स्वास्थ्य र विकास पहिलो प्राथमिकता : मन्त्री चौधरी

तुलसीपुर, १७ भदौ । लुम्विनी प्रदेशका ग्रामीण तथा सहरी विकास एवं पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनतालाई सर्वोपरि मानेर स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।

नेपाली कांग्रेस तुलसीपुर –६ इकाईले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले कोभिड–१९ को संक्रमणबाट बच्न बचाउन खोपलाई प्राथकिमता दिँदै प्रत्येक गाउँ–गाउँका स्वास्थ्य संस्थाहरुमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे) बाट बच्चाको अबस्था बारेमा चेकजाँच गर्न मोबाइल अल्ट्रासाउन्ड उपलव्ध गराउने निर्णय गरेको बताए । मन्त्री चौधरीले क्यान्सर, किड्नी रोगीहरुलाई ५ लाख ५० हजार उपचारमा सहयोग गर्ने कार्यक्रम ल्याएको बताए ।

त्यस्तै उनले लुम्विनी प्रदेश सरकारले स्वास्थ्य सँगसँगै विकास निर्माणलाई पनि अगाडि बढाउने बताए । उनले प्रत्येक गाउँमा एम्बुलेन्स जाने बाटो, सिँचाई सुविधा पु¥याउनका लागि विकास निर्माणलाई पनि सँगसँगै लैजाने बताए । ‘हामीहरुले पानीजहाज होइन पहिले एम्बुलेन्स पुग्ने बाटो गराउने छौं’, मन्त्री चौधरीले भने– ‘त्यसपछि रेल होइन यहाँको उत्पादन बढाउन सिँचाई पु¥याउने छौं ।’ कार्यक्रममा बोल्दै चौधरीले दाङको विकासमा आफू र आफ्नो सरकार कटिवद्ध रहेको भन्दै सबै क्षेत्रको विकास प्राथमिकताको आधारमा हुने बताए ।

कांग्रेसका नेतासमेत रहेको चौधरीले आगामी १४औं महाधिवेशन एकताको अधिवेशन हुने बताए । उनले कांग्रेस ढल्यो भने विकास र समृद्धि पनि नहुने भन्दै कांग्रेसले नै देशको विकास र निकास दिने बताए । ‘कांग्रेसले हार्दा विकास पछाडि प¥यो हामी कुरा मात्र होइन काम गरेर देखाउँछौं’, उनले भने । चौधरीले आगामी स्थानीय चुनाव जित्ने गरी एकतामा जोड दिएर आगामी महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । उनले सबै ठाउँमा सर्वसहमति कायम गरी नेतृत्व चुन्न पनि आग्रह गरे । ‘सबै जुडेर यो महाधिवेशनलाई एकताको महाधिवेशन गराउन सबै लाग्नुहोस्, त्यसपछि स्थानीय तह पनि हामीले जित्नेछौं’, मन्त्री चौधरीले भने ।

मन्त्री चौधरीले यसअघि गुमेका स्थानीय, प्रदेश, र केन्द्रीय तहका सिटहरु आफूहरुले सुरक्षित गर्ने दावीसमेत गरे । उनले अब सबैले रुखलाई झुक्न नदिने गरी लाग्नुपर्ने बताए । मन्त्री चौधरीले सधै कांग्रेस जनताको सुख दुःखमा साथ दिने पार्टी भएको भन्दै जनताले फेरि पनि कांग्रेसमाथि भरोसा गरेको बताए । ‘अब कुरा होइन काम गरेर देखाउनुपर्छ सबैलाई समेट्ने सबैको पार्टी कांग्र्रेस हो भन्ने सबैले बुझेका छन्’ उनले भने ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का इकाई सभापति प्रताप केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका नेता लोकराज डाँगी, इकाई उपभापति भोजराज न्यौपानेलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इकाई सचिव रञ्जन गौतमले गरेका थिए । सो अवसरमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले क्षेत्रीय पार्टी तुलसीपुरमा मन्त्री चौधरीलाई स्वागत गरेका थिए ।