समृद्ध नेपाल, सुखी नेपाली

नारायणप्रसाद श्रेष्ठ

समृद्ध नेपाल, सुखी नेपालीको नारा नेपाल र नेपालीको वृहत्तर हितको लागि परिकल्पना गरिएको समय सुहाउँदो सान्दर्भिक नारा हो । तसर्थ, यसलाई सार्थकता दिन यसको औचित्य र व्यावहारिकतालाई सबै जन–जनको आचरण र व्यवहारमा परिणत गर्न सक्नुपर्छ तथा यसको सफल कार्यान्वयनको लागि सरकार जिम्मेवार भई औद्योगिक नीति र व्यवहारलाई परिस्कृत र सशक्त बनाउनु पर्छ । नेपाल र नेपालीको भविष्य सरकारले अपनाउने नीति र व्यवहारमा अडेको हुन्छ ।

समृद्धिको नारा औद्योगिक नीति र व्यवहारमा भर परेको हुन्छ । उद्योगबिनाको समृद्धि कोरा नारा मात्र मानिन्छ । जहाँ औद्योगिक विकासले फड्को मार्छ त्यहाँको जनजीवन उच्च र आर्थिक अवस्था मजबुत हुन्छ । आर्थिक सम्पन्नताको बलियो आधार राष्ट्रिय औद्योगिक विकास हो । उद्योगबाट नै राष्ट्रिय अर्थनीति बलियो हुन्छ र नयाँ–नयाँ अवसरहरु सिर्जना हुँदै जान्छ । उद्योगबाट नै रोजगारीको अवसर सिर्जना भई जीवनस्तर मजबुत बन्नसक्छ । जब जनचेतनाको वृद्धिसँगै रोजगारीको अवसर जुट्न पुग्छ तब सिर्जनात्मक प्रतिभाको प्रष्फुटन हुने अवसर जुट्दछ ।

मानिसमा अन्तरनिहि दिव्यताले जब मूर्त रुप लिने अवस्था रहन्छ तब त्यहाँ समृद्धिका ढोका स्वतः उघारिँदै जाने स्थिति हुन्छ । भौतिक पूर्वाधारदेखि मानिसका आवश्यकताहरु परिपूर्ति हुँदै जाने अवसरको सिर्जना हुनु समृद्धि हुनु हो । जहाँँ समृद्धिको अवसर जुटेको हुन्छ त्यहाँ मानवीय चेतनाले पनि राम्रा र आवश्यकताको पहिचानसँगै विचारमा पवित्रताबोध हुने परिस्थिति जन्मन्छ । जब के खाउँ, के लाउँ भन्ने अवस्थाको अन्त्य हुन्छ तब विचारमा परिस्कृत भई समय सुहाउँदो विकासका ढोका आफै खुल्ने अवस्था सिर्जित हुनपुग्छ । मानिसको विचार र चिन्तनमा प्रतिशोधको भावना जागृत नभई एकअर्कामा आवश्यकताको परिपूर्ति गर्ने गराउने वातावरण उत्पन्न हुन पुग्छ ।

मानिसको व्यवहार र मित्रतामा सौहार्दपूर्ण वातावरण सिर्जना हुन्छ । कर्म र व्यवहारमा शुद्धता आई प्रेम र सद्भाव बढ्दछ । भाइ–भाइबीचको सम्बन्धमा मजबुतता आउँछ, समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन पुग्छ । प्रत्येक नेपाली रोजगार भई विदेशी भूमिमा सीप र श्रम खर्चने अवस्था आउँदैन । तसर्थ, समृद्धिको नारा सार्थक बनाउन औद्योगिक नीति चुस्त र दुरुस्त बनाउनुका साथै स्वदेशी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । राष्ट्रिय राजनीतिलाई समृद्ध नेपालसँग गाँसिएको नेपालको पूर्वाधारसँग मेल खाने गराउनु पर्छ ।

