गोरक्ष समाचारदाता
हापुरे, ११ भदौ । बबई गाउँपालिका स्तरीय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन भएकी छन् । बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजना अन्तर्गत विहीवार हापुरेमा भएको भेलाले नेपालीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा लीलाकुमारी वली, सचिवमा हेमा विक र कोषाध्यक्षमा हिमा भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा राजकुमारी वली डाँगी, सुप्रिया रोकाय, जानकी खड्का, चेतना चौधरी, झमारा सार्की, मानकुमारी केसी, श्यामप्रकाश चौधरी र हिरालाल खड्का चयन भएका छन् ।
बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड संस्थाको संयुक्त प्रयासमा परियोजना सञ्चालन भइरहेको छ । उपभोक्ता समिति गठन कार्यक्रममा पालिका अध्यक्ष भूवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, वडाध्यक्षहरू नन्दलाल वली, टेकबहादुर वली, डम्बर सिरिस मगर, महावीर चौधरी, चिन्तामणि शर्मा, खड्गबहादुर कवँरले विचार राखेका थिए ।
परियोजनाका बारेमा कार्यक्रम अधिकृत महेश आचार्यले जानकारी गराएका थिए । आर्थिक वर्ष २०७७÷०७८ देखि बबई गाउँपालिकामा बबई कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु भएको हो । पालिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका सातवटै वडामा गठन भएका विभिन्न कृषि समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेलाको सहजीकरण परियोजना संयोजक हिरालाल खड्काले गरेका थिए ।