Goraksha

National Daily

खोलाले गाडी बगाउँदा ४ महिलाको मृत्यु, पुल समयमै नबनाउने ठेकेदारलाई कारवार्ही गर्न निर्देशन

दाङ,१७ भदौ । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तरगर्त पर्ने सिस्ने खोलाले गाडी बगाउँदा चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

नेपालगन्जबाट घोराही आउदै गरेको प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको स्कार्पियो गाडी गएराति खोलाले बगाउँदा उक्त गाडिमा सवार घोराही उपमहानगरपालिका(१३ निवासी नितामाया मगर,सुशील श्रेष्ठ , घोराही उपमहानगरपालिका–१४ निवासी राधा कुवर र बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छ्न । उनीहरु सबै गाडीसंगै बगेका थिए । दुर्घटनामा गाडी चालक घोराही १५ निवासी नरबहादुर पुन घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

दुईजनाको रातीनै शब निकालिएको थियो भने बेपत्ता भएका २ जनाको भने आज बिहान शब भेटिएको प्रहरीले जनाएको छ । बर्षाका कारण सिस्ने खोलामा गएराती ठूलो बाढी आएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।सिस्नेखोलामा पुल अलपत्र पार्ने ठेकेदारलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन

जिल्ला प्रशासन कार्यालय दाङले सिस्नेखोलामा निर्माणाधीन पुल अलपत्र पार्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। दाङ प्रशासनले सूचना जारी गर्दै दाङको लमही घोराही सडक खण्डअन्तरगत पर्ने सिस्नेखोलामा पुल निर्माणको जिम्मा लिएको एडभेन्चर जेभिका प्रतिनिधिलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङ्ले गएको असार २८ गते निर्माण व्यवसायी यज्ञ केसीको पुलमा तस्बिर अपलोड गर्दै एक महिनामा पुल सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको फेसबुकमा जानकारी गराएका थिए ।

तर, यो बीचमा कुनै काम भएन र पुल निर्माण समयमा नहुँदा गएराति सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा ४ जना महिलाको मृत्यु भएको छ ।उक्त कार गएराति पौने दश बजेको समयमा घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखोलाले बगाएको हो ।