गिद्ध संरक्षणमा सामुदायिक वन,हराउँदै सुनगिद्ध र हाडेगिद्ध

खेमराज रिजाल
बाघमारे (दाङ), ११ भदौ । ‘हाम्रा वनमा सबैभन्दा बढी गिद्ध छन् भनेर अरु व्यक्ति आएर भनिदिनुपर्ने कस्तो दुर्घाग्य हो ! हामीहरु अझै पनि जैविक विविधतामा कत्ति पनि जिम्मेवार बन्न सकिरहेका छैनौं’, बाघमारेको सामुदायिक भवनमा आयोजित गिद्ध संरक्षणमा सामुदायिक वनको भूमिका विषयको कार्यक्रममा स्थानीय उपभोक्ता डम्वर वलीको अभिव्यक्ति हो, यो ।

जिल्लाकै सबैभन्दा बढी गिद्धका गुणहरु भएको र सबैभन्दा बढी गिद्धहरु पाइने बाघमारेमा अचेल सुनगिद्ध र हाडेगिद्धहरु देखिनै छाडेकोमा सामुदायिक वन उपभोक्ता तथा प्राकृतिक सम्पदामा चासो राख्ने जानकारहरुले चिन्ता व्यक्त गरे । जैविक विविधता नास हुँदै जाँदा विभिन्न खाले प्राकृतिक विपतहरु आइरहेको भन्दै उनीहरुले वनमा भएका हरेक रुख–विरुवा र वन्यजन्तु तथा पशुपंक्षीलाई संरक्षण गर्न सकेमात्र वातावरणीय सन्तुलन कायम हुन सक्ने उनीहरुको अभिव्यक्ति थियो ।

‘वैज्ञानिक वन व्यवस्थापनका नाममा पश्चिम दाङको अपार वन सम्पदालाई समाप्त पार्ने खेल भइरहेको छ, यसमा डिभिजन वनलगायत सेक्टर बनका अधिकारीहरुले समेत उपभोक्ताहरुलाई झुक्याउने काम गरिरहेका छन्, यसमा उपभोक्ताहरु सचेत हुन आवश्यक छ’, वन उपभोक्ता वलीले भने । पछिल्लो समयमा राज्यका विभिन्न निकायहरु यो र त्यो बहानामा वन विनासमा मात्रै उद्धत हुन थालेको पनि उनको अभिव्यक्ति थियो । सुनगिद्ध र हाडेगिद्धहरु मात्र नभएर पछिल्लो समयमा वनमा हुने धेरै प्रजातिका चराचरुङ्गीहरु पनि हराइसकेको बताउँदै वन उपभोक्ताहरुले पर्यावरणीय सन्तुलनका लागि सरकारले प्याकेजमा कार्यक्रम ल्याउन पनि सुझाव दिएका थिए ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र दाङको आयोजना तथा बिसिएनको आर्थिक सहयोगमा बिहीवार बाघमारेमा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि तथा शान्तिनगर गाउँपालिका—२ का वडाध्यक्ष फर्साराम डाँगीले प्रकृतिको कुचिकार विभिन्न प्रजातिका गिद्धहरुको आश्रयस्थल बाघमारेलाई अन्तर्राष्ट्रियरुपमै गिद्ध अनुसन्धानस्थलका रुपमा विकास गर्न गाउँपालिकाले आवश्यक कार्यक्रम र बजेट समेत ल्याउने आश्वासन दिए ।

‘गिद्ध पर्यावरणीय सन्तुलनका लागि अपरिहार्य पंक्षी हो भन्नेमा हामीहरु विश्वस्त छौं, आगामी कार्यक्रममा हामीले गिद्ध संरक्षणका अभियानहरुलाई पनि सम्बोधन गर्नेछौं’, प्रमुख अतिथि डाँगीले भने । नेपाल सरकारले पछिल्लोपटक पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा पूर्ण प्रतिवन्ध लगाइसकेको बताउँदै उनले गिद्धको आहारालाई पनि समुचित व्यवस्थापन गर्नका लागि वन उपभोक्ता समूहहरुले पनि विशेष कार्यक्रम ल्याउन आग्रह गरे ।

