आँपको रूखमुनिको बसाइ

युवराज शर्मा

गाउँका पण्डित बाजेको घरआँगनमा आँपको रुख थियो । गर्मी मौसममा शीतलताका लागि केटाहरु जम्मा हुन्थे । उनीहरु कृषि पेशा, भारतीय होटलमा मजदुर र पढ्ने विद्यार्थीहरु थिए । कोभिड–१९ का कारण लकडाउन थियो । कोरोना भाइरस बढेपछि भारतबाट आएका, स्कूल बन्द भएपछि घरमा आएका विद्यार्थीहरु घुलमिल थिए । उनीहरुलाई लकडाउन भनेको के हो ? थाहा थिएन । कोरोना एउटा सरुवा रोग हो भन्ने ज्ञान विद्यार्थीहरुलाई पनि थिएन । यिनीहरुले घरपरिवारका सरसल्लाह पनि मान्दैनथे ।

किसानको छोरालाई कृषि व्यवसाय खेतीपातीको राम्रो ज्ञान थियो । उनीहरु रुखमुनि बसेर तास खेल्न लागे । किसानको छोराले तास खेल्न जान्दैनथ्यो । उसले भन्थ्यो मसँग पैसा छैन । म त तास खेल्न पनि जान्दैन । भारतमा रोजगार गर्ने केटाले भन्यो – म तिमीलाई पैसा दिन्छु, मलाई धान दिनु, धान किन्ने पैसा हो ।’ उसको भनाइमा किसानको छोरा सहमत भयो । तास खेल्न लागे । किसानको छोराले हार्दै गयो । अन्त्यमा भारतमा काम गर्ने केटाले जित्यो । उसलाई धान पनि भयो र पैसा पनि बच्यो ।

गाउँमा कोरोना फैलिरहेको थियो । किसानको छोरालाई कोरोनाले छोयो । ऊ बिरामी भयो । केही दिनपछि उसका बाबु पनि कोरोनाले बिरामी भए । उनी बृद्ध थिए, रोगसँग बच्नसक्ने तागत उनमा भएन । अन्त्यमा किसानको मृत्यु भयो । छोरालाई कोरोनाले बचायो । उनी कोरोनाबाट बचे तर खेतमा धान खेती भएन । धान दिने शर्तमा लिएको पैसा तिर्न सकेनन् । अन्त्यमा खेत काटेर दिनुप¥यो ।

संगतको फल खराब प्रभाव भएको किसानको छोराले बल्ल बुझेका थिए । आँपको रुख मुनिको बसाइले उनलाई खाद्य संकट भयो । घरमा समस्याहरु बढ्दै गए । आफूले नजानेको काम गर्न हुँदैन भन्ने ज्ञान गर्नसकेका थिए । बिग्रेपछि बुझेर काम लाग्दैन । धानखेत बेच्नका लागि थिए । खेती गरी खानका लागि हो भनाइ उनका काकाको थियो । खाद्य अवस्था कमजोर भयो । अन्त्यमा किसानको छोरालाई जमिन घटेको र खाद्य समस्याले सताएको वातावरण बन्यो । तास खेल्दाको परिणाम थाहा पायो । खराब संगतको परिणाम देखियो ।

क्याम्पस पढ्ने विद्यार्थीहरुले पनि तासको परिणाम किसानको छोराले भोग्नुपरेको ज्ञान गरेका थिए । उनीहरुलाई पढाइको महत्व थाहा भएन । समय र अवस्थाको बोध गर्न सकेनन् । यिनीहरुका बाबुहरुले पनि दिनभर तास खेलेर समय बिताउँथे । कसले कति हा¥यो ? भन्ने छलफल गर्थे । धेरै रकम जित्ने व्यक्तिलाई प्रशंसा गर्थे । उसको वौद्धिक क्षमताको राम्रो तारिफ गर्थे । यस्तो वातावरणले गर्दा समाज भ्रष्ट बन्दै थियो । घरपरिवारका बालबालिका र बृद्धबृद्धाहरुले युवाहरुको तास खेल्ने र रक्सी पिउने आदत देखेर आश्चर्य मान्थे ।

कोरोना भाइरस रोकथामका बारेमा कसैको सोचाइ थिए । गाउँले समाजमा कोरोनालाई सामान्य रुघाखोकी र ज्वरो सम्झन्थे । कतिपयको मृत्यु हुन्थ्यो । आगोले पोलेमा कोरोना रोग भाग्छ भन्थे । खेतीपाती गर्नेहरु आफ्नो काममा थिए । यस्तै प्रकारले गत वर्ष बित्यो । यस वर्ष पनि बित्छ भन्थे । कोरोना भाइरसको नयाँ–नयाँ रुप देखापरेको सूचना सरकारमा भएका जनप्रतिनिधिहरुले सुनाउँथे । गाउँलेहरुले भन्थे – प्रचार गर्न आए होला, कति पैसा कमाउने धन्दामा छ ? भनी जनप्रतिनिधिप्रति घृणा भावना देखाउँथे । तर रोगको प्रभाव गाउँमा बढिरहेको थियो ।

