छाडा गाइगोरु व्यवस्थापन गर्न बेलझुण्डीमा गौशाला

गोरक्ष समाचारदाता
बेलझुण्डी (दाङ), १५ भदौ । तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा गौशाला सञ्चालनमा आएको छ । बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको व्यवस्थितरुपमा संरक्षण गर्नका लागि करिब ४५ विगाहा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याइएको हो । गौशालाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सोमवार जन्माष्टमीको शुभसाइत पारेर विधिवतरुपमा प्रारम्भ गरे ।

‘यो गौशालाले तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिका दुवै क्षेत्रका छाडा गाईलाई संरक्षकत्व प्रदान गर्नेछ, यसको थप व्यवस्थापनका लागि स्थानीय सरकारको आवश्यक सहयोग हुनेछ’, नगरप्रमुख चौधरीले बताए । गौशाला सञ्चालनसँगै यसलाई दीर्घकालीनरुपमा सञ्चालनका लागि विशेष गुरुयोजना बनाउन पनि उनले आग्रह गरे ।

यताबाट उता खेदिने र उताबाट यता खेदिने गर्दा राष्ट्रिय जनावर गाईकै अपमान भइरहेको अवस्थामा योगी आदित्यनाथ फाउण्डेशनले थालेको यो संरक्षण अभियानमा स्थानीय पालिकाको पनि साथ र सहयोग हुने उनको अभिव्यक्ति थियो । पहिलो दिन सो केन्द्रमा कम्तीमा १५ वटा छाडा गाई राखिएको छ । सडकमा भेटिने अन्य छाडा गाईगोरुलाई पनि क्रमशः गाई संरक्षण केन्द्रमा लगेर लालनपालन गरिने सञ्चालक संस्थाले जनाएको छ ।

‘अब छाडा गाईगोरुका कारण सडक दुर्घटनाहरु हुने छैनन्’, योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले भने– ‘चाँडै गाई संरक्षणका लागि उपयुक्त आवास निर्माण गरिने छ । गाई संरक्षण केन्द्रमा दैनिकरुपमा हेरालुको व्यवस्थापन गरी हिन्दुहरुको विशेष धार्मिक स्थान ओगटेका गाईको संरक्षणमा संस्था निरन्तर लाग्ने पनि उनको अभिव्यक्ति थियो । उनले गाई संरक्षण अभियानलाई क्रमिकरुपमा आयआर्जनसँग पनि जोडेर लैजाने फाउण्डेशनको योजना रहेको बताए । गाईको दूधसँगै मलमुत्रको समेत व्यावसायिक प्रवद्र्धन गर्ने खालको योजना ल्याउनका लागि फाउण्डेशनले मास्टरप्लान निर्माण गरेर अघि बढ्ने पनि उनको भनाइ थियो ।

गाई संरक्षण केन्द्र सञ्चालनको उद्घाटनका क्रममा यातायात व्यवसायी एवं तुलसीपुरका युवा व्यवसायी सुरेश हमालले नेपालको राष्ट्रिय जनावरको संरक्षण नहुँदा राष्ट्रियतामाथिकै अपमान भइरहेको उल्लेख गर्दै हरेक टोल–समुदायमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याउन स्थानीय सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा स्थानीय युवा तथा विद्यार्थी नेता हरिशचन्द्र भण्डारीले नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वकै जग्गामा थालनी हुनु आफैमा गर्वको कुरा रहेको उल्लेख गर्दै यस अभियानमा स्थानीयबासीको तर्फबाट आफूले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । योगी आदित्यनाथ फाउण्डेशनका अध्यक्ष अनिल विष्टले गाई संरक्षणका लागि विश्वविद्यालयसँग जग्गा उपभोगको विधिवतरुपमा सम्झौतासमेत भइसकेको जानकारी दिएका थिए ।

गाई संरक्षण केन्द्रमा जतिसुकै छाडा गाईलाई पनि संरक्षण दिएर राखिने फाउण्डेशनले जनाएको छ । सो अवसरमा स्थानीय समाजसेवीहरु तथा युवा व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. ३ अन्तर्गत २(ख)का उपसभापति प्रमोद बस्नेत, एमाले स्थानीय नेता रमेश डाँगी, तरुण नेता शंकर नेपाली, स्थानीय शिवराज डाँगी, खगेन्द्र डाँगीलगायतको सहभागिता रहेको थियो । बेलझुण्डीमा गाई संरक्षण केन्द्र सञ्चालनमा आएपछि स्थानीयबासी खुसी भएका छन् । अब छाडा चौपायाको समस्याबाट आफूहरु मुक्त हुने स्थानीयबासीहरुले आशा व्यक्त गरेका छन् ।