‘हामी बाघमारेको वनलाई प्राकृतिक एवं जैविक विविधताको अध्ययनस्थल बनाउन प्रतिवद्ध छौं, यसका लागि डिभिजन वन कार्यालयलगायत यस क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाहरुसँग समन्व गर्न तयार छौं’, प्रमुख अतिथि डाँगीले भने । त्यसै अवसरमा प्रमुख अतिथि डाँगीले गिद्धको वासस्थानका रुपमा प्रयोग हुने सिमललगायतका विभिन्न अग्ला प्रजातिका विरुवाहरु हुर्काउन तथा जोगाउन वन उपमोक्ता समूहले विशेष पहल गर्न पनि सुझाव दिए ।

कार्यक्रममा स्थानीय उपभोक्ता कुलबहादुर वलीले अहिले मानिसहरु आधुनिक विकासमा रुमल्लिँदा दिगो विकासको अभियानमै धक्का लागेको अभिव्यक्ति दिएका थिए । मानिसले पृथ्वी कब्जा गर्ने हुंकारका कारण प्राकृतिक विनासले तीव्रता पाइरहेको बताउँदै उनले योजना बनाएर मात्रै काम गर्न स्थानीय सरकारलाई चेतावनी दिए । ‘सडक बनाउँदा कुनै इन्जिनियरिङ देखिँदैन, डोजर ड्राइभरको निर्देशनमा मनोमानी जमिन खनेर सडक बनाइँदा भूक्षयको सम्भावना अधिक बढेको छ’, वलीले भने । स्थानीय उपभोक्ता टेकन केसीले गिद्धलगायत विभिन्न जैविक विविधता संरक्षणका लागि उपभोक्ताहरुमा सचेतनाको अभियानलाई फैलाउनुपर्ने सुझाव दिएका थिए ।

सो अवसरमा साम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लक्ष्मण खत्रीले आगामी वन कार्ययोजनामा गिद्ध संरक्षण एवं पर्यावरणीय सन्तुलनका लागि विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । ‘गिद्ध र मानवको अनन्य सम्बन्धलाई हामीले गम्भीरतापूर्वक लिएका छौं, पश्चिम दाङको बाघमारे क्षेत्रका सामुदायिक वनलाई गिद्ध अनुसन्धानको हव बनाउन प्रतिबद्ध छौं’, वन उपभोक्ता समूहका अध्यक्ष खत्रीले भने । साथै उनले सामुदायिक वनमा रहेको गौशालालाई थप व्यवस्थित गरी गिद्धे रेष्टुरेन्ट निर्माणमा पनि वन उपभोक्ता समूहले विशेष पहल गर्ने बताए ।

कार्यक्रममा पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले गिद्ध प्रकृतिका कुचिकार भएको र पछिल्लो समयमा हराउँदै जान थालेकाले गिद्ध संरक्षणमा वन उपभोक्ताहरुको विशेष पहलको अपेक्षा गरेका थिए । विश्व समुदायका पंक्षीविद्हरु गिद्धको अध्ययन तथा अनुसन्धानका लागि दाङ आउन थालेको बताउँदै यसलाई अझै फराकिलो र सहज बनाउन हरेक वन उपभोक्ता समूहहरुले वन कार्ययोजनामै पर्यावरणीय एवं जैविक विविधता संरक्षणलाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

सिनियर सामाजिक परिचालक क्षितिज रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपेन्द्र लामिछानेले गरेका थिए । गिद्ध संरक्षणका लागि देउखुरीको सिसहनिया र तुलसीपुरको स्यालापानीमा गिद्ध रेष्टुरेण्ट सञ्चालनमा आइरहेका छन् । यी क्षेत्रमा विभिन्न देशहरुबाट पंक्षीविज्ञहरु अध्ययन तथा अनुसन्धानका लागि आउने गरेका छन् ।