कोरोना भाइरस फैलने भयो । रोकथाम गर्ने आधार लकडाउन र निषेधाज्ञा मात्र थियो । स्थानीय प्रशासक र प्रहरी प्रशासक मिलेर बजार सहरमा हिडडुल, यातायात, व्यापार व्यवसाय र उद्योगहरु बन्द थिए । काम गरेर खानेहरुको चुलो निभ्दै थियो। स्कूल र क्याम्पसहरु बन्द थिए । विद्यार्थीहरुको पढाइ छुटिरहेको थियो । जनशक्ति कमजोर बन्दै थियो । यस्तो वातावरणमा राजनीतिज्ञहरुले नागरिकको स्वास्थ्यप्रति ध्यान दिएका थिएनन् ।

उनीहरुले कोरोना भाइरस फैलाउन सभा, जुलुस, छलफल, सेमिनार, भेटघाट धेरै तीव्र बनाएका थिए । यसले कोरोना बढाउन मद्दत पुगेको थियो । कोरोना लागेको व्यक्ति गाउँघरमा हिडडुल गर्थे । त्यस्तालाई स्वास्थ्यकर्मीहरुको सल्लाह र सुझाव पालन थिए । एकअर्काप्रति छुवाछूत, बसउठ बढाएका थिए । आँपको रुखमुनि बसेर केटाहरुले तास खेल्थे । उनीहरुलाई कोरोनाको डर थिएन । उनीहरु भन्थे – कोरोना रोगले गरिब र विपन्न परिवारलाई हुँदैन । यो धनी र हुनेखानेवर्गलाई लाग्ने रोग हो । गरिब र विपन्नवर्गलाई यो रोग लागेको भए सरकारले उपचार सित्तैमा गर्ने थिएन । गरिब र विपन्न परिवारमा लाग्ने रोग नै भोकमरी हो । यस्तो रोगको उपचार सरकारले गर्दैन । घरमा पस्दैन ।

नेपालीहरु कोरोना भाइरसले संक्रमित भए । धेरैका ज्यान भयो । अधिकांशलाई रोगले छोए पनि निको भए । घरेलु औषधीमा निर्भर भएका थिए । राजधानी काठमाडौं जिल्लाका गाउँघरहरुमा कोरोना पीडितहरुको स्थानीय, प्रेश र संघीय सरकारसँग सम्न्ध भएन । सहरबजार क्षेत्रका अस्पतालहरुमा कोरोना भएर अस्पताल पुगेका व्यक्तिहरुको मात्र ज्ञान सरकारलाई भयो । गाउँघरमा रुघाखोकीले सताएका व्यक्तिहरुको संख्या धेरै थियो । गाउँको नागरिकमा रक्त परीक्षण भएन, कति कोरोनाका बिरामी भए ।

उनीहरु जडिबुटी ओखतीबाट निको भए, धेरैलाई थाहा भएन । कसलाई कोरोना लागेको छ भन्ने आधार गाउँघरमा भएन । आँपको रुखमुनि बसेर तास खेल्ने युवाहरु पनि कोरोनापीडित थिए । उनीहरुको समस्या बुझ्ने कुनै निकाय भेटाउन सकेका थिएनन् । अहिले उनीहरु भन्छन्– गाउँलेलाई सोध्ने, बुझ्ने र सम्झने सरकार भएन । देशमा रोजगार नभएकोले तासमा समय बिताउनुपरेको उनीहरुको भनाइ थियो ।

स्थानीय सरकारले बेरोजगारहरुलाई काम दिन्छ भन्थे । कहाँ दिन्छ ? कसलाई दिन्छ ? के काम दिन्छ ? गाउँमा कसैलाई जानकारी छैन । गाउँका वडाध्यक्ष भन्छन् – मैले छोरा, सालाहरुलाई रोजगार बनाउन सकेन भने अरु केटाहरुलाई रोजगार दिन सक्दैन । बेरोजगार भएर बस्नु पर्दाको पीडा युवाहरुमा बढिरहेको थियो । कसैले पनि सरकार भएको अनुभूति गर्न सकेका थिएनन् । कोरोना भाइरसको महामारी रोगका कारण घरमा बसेका युवाहरुलाई आर्थिक, सामाजिक, शैक्षिक र सांस्कारिक समस्याले सताएको छ । घरखर्च धान्न सकस छ भने समाजमा कार्यविहीन भएर हल्लिनुपरेको छ ।

पढ्न नसकेर भारतीय होटलहरुमा भाँडा माझ्न वाध्य थियौँ– भन्छन् बेरोजगार युवाहरु । अब कोभिड–१९ ले स्वदेशमा काम गरेर बस्नुपर्ने भयो । दलका नेताहरु भन्थे – नेपालमा गणतन्त्र ल्यायौँ । हजारौँको बलिदानबाट प्राप्त भएको गातन्त्रात्मक संविधान २०७२ पनि निष्क्रिय बन्यो । दलालतन्त्रको विकास भयो । ठग, चोर, गुण्डागर्दी, तस्कर, दलाल, बिचौलिया र दुव्र्यसनीहरुको विकास भयो ।

अब के यी विकृतिहरुमा सुधार भएर सामाजिक वातावरण स्वच्छ बन्ला ? यसका लागि गरिने प्रणाली, आधार, नीतिनियम, व्यवस्थापन हेर्न बाँकी छन् । जबसम्म सामाजिक वातावरणमा सुधार गर्न व्यक्ति, वर्ग र वर्णहरुमा सांस्कारिक सुधार ल्याउनु आवश्यक छ । तब मात्र गाउँघरको वातावरणमा सामाजिक भावना जाग्नेछ । आँपको रुखमुनिको बसाइ युवाहरुलााई सार्थक बन्नेछ ।