तोकिएकै कार्यतालिकामा अधिवेशन : सहमहामन्त्री महत

खेमराज रिजाल
दाङ, १३ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले नेपाली कांग्रेसको चौधौँ महाधिवेशन तोकिएकै कार्यतालिका अनुसार यही भदौ १८ गतेदेखि हुने बताएका छन् । कांग्रेस नेतृ स्वर्गीय यवादेवि घिमिरेको निधनमा शोक व्यक्त गर्न दाङ आएका नेता महतले गोरक्षसँग कुरा गर्दै अब अधिवेशनको मिति नसर्ने बताए ।

‘आजका मितिसम्म ४८ जिल्लाको क्रियाशील सदस्यको विवाद सबै मिलिसक्यो, यी जिल्लाहरूमा सम्भवतः भोलि साँझसम्म निर्वाचन अधिकृतहरू आइपुग्ने छन्, ढुक्क भएर अधिवेशनमा नेतृत्व चुन्न जुट्न आग्रह गर्दछु’, नेता महतले भने । साथै उनले बाँकी जिल्लामा पनि विवाद समाधान समितिले मिलाउन नसकेका विषयमा अर्को समिति बनेर छलफल टुङ्ग्याउने काम भइरहेको पनि बताए । बाँकी जिल्लाको क्रियाशील सदस्यताको विवाद पनि दुई दिनभित्रै मिलिसक्ने उनको दाबी थियो । कुनै दुर्गम जिल्लामा निर्वाचन अधिकृत पुग्न ढिला भएको अवस्थामा निर्वाचन अधिकृतकै तजविजमा एक÷दुई दिन अधिवेशनको मिति सर्नसक्ने पनि उनको अभिव्यक्ति थियो ।

सहमहामन्त्री महतले नेपाली कांग्रेसको नेतृत्वको सरकारले दुई दिनभित्रै पूर्णता पाउने पनि दाबी गरे । मानव नेपालको पार्टीको वैधानिकतालाई प्रतीक्षा गरिरहँदा सरकारलाई पूर्णाकार दिन केही समय लागेको भन्दै अब माधव नेपालको पार्टीको वैधानिकता पनि स्थापित भइसकेकाले यो विषय छिट्टै टुङ्गिने पनि बताए । ‘लोकतन्त्रको रक्षा र कुशासनको अन्त्य गर्नका लागि वर्तमान सरकारको नेतृत्व लिन कांग्रेस बाध्य भयो, यद्यपि त्यति धेरै बहुमत भएर होइन’, नेता महतले भने– ‘त्यसकारण पनि अब कांग्रेसका भागमा धेरै मन्त्रालयहरू पर्नसक्ने छैनन् भन्नेमा ढुक्क रहन पनि आग्रह गर्दछु ।’

आइतवारसम्म कुन मन्त्रालय कसलाई दिने भन्ने अन्तिम टुङ्गो लागिसक्ने पनि उनको तर्क थियो । यो सरकारका मुख्य दायित्व भनेका खोपबाट जनतालाई सुरक्षा प्रदान गर्नु, कुशासनको अन्त्य गरी मुलुकमा सुशासनको जग बसाल्नु तथा प्राप्त स्रोत साधनको अधिक्तम उपयोग गरी सीमान्तकृत समुदायसम्म आवश्यकताका आधारमा वितरण गर्नु रहेको पनि उनले बताए । कांग्रेस नेतृत्वको नयाँ सरकार गठन हुनेबित्तिकै आम नेपालीको दैनिकीमा धेरै सहजता प्राप्त भएको पनि उनले बताए ।

पछिल्लो समय नेपालको राजनीतिका सन्दर्भमा वैदेशिक सहयाता र दृष्टिकोण समेत गोलमटोल भइरहेको बताउँदै नेता महतले वर्तमान देउवा नेतृत्वको सरकार सन्तुलित विदेश नीतिका लागि प्रतिबद्ध रहेको उल्लेख गरे । ‘हामी सबै मित्रराष्ट्रहरूसँग समान व्यवहारको नीति अपनाउन चाहन्छौँ, राष्ट्र र राष्ट्रियताका विषयमा कुनै पनि कम्प्रोमाइज हुन सक्दैन’– विदेश नीतिका सन्दर्भमा नेता महतले गोरक्षसित भने ।

सरकारसँग धेरै खोप स्टक रहेको अवस्थामा पनि आम नागरिकले खोप सेवा पाउन अझै समस्या भएको सन्दर्भमा नेता महतले अब खोपको समस्या क्रमिक रूपमा समाधान हुने बताए । ‘कहीँ फेरि तोकिएको समयमा खोप पाउन नसकेर दोस्रो डोज खोप पु¥याउन समस्या हुन्छ कि भनेर दोस्रो डोजका लागि समेत स्टक राखिएको हो तर अब खोप आउने धेरै मार्गहरू पहिचान भइसकेकाले चाँडै नै स्टकमा रहेका खोपहरू आवश्यकताअनुसार लक्षित समूहमा लगाइनेछ’—नेता महतले भने ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले आम नेपालीका लागि आवश्यक खोप ल्याउनका लागि कूटनीतिक पहल गरिरहेको बताउँदै उनले सम्भवतः दशैं अगाडिसम्म आधाभन्दा बढी नेपालीलाई खोप लगाइसक्ने दाबी गरे । अनुदान र सहयोगको खोपले मात्रै पुगेन भने सरकारले खरिद गरेरै पनि सक्दो चाँडो आम नेपालीलाई निःशुल्क रूपमा खोप उपलब्ध गराउने पनि उनको दाबी थियो । अहिले सहमहामन्त्री रहेका नेता महतले आगामी महाधिवेशनमा आफ्नो हैसियत के हुने भन्ने विषयमा भने केही बोल्न चाहेनन् । अझै समय बाँकी रहेकाले पार्टीका नेताहरूसँग छलफल र सरसल्लाह गरेर आफूले आगामी महाधिवेशनमा उम्मेद्वारी दिने पनि उनको अभिव्यक्ति थियो ।