याप्त रहेका विकृत परम्परा, कर्मकाण्डी विज्ञापनको परम्परा आरचण र व्यवहारको बारेमा भएका कमीकमजोरी यही गीताले प्रतिकार गरिदिएको छ । सत्य, त्रेता, द्वापरमा नभएका सनातन धर्मले प्रतिकार गरेका मूर्ति पूजा, श्राद्ध, तल्लो जात, विधिसम्मत नभएका कर्मकाण्डहरुलाई परम्पराको रुप दिएर गर्दै जाँदा आज ती सबै अवैज्ञानिक र विकृत हुँदै गएको कुरालाई नकार्न सकिँदैन ।

यही कमजोरीले गर्दा मानिसलाई परमंब्रह्म परमात्माको नजिक जान दिएको छैन । यही धार्मिक व्यावसायिकताले गर्दा धार्मिक वितृष्णा बढाइदिएको छ । मानिस जब परमात्माको सान्निग्धमा पुग्दछ, उसलाई न कुनै कुराको डर हुन्छ न कुनै कुराको तृष्णा हुन्छ । यही कुरा गीताले भनेको छ ।
गीताको अध्याय ६ को बाइसौँ श्लोक मानिसको उन्नतिको पहिचानको थर्मोमिटर हो भनेर भनिन्छ । जब मानिसलाई कुनै वस्तु प्राप्त गर्ने इच्छा हुँदैन । लालसा हुँदैन, मर्ने डर र त्रास हुँदैन । यसरी सबै सकिएर गर्ने केही रहेन भने मानिसले उन्नति गरेको छ । उसको जीवन सफल र सार्थक हुन सकेको हुन्छ ।

तर मानिसले गर्नुपर्ने काम गरेको रहेनछ । जान्नुपर्ने थियो त्यो जानेको रहेनछ । उसलाई मर्ने डरले सताइरहेको हून्छ भने उसको जीवन सफल र सार्थक हुनसकेको हुँदैन । हरेक मनुष्यसँग तीनवटा शक्ति हुन्छन् । १. गर्ने, २. जान्ने, ३. पाउने १. मानिसले जब आफ्नो लागि केही गर्दछ कृत्य कृत्य हुँदैन । जब अरुको लागि गर्ने लायक काम गर्दछ तब कृत्य कृत्य हुन्छ । उसलााई गर्न केही बाँकी नहुनाले परमात्माको सामिप्यता पनि पाउँदछ ।

२. मानिस जति ठूलो विद्वान् भए पनि जबसम्म उसले म को हुँ ? किन आएँ, मैले के गर्नु पर्दछ ? भन्ने कुरा जान्दैन भने त्यो कदापि विद्वान् हुन सक्दैन । ३. पाउने कहिलेसम्म भन्ने कुरा बाँकी रहन्छ तबसम्म उसले प्रभु दर्शन र प्रभु प्रेमको प्राप्ति हुँदैन । यसरी यी तीन शक्तिले तत्वबोध हुनु नै जीवन सफल र सार्थक हुनु हो । मानिसको कमजोरीले नै उसलाई भयभित बनाइदिएको हुन्छ । कक्षाकोठामा कमजोर विद्यार्थी सबैभन्दा पछाडिको बेन्चमा बस्ने गर्दछ । उसलााई सरले सोध्नुभयो भने के गर्ने भन्ने डरले पछाडि बस्ने गर्दछ । यसरी गर्ने जान्ने पाउने कुराको तल नजान्ने मानिस भयभित हुन्छ । उसलाई मर्ने डर, पाप, पुण्यको डर, गर्नुपर्ने काम नगरेको डर हुन्छ ।

मानिसको जीवन अन्धकारले व्याप्त हुन्छ । सुख र दुःखको संयन्त्रले बाँधिएको हुन्छ । कुरुक्षेत्रको युद्धका श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश भनेर भन्ने र मान्ने गर्दछौँ । स्वयम् परमब्रह्म परमात्मा कृष्णमा प्रवेश गरेर दिएको उपदेश भएकाले यसलाई वेदको सारतत्व भनिएको हो । म बाहेक अरु कसैको पूजा गर्नु पर्दैन भनेर अवतारी कृष्णले भन्न सक्ने सम्भावना कति हुन्छ ।

कृष्णले दिएको उपदेश होइन भन्ने कुरा महाभारतको अन्त्यमा कृष्णले पाण्डवलाई भनेर पाप मुक्त हुनु उत्तराखण्डमा जाओ भन्नुले के संकेत गर्दछ ? व्यावसायिक बनेका कर्मकाण्डका अगुवाहरुले यस्ता तत्वदर्शी कुरा नभनेर धार्मिक व्यापारीकरण गर्दै गएकाले हामी पछाडि परेका छौँ । पाश्चात्य देशका ठूलाठूला विश्व विद्यालयमा गीता पढाइन्छ तर यहाँका स्कूलहरुबाट नैतिक शिक्षा नै झिकेर फालिन्छ । अनि आदर्श र मानवताको दुहाइ दिइन्छ ।