बालाराम खड्का
तुलसीपुर, १७ भदौ । नेपाली कांग्रेसको वडा अधिवेशनको मिति केही पर सर्ने देखिएको छ । कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिकाअनुसार भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु हुने भने पनि जिल्लामा भने यसको मिति केही पर सर्ने भएको हो ।
निर्वाचनका लागि तयारी पूरा नभएको अवस्थामा १८ गते हुने भनिएको निर्वाचनको मिति केही दिन पछि सार्ने तयारी गरेको नेपाली कांग्रेस दाङले जनाएको छ । खटिएर आएका निर्वाचन अधिकृतको चाहनाबमोजिम अधिवेशन केही समय सार्ने बताइएको छ । निर्वाचनका लागि विभिन्न पालिकाहरुमा निर्वाचन अधिकृतको खटनपाटन, उनीहरुलाई आवश्यक प्रशिक्षणलगायतका विभिन्न कामका लागि समय अपुग भएकाले निर्वाचन सार्न लागिएको नेपाली कांग्रेस दाङले जनाएको छ ।
नेपाली कांग्रेस दाङका जिल्ला सभापति कीर्तिबहादुर खड्काले भदौ १८ गते वडा तहको निर्वाचन केही पछि सार्ने बताए । सभापति खड्काले भदौ १८ गते वडा तहको निर्वाचन हुन नसक्ने भएकाले केही दिन पर सार्ने तयारी गरेको बताए । उनले बिहीवार आज निर्वाचन अधिकृतसहित छलफल गरी निर्वाचनको मिति तय गरिने बताए । ‘भदौ १८ गते वडा तहको निर्वाचन गर्ने कार्यतालिका थियो त्यसलाई केही दिन पछि सार्ने तयारी भएको छ’, उनले भने ।
केन्द्रले जिल्लामा प्रमुख निर्वाचन अधिकृत खटाइसकेको र निर्वाचन अधिकृतसँग छलफल गरेर अर्को मिति तय हुने बताएको छ । सम्भवतः एकसाता पछि निर्वाचन हुने संकेत देखिएको छ । ‘१४ गतेको मितिलाई भदौ २०, २१ सम्म लैजाने हो कि भन्ने कुरा आएको छ, आधिकारिक निर्णय भने भएको छैन’, उनले भने । सभापति खड्काले मुख्य निर्वाचन अधिकृत भने केन्द्रले तोकिसकेको प्रह्लादबहादुर कार्की मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्लामा आएका छन् ।
जिल्लामा धेरै वडाहरुमा क्रियाशील सदस्यहरुको नामावली छुट्नुका साथै क्रियाशील सदस्यहरुको नामसमेत आएको छैन । विभिन्न प्राविधिक समस्याका कारण निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न नसक्ने अवस्था आएको छ । दाङका विभिन्न वडाहरुमा भने निर्वाचनको तयारी भएको छ । त्यस्तै नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति संशोधन हुने भएको छ ।
समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह (पालिका) हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशोधन गर्ने निर्णय गरेको छ । कांग्रेस नेता मिन विश्वकर्माका अनुसार पार्टीले १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको बताए ।
त्यसपछिका अधिवेशनहरु भने आयोगले तोकेकै मितिमा हुने उनको भनाइ छ ।
क्रियाशील सदस्यता विवरण सार्वजनिक भइनसकेको र कतिपय जिल्लामा व्यवस्थापन समस्या भएको भन्दै वडा र पालिका अधिवेशनको मितिमा लचक बन्ने निर्णय भएको उनको भनाइ छ । कांग्रेसले हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । २१ जिल्लामध्ये आज थप तीन जिल्लाको विवरण सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेको छ । निर्वाचन समितिका संयोजक महादेव यादवले भने वडा र पालिका अधिवेशन क्रमशः १८ र २७ भदौमै हुने बताउँदै आएका छन् ।
प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।
