गुटबन्दी अन्त्य गर्दै महाधिवेशनमा जुट्औं : महामन्त्री कोइराला

दाङ, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले पार्टीको महाधिवेशनमा सक्षम नेतृत्व चुन्नका लागि गुटगत स्वार्थ त्यागेर जुट्न नेता कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । नेपाली कांग्रेस दाङले शनिवार घोराही–२ निवासी स्वर्गीय यवादेवी घिमिरेको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले भदौको १८ गतेदेखि सुरु हुने महाधिवेशनलाई सक्षम नेतृत्व चयनको एउटा उत्सवका रूपमा लिन पनि आम कांग्रेसजनहरूलाई आग्रह गरे । पार्टीमा देखिएको गुटबन्दी त्यागेर बलियो कांग्रेस निर्माणमा यो महाधिवेशन एउटा कोसे ढुङ्गा हुने पनि उनको अभिव्यक्ति थियो ।

‘कांग्रेसको १४ महाधिवेशन यही भदौ १८ गतेदेखि सुरु भएर मंसिरमा सकिँदैछ, यो चुनावका लागि सबै जुट्नुहोस्’–महामन्त्री कोइरालाले भने–‘आउने दलीय निर्वाचनमा कांग्रेसलाई जिताउने गरी सबै लाग्नुपर्छ ।’ महामन्त्री कोइरालाले त्यसका लागि कांग्रेसमा गुटबन्दीलाई समाप्त पार्न आवश्यक रहेको बताए । गुटबन्दीका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नुपरेको भन्दै महामन्त्री कोइरालाले आगामी निर्वाचनमा गुटगत राजनीति छोड्नुपर्ने बताए । ‘कांग्रेस बलियो छ तर गुटबन्दीका कारण कमजोर बन्ने गरेको छ’–महामन्त्री कोइरालाले भने– ‘गुटबन्दीलाई समाप्त गर्नुुहोस्, कांग्रेसलाई बलियो बनाउनुहोस् ।’

उनले अहिले एमाले फुटेको र माओवादी कमजोर बनेकाले कांग्रेसलाई प्रमुख पार्टी बन्ने अवसर सिर्जना भएको बताए । त्यसका लागि उनले कांग्रेस एकजुट हुन आवश्यक रहेको बताए । ‘अहिले नेकपा एमाले फुटेको र माओवादी कमजोर बनेकाले कांग्रेसलाई ठूलो अवसर छ’–उनले भने–‘त्यसका लागि कांग्रेस एकजुट हुनु आवश्यक छ ।’ त्यस्तै महामन्त्री कोइरालाले राजनीति राष्ट्र र जनताको सेवाका लागि गर्नुपर्ने बताए । त्यसका लागि नेताहरू गाउँ–गाउँमा पुग्नुपर्ने बताए । ‘आफ्ना लागि गर्ने भए व्यापार व्यवसाय गर्नुहोस्’–उनले भने–‘देश र जनताको सेवा गर्ने भए राजनीति गर्नुहोस ।’ उनले राजनीति गर्ने नेताहरूले दूरदर्शी भएर सोच्नुपर्ने समेत बताए ।

कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनका लागि तयार हुन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । महाधिवेशनका लागि देखिएको विवाद अहिले समाधान भइसकेको भन्दै सहमहामन्त्री महतले अब निर्धारित समयमै महाधिवेशन हुने बताए । ‘कोरोना संक्रमणसँगै अन्य समस्याका कारण कांग्रेसको महाधिवेशन पटक–पटक सर्दै आएको थियो तर अब सबै विवाद समाधान भइसकाले फेरि मिति सर्ने अवस्था छैन’– सहमहामन्त्री महतले भने–‘अधिवेशनका लागि तयार हुनुहोस् ।’ उनले ४८ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिकसँगै निर्वाचन अधिकृत समेत तोकिरहेको भन्दै बाँकी रहेका जिल्लाहरूको आइतवारसम्म सार्वजनिक हुने बताए ।

‘क्रियाशील सदस्यतासम्बन्धी विवाद केही छैन, डाटाइन्ट्री गर्ने र मिस्टेक भएका ठाउँमा मिलाउने काम भइरहेको छ’–उनले भने–‘त्यो २–३ दिनमै समाधन हुन्छ र अनलाइनमा सार्वजनिक हुन्छ ।’ कांग्रेसका लागि अहिले ठूलो अवसर भएकाले नेता महतले आउने संसदीय निर्वाचनमा विपक्षीसँग लडेर पार्टीलाई सफल बनाउने गरी नेतृव चयन गर्न समेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । उनले विपक्षीसँग लडेर कांग्रेसलाई प्रमुख पार्टी बनाउने संसदीय निर्वाचन भएको भन्दै अहिलेको निर्वाचनमा आफ्नै पार्टीभित्र लडेर एकअर्काको शत्रु बन्ने काम नगर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले कांग्रेसलाई राम्रो र सशक्त पार्टी बनाउनका लागि आउने निर्वाचनमा स्वास्थ प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले कांग्रेसको हारले जनताले धेरै दुःख पाएको भन्दै त्यो दुःख सम्झेर कांग्रेसलाई बनाउने गरी नेता तथा कार्यकर्ताहरू लाग्नुपर्नेमा जोड दिए । ‘कांग्रेसभित्रको लडाइँका कारण अहिले जनताले दुःख पाइरहेका छन्, यसको मुख्य कारण भनेको कांग्रेसभित्रको स्वास्र्थ हो’–नेता गिरीले भने–‘कांग्रेसलाई बलियो बनाउने र जनताको सेवाका लागि व्यक्तिगत स्वार्थ त्यागेर पार्टीका लागि सबै लाग्नुपर्छ ।’

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री संजय गौतम जबसम्म समग्र कांग्रेस निर्माण गर्न सक्दैनौँ तबसम्म कांग्रेसले भविष्य निर्माण गर्न नसक्ने बताए । विचारमा फरक–फरक भए पनि पार्टी निर्माण सबै मिल्नुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले जनताको लागि कांग्रेसले थालेको आन्दोलनमा स्वर्गीय यवादेवी घिमिरेको ठूलो योगदान रहेको भन्दै त्यो योगदानलाई भुल्न नसक्ने बताएका थिए । साथै वक्ताहले कांग्रेसलाई सफल र सशक्त पार्टी बनाउनका लागि नेताहरूले व्यक्तिगत स्वार्थ त्यागेर देश र जनतको लागि लाग्नुपर्ने बताए ।

श्रद्धाञ्जलीसभालाई संविधानसभा सदस्य राजु खनाल, लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरीले कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष सावित्रा राना, महासमिति सदस्य केशव आचार्य, कांग्रेसका महाधिवेशन प्रतिनिधि भारतबहादुर न्यैपाने, नेपाली कांग्रेस क्षेत्र २ का सभापति भूपबहादुर डाँगी, क्षेत्र ३ का सभापति जगत खड्का, नेपाली कांग्रेस क्षेत्र २ क का सभापति गिरिराज सुवेदीलगायतले बोलेका थिए ।

नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारतीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शंकरप्रसाद डाँगीले गरेका थिए । स्वर्गीय घिमिरेका छोराहरू नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कपील किशोर, किरण किशोर र कमलकिशोर घिमिरे छन् । परिवारका तर्फबाट ज्येष्ठ छोरा कृष्णकिशोर घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । शोकसभामा दाङ जिल्लाका दर्जनौँं नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।