नेपाल भूपरिवेष्ठित राष्ट्र हो । सामुद्रिक सुविधाबाट केही टाढा भए तापनि यहाँको भौगोलिक बनोट, प्राकृतिक छटाले ओतप्रोत भएर देखापरेको छ । हिमाल, पहाड, तराई भएर रहेको यहाँको पर्यावरणीय परिवेश स्वच्छ, सफा र सुन्दर हरियालीले परिपोषित भएर रहेको यहाँको सुन्दरता संसारको लागि आकर्षकको केन्द्रको रुपमा परिचित छ । सर्वोच्च शिखर हिमालको काखमा रहेको यहाँको पाखा, पर्वत, हिमशृंखला, झरना तथा समथर भूमि एवं तराईका फाँटमा लटरम्म फलेका धानका बाला साच्चिकै मनमोहकको रुपमा प्रस्तुत भएका छन् ।

प्राकृतिक सुन्दरताले ओतप्रोत यहाँको बस्ती, समाज तथा यहाँका बासिन्दाको असल व्यवहार एवं संस्कार सबैको लागि आकर्षणको केन्द्र बनेर रहेको छ । आदर, सम्मान र इमान्दारीको ज्वलन्त उदाहरण भएर देखापरेको यहाँको रहनसहन, आचरण र वीरता विश्वपरिवेशको लागि मनै लोभ्याउनेखालको छ । विश्व समुदायले प्रत्येक नेपालीको इमानदारीलाई विश्वास गरेको पाइन्छ । नेपालीको विशेषता भनेकै पारदर्शीता र इमान्दारी रहेको विश्वले स्वीकार गरेको अवस्था छ । यसरी विश्वसामू पहिचान बोकेको नेपालको इतिहासमा हाल आएर राजनीतिक विचलनको कारण समृद्ध नेपालको नारा कागजमा सीमित हुन पुगेको छ ।

विकासका पूर्वाधारहरु राजनीतिक आवरणबाट परिपोषित भई स्वार्थ प्रेरक देखापरेका छन् । केही समय यता यहाँको समृद्धि कसरी गर्ने हो भनी छलफलको विषय नबनेको होइन । तथापि, राजनीतिक सोच र चिन्तनको कारण यहाँका औद्योगिक विकासका पूर्वाधारहरु जीर्ण हुन पुगेको छ । भौतिक विकास नै एक मात्र आधार भएको परिप्रेक्षमा राजनीतिको ध्यान अन्तै मोडिएको छ । राष्ट्रिय समृद्धि र सुशासनयुक्त असल शासन नेपाल र नेपालीको चाहन भएको स्वीकार्दै नेताहरु यसको समृद्धिको आधार तयार गर्ने जमर्को गरिरहेको त पाइन्छ, भौतिक उन्नति नै समृद्धिको आधार भनेर आवश्यक पूर्वाधार गरिने कार्यमा योजना त बनाइँदै छ, यति वर्षमा राज्यलाई यो अवस्थासम्म पु¥याउने भनी दस्ताबेजमा लेख्न र राजनीतिक भाषण गर्न प्रत्येक दल लागिपरिरहेकै अवस्था छ ।

तथापि, कर्म र व्यवहारमा भिन्नता देखापरेको छ । सपनाको महल खडा गरी जनसाधारणलाई आशाको खेतीमा रमाउन प्रत्येक दल लागिपरेका पनि छन् । म, हाम्रो पार्टीले यस्तो गछौँ, उस्तो गर्छौं भनी सपनाको खेती गर्न कुनै पनि पार्टी कमजोर छैनन् । तर, औद्योगिक क्षेत्र निर्धारण गरी बेरोजगारी कम गर्नेतर्फ खासै चासो बढेको पाइँदैन । नारा त प्रशस्त उठेका छन् तर पनि उपलब्धिमूलक देखिँदैन । उद्योगबिना राष्ट्रको श्रमशक्ति विदेशिन वाध्य भएको छ । सहरीकरणलाई प्रगतिको मुख्य सूचक बनाइए पनि यसको पूर्वाधकार बनाउनका लागि आवश्यक पर्ने भौतिक सामग्रीको उत्पादन कमजोर छ ।

