शिव राज खनाल
दाङ, १३ भदौ । भालुबाङ, प्यूठान सडकखण्ड अन्तर भालुबाङ बजारदेखि ७ किलोमिटर पूर्व र आधा किलोमिटरभित्र जङलको बीचमा मच्छिताल भन्ने बस्ती छ । राप्ती गाउपालिका वडा नं. १ मा पर्ने मच्छितालमा कुमाल समुदायका २० घर धुरी बस्ने गर्छन् । १६ बिगाह क्षेत्रफल रहेको बस्तिको मुख्य पेसा भनेकै कृषि हो ।
स्थानीय सरकार र नाम्सालिन संस्थाको सहकार्यमा उक्त बस्तीमा सौर्य सिंचाइ आयोजना लागू गरिएको छ । सोही सिंचाइ आयोजनाले बाह्रै महिना बस्तीलाई हराभरा गराउने काम गरेको छ । मच्छीताल गाउँमा अहिले सिंचाइका लागि आकाशेपानीको भर पर्नुपदैन । नदिदेखि ५ सय मिटरमाथि २० घरपरिवारलाई पायक पर्ने स्थानमा पक्की ट्याङ्की निर्माण गरिएको छ । सिंचाइ सुविधा भएपछि स्थानीयले विभिन्न खेती सुरु गरेका छन् । आय आर्जनका लागि विदेशिने युवा पनि अहिले खेतीपातीबाट मनग्य आम्दानी लिने गरेका छन् ।
राप्ती गाउपालिका वडा नं. १ निवासी मदन मोहन कवँरले भने ‘पहिले पहिले पानी नपर्दा खेतीपाती हुँदैन थियो अहिले भने मौसम अनुसारको खेतीपाती गर्न पाएका छौँ ।’ त्यस्तै देवबहादुर कुमालको पनि ६ जनाको परिवार छ । ४ कठ्ठा जमिन छ । उनको मुख्य पेशा भनेकै खेतीपाती हो । पहिले पानी परेन भने जमिन बाजै हुन्थ्यो अहिले सौर्य सिंचाइबाट सिंचाइ भएपछि आकासे पानीको भर पर्नुपरेको छैन । पिउने पानीको पनि समस्या टरेको पनि उनी बताउँछन । यता राप्ती गाउँपालिका वडा नम्बर १ का सदस्य पूर्णजङ्ग रेस्मी मगरका अनुसार गाउँ अतिविपन्न परिवारहरू बसोबास क्षेत्र भएको र उनीहरूको जीवन स्तर उठाउनका लागि वडा स्तरबाट विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
३० लाख रूपैयाँको लागतमा निर्माण भएको लिफ्ट सिंचाइको लागि राप्ती गाउँपालिका, वडा नं. १ कार्यालयबाट १८ लाख, नाम्सालिन संस्थाको ९ लाख र स्थानीयको जनस्रमदानबाट निर्माण गरेको हो । आकासे पानीको भरमा परम्परागत खेती गरिरहेका किसानलाई व्यावसायिक खेती गर्न प्रेरणा दिने यो प्रविधिबाट नदी छेउका सुख्खा बस्तीमा प्रयोग गर्नसके स्थानीय कृषकको जीवनशैली सुधारमा ठूलो सहयोग मिल्ने विश्वास उनको छ । मच्छीताल गाउँलेजस्तै छिमेकी र नदी किनारका गाउले पनि सौर्य सिंचाइमा आधारित लिफ्ट सिंचाइ प्रविधि प्रयोग गरेर सुख्खा खेतबारी हराभरा बनाउन सकेमा आयआर्जनका लागि विदेशीने समस्या हट्ने निश्चित छ ।