भौतिकरुपमा बिद्यालय सञ्चालनको तयारी

अमरराज आचार्य

दाङ, १७ भदौ । लामो समयदेखि भौतिकरुपमा कक्षा सञ्चालन हुन नसकेका विद्यालयहरु भौतिकरुपमा नै कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । कोभिडको संक्रमण कम तथा शैक्षिक सत्र सुरु भएको लामो समय भइसकेको तर विद्यार्थीहरुको पढाइ असर पुग्न थालेको कारण स्थानीय तहहरुले विद्यालय सञ्चालनको तयारी थालेका हुन् ।

स्थानीय तहहरुले भौतिकरुपमा नै विद्यालय खोल्नको लागि छिट्टै निर्णय गरिने बताए । अहिले जिल्लामा केही सामुदायिक तथा संस्थागत विद्यालयहरुले भौतिकरुपमा विद्यार्थीहरुको सहभागितामा कक्षा सञ्चालन गरिराखेका छन् ।

घोराही उपमहानगरपालिकाले विद्यालय भौतिकरुपमा नै सञ्चालन गर्न तयारी रहेको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले बताए । ‘घोराही उपमहानगरपालिकाभित्र भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छौँ’, प्रमुख गौतमले भने– ‘त्यसका बारेमा केही दिनमा नै निर्णय हुनेछ ।’ स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन हुने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाले पनि विद्यालय सञ्चालन गर्न तयारी थालेको छ । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले बिहीवार सरोकारवालासँग छलफल गर्न थालेको तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख चक्र भण्डारीले बताए । ‘सरोकारवालाहरुसँगको छलफलबाट आउने निर्णय अनुसार अगाडि बढ्ने छौँ’, प्रमुख भण्डारीले भने– ‘तिजपछि विद्यालय सञ्चालन हुनेछन् ।’

विद्यालयका शिक्षकहरुलाई सचेत गराएर विद्यालयहरु सञ्चालन गर्न योजना रहेको उनको भनाइ छ । विद्यालयहरुमा स्वास्थ्य सामग्रीको व्यवस्थापन, विद्यालय निर्मली करण गरिने छ । ‘विद्यार्थीहरुको जिम्मा विद्यालयहरुलाई दिइने छ’, उनले भने– ‘तिजपछि ग्रामीणस्तरमा कम विद्यार्थीहरु रहेको विद्यालयहरु एकै सिप्टमा र शहरी क्षेत्रमा धेरै विद्यार्थीहरु रहेका विद्यालयमा दुई, तिन सिप्ट बनाएर विद्यालय सञ्चालन गर्न योजना छ ।’ राप्ती गाउँपालिकाले पनि भौतिकरुपमा विद्यालय सञ्चालन गर्न तयारी गरेको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विकले भौतिकरुपमा नै विद्यालय सञ्चालन गर्न तयारी भइरहेको बताए । अनलाइन तथा समुदायमा सञ्चालन गरिएका सिकाई प्रभावकारी हुन नसकेको उनको भनाइ छ । ‘अनलाइन तथा समुदायको सिकाई प्रभावकारी नभएकाले भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने तयारी गरिएको हो’, प्रमुख बिकले भने– ‘त्यसका लागि बिहीवार विद्यालयका प्रअहरुसँग छलफल गरिने भएको छ ।’

सरकारले कोभिड संक्रमण रोक्नका लागि भौतिकरुपमा कक्षा सञ्चालन रोक लगाएको कारण अहिले विद्यालयहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गरिरहेका छन् । तर अनलाइन कक्षा सबै विद्यार्थीको पहँुचमा पुग्न सकेको छैन् । शहरी क्षेत्रमा अनलाइन कक्षामा विद्यार्थीहरुको सहभागिता हुने भए पनि ग्रामीणस्तरका विद्यार्थीहरु न्यून सहभागिता हुने गरेको छ । ग्रामीण क्षेत्रमा नेटको पहुँच नहुनु, नेट चलाउनका लागि आवश्यक पर्ने मोबाइल तथा ल्यापटप नहुँदा उनीहरु सहभागी हुन नसकेका हुन् ।

अनियमित विद्युत तथा नेटको पहुँच नहुँदा अनलाइन कक्षामा बालबालिका सहभागी हुन नपाउने गरेको एक अभिभावकले बताए । ‘नेट नहँुदा बालबालिका पढ्नसमेत पाउँदैनन्’, उनले भने । अनलाइन पढ्ने बालबालिकाहरु पनि मोबाइलको लत लागेको अभिभावकहरु बताउँछन् । माथिल्लो कक्षाका विद्यार्थीहरु धेरै जोडिए पनि तल्लो कक्षाका सबै बालबालिकहरु अनलाइनमा कम जोडिने गरेको घोराहीमा रहेको बालविकास माध्यमिक विद्यालयका प्रअ श्रीधर पोख्रेल बताउँछन् ।

कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीहरु धेरै सहभागिता हुने गरेको प्रअ पोख्रेलको भनाइ रहेको छ । माथिल्लो कक्षामा अनलाइन पढाइ प्रभावकारी नै रहेको पोख्रेल बताउँछन् । ‘सानो कक्षाका विद्यार्थीहरु कम सहभागिता हुने गरेको छ’, उनले भने– ‘साना कक्षाका बालबालिकाहरु प्रविधि चलाउन नजान्ने तथा अभिभावकहरु रोजगारको लागि बाहिर जाने भएकाले कम संख्यामा जोडिने गरेका छन् ।’

त्यसैगरेर अभिभावकहरुले बालबालिकाहरुको निगरानी गर्न नसक्दा कम सहभागी हुने गरेकोसमेत उनले बताए । ‘कतिपय अभिभावकहरुले नेटको पहुँच नभएको तथा विद्युतको अनियमितताले गर्दा समस्या हुने गरेको छ’, उनले भने ।