आधारबिनाको उद्योगले केही सहुलियत दिन खोजे पनि ठूला–ठूला उद्योगधन्दाहरु नेपालमा सञ्चालन हुन सकेका छैनन् । वर्षेनी नेपाली श्रम र सीप विदेशी भूमिको ५० डिग्रीको गर्मीमा पसिना बगाउन वाध्य छन् । राष्ट्रिय अर्थतन्त्र रेमिट्यान्समा चलेको अवस्था छ । उद्योगबिनाको औद्योगिक क्षेत्र घोषणाले मात्र राष्ट्र समृद्ध नहुनेतर्फ केही मात्राको ध्यान यतातर्फ गए पनि राज्यले यसमाथि गति लिन सकेको छैन । राष्ट्रिय बजेटको आधाभन्दा बढी हिस्सा चालु खर्चमा रहेको देशको अर्थतन्त्र विदेशी ऋण र रेमिट्यान्समा अल्मलिएको छ ।

भइरहेका उद्योग, कलकारखानाहरु निजीकरण हुँदै नामोनिसान मेटाउनेतर्फ राजनीतिको ध्यान बढी केन्द्रित भएको छ । उद्योगमा लगानी कमजोर छ, उद्योगबिनाको औद्योगिकीकरण शून्य बराबर हुने कुराको बोध हुँदाहुँदै पनि विज्ञको सल्लाह र सुझावलाई खासै बढावा दिएको पाइँदैन । जति पनि नीति बनेका छन्, त्यसको प्रभावकारी परिचालन भएको छैन । वर्तमान अवस्थालाई हेर्ने हो भने अहिले राष्ट्रमा ऋणको भार बढेको छ ।

निर्यात व्यापार कमजोर छ । स्वदेशमा उत्पादन भई आत्मनिर्भर रहन सकिने चामल समेत बाहिरबाट आयात गरिँदैछ । आम्दानीभन्दा खर्च बढेको छ । राजनीतिको सोच उद्योग नीतिभन्दा सुविधातिर बढी आकर्षित छ । भ्रष्टाचारमुक्त र स्वार्थरहित चिन्तनबाट जबसम्म राजनीति परिचालन हुँदैन तबसम्म समृद्ध नेपाल र सुखी नेपालीको नारा केवल कागजमा निर्भर रहने अवस्था छ ।

त्यसैले विकासको लागि राजनीति गरी केवल राजनीतिको लागि विकास गरी टोपल्ने प्रवृत्तिको अन्त्य गरी राष्ट्रि राजनीतिलाई विकासको बलियो आधार बनाउन औद्योगिकीकरण गर्न नेतृत्वको गम्भीर ध्यान जान जरुरी छ । हुन त केही समय यता कोरोनाको सन्त्रासले आक्रान्त भएको र बाढीपहिरोका कारण पीडित भएको यस अवस्थामा यस्ता आदर्श कुरा त्यति उपयुक्त नहोला । तर, रोग बाहेक जे–जति नोक्सानी भएका छन् ती सबै हाम्रो बुद्धि र विवेकशीलता तथा दूरदर्शी चिन्तनको अभावबाट भएको होइन भन्ने आधार कमजोर हुनसक्छ ।

तसर्थ यसलाई यति राख्दै रोजगारीको अवसरले ल्याउने समृद्धिको आँकलन गरी प्रत्येक नेपालीको श्रम र सीपलाई स्वदेशमै प्रयोग गरिने गरी उद्योगका अवसर बढाई समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउन सक्नुपर्छ । प्रत्येकले आफ्नो छातीमा हात राखी प्रतिबद्धता जनाउनु पर्ने छ । भ्रष्टाचारमुक्त आदर्श समाज र समृद्ध नेपालको सपना तब मात्र सार्थक बन्नसक्छ जब राजनीतिक सोच र चिन्तनमा निःस्वार्थपरक भावना जागृत भई पारदर्शी चरित्र निर्वाह हुने परिस्थिति बन्दछ ।

औद्योगिक नीतिलाई व्यवहारगत लागू गर्न जब राजनीतिक दृढता अघि बढ्छ तब नेपालले विकासमा फड्को मार्न सक्छ । प्रकृतिक जलस्रोतको धनी भएर पनि यसको उचित प्रयोग हुन नसकिएको अवस्थाले वर्तमान परिस्थिति उब्जिएको हो । तसर्थ, यसलाई बेलैमा सोची कार्ययोजनालाई मूर्त रुप दिन सबै प्रतिबद्ध बन्नुपर्छ । चेतना भयो ।