यसैबीच यसैपालि नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेकाहरूले पार्टीका विभिन्न तहमा उम्मेदवारी दिन पाउने भएका छन् । कांग्रेसले क्रियाशील सदस्य लिएको निश्चित वर्ष पुगेपछि मात्रै विभिन्न पदमा उठ्न पाउने विधान बनाए पनि १५औँ महाधिवेशनका लागि ती विधानका व्यवस्था निलम्बन गरिएका छन् । २०७७ फागुन ६ र २०७८ साउन ३० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यको अवधिसम्बन्धी विधानको व्यवस्था बाधा अड्काउ फुकाउबाट निलम्बन गरिएका छन् ।
अब कांग्रेसका तल्ला तहका अधिवेशनमा सभापति, पदाधिकारी, सदस्य र माथिल्लो तहमा प्रतिनिधि आउनका लागि उम्मेदवार बन्न विधानले छेक्दैन । पार्टीका विभिन्न पदमा उम्मेदवार हुन निरन्तर क्रियाशील सदस्य भएको अवधि हुनुपर्ने विधानमा व्यवस्था भए पनि तल्ला तहका लागि त्यो व्यवस्था निलम्बन भएका छन् ।
तर पार्टीको केन्द्रीय सभापति, कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश सभापति, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रीय सभापति, महानगर सभापति, उपमहानगर सभापतिका लागि विधानको व्यवस्था निलम्बन गरिएको छैन । कांग्रेसको केन्द्रीय सभापति हुन क्रियाशील लिएको कम्तीमा १५ वर्ष भएको र महाधिवशेन प्रतिनिधिबाट निर्वाचित हुनुपर्छ ।
प्रदेश सभापति हुन पनि निरन्तर १५ वर्षदेखि क्रियाशील सदस्य भएको हुनुपर्छ भने जिल्ला सभापति हुन निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको व्यक्ति योग्य हुने विधानमा उल्लेख छ । कांग्रेसको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति सभापति बन्न क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पुगेको हुनुपर्छ । यदि विधानको व्यवस्था निलम्बन नभएको भए वडाका कुनै पदमा उम्मेदवारी दिन क्रियाशील सदस्य भएको एक वर्ष पूरा भएको हुनुपर्ने अनिवार्य व्यवस्था थियो ।
वडामा सभापति, २ उपसभापति, २ सहसचिव र ३ महिलासहित ९ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट आउँछन्, कोषाध्यक्ष मनोनीत छ । यस्तै समावेशीबाट सदस्यहरू र वडा कार्यसमितिको २० प्रतिशत संख्या सभापतिले सदस्यमा मनोनीत गर्न पाउँछन् । यी पदमा उठ्न र मनोनीत हुन अब विधानको व्यवस्थाले छेक्दैन । गाउँपालिकाको वडाबाट क्षेत्रीय प्रतिनिधि पनि चयन हुन्छन् । त्यसका लागि पनि विधानमा क्रियाशील लिएको एक वर्ष पुगेकाले पाउने भन्ने रहेकोमा त्यो निलम्बन गरिएको छ ।
यसैपालि क्रियाशील लिएकाहरू पनि क्षेत्रीय प्रतिनिधि हुन पाउँछन् । विधानले गाउँपालिका र नगरपालिकामा सम्बन्धित पालिकाभित्रका सबै क्रियाशील सदस्य मतदाता हुने विधानको व्यवस्था पनि निलम्बन गर्दै वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता बनाएको छ । प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि क्रियाशील लिएको २ वर्ष पुगेकाले मात्रै उम्मेदवारी दिन पाउने व्यवस्था रहेकोमा त्यो पनि निलम्बन गरिएको छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट प्रदेश अधिवेशनमा जाने प्रतिनिधि हुन चुनाव लड्न पनि यसैपालि क्रियाशील सदस्य बनेकोले पाउँछन् । विधानअनुसार प्रतिनिधि हुन क्रियाशील लिएको ३ वर्ष पुगेको हुनुपर्ने थियो त्यो व्यवस्था अहिले निलम्बन गरिएको छ ।