भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न माग

दाङ, ११ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) दाङले जिल्लामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको वातावरण बनाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकार्षण गराएको छ ।

एन प्याब्सनले बिहीबार एक विज्ञप्ति जारी गरी भौतिक उपस्थितिमा विद्यालय सञ्चालनको बातावरण बनाउनका लागि जिल्ला कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई आग्रह समेत गरेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा मानसिक समस्या उत्पन्न हुने भन्दै सामाजिक दूरी अपनाउँदै स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको बातावरण मिलाउन आग्रह गरेको हो ।

‘कोरोना महामारीका कारण बैशाख १६ गतेदेखि जिल्लामा लकडाउनका कारण विद्यालय सञ्चालन हुन सकिरहेको छैन’, एन प्याब्सनका अध्यक्ष बिमल गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘विद्यालयहरु लामो समय बन्द हुँदा विद्यार्थीहरुले पढ्न पाइरहेका छैनन्, जसले नकारात्मक असर पारिरहेको छ ।’ उनले हाल विद्यालय बाहेकका अन्य क्षेत्रहरु निर्वाधरुपमा सञ्चालनमा आइसकेको अवस्था विद्यालय सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।

बिज्ञप्तिमा भनिएको छ– ‘बजार, यातायात, कलकारखानालगायत अन्य क्षेत्रहरु कोरोनाको संक्रमण नै नभएको जस्तो गरी सञ्चालन भइरहँदा विद्यालयलाई भने किन सञ्चालनमा रोक लगाउने काम भएको छ ?’ नेपाल सरकारद्वारा प्रेषित वैकल्पिक शैक्षिक क्रियाकलापबाट पनि सबै बालबालिका समेटिन नसकिने र उक्त प्रणाली नै असफल भएको परिप्रेक्ष्यमा भौतिक उपस्थितिमै शैक्षिक क्रियाकलापलाई अगाडि बढाउनका लागि सम्बन्धित स्थानीय प्रसाशनको ध्यानाकार्षण गराएको अध्यक्ष गौतमले जानकारी दिएका छन् ।

साथै प्रमुख जिल्ला अधिकारीले शैक्षिक क्षेत्रलाई यथाशीघ्र भौतिक उपस्थितिमा सञ्चालनका लागि सहकार्य गरिदिन एन प्याब्सनले अनुरोध गरेको छ ।