खेमराज रिजाल
दाङ, २ भदौ । कम्तीमा एक बर्षदेखि ठप्प रहेको यहाँको चारलेन सडक स्तरोन्नतिको काम आइतवारदेखि सुरु हुने भएको छ । गत शुक्रवार नेपाल सरकार चारलेन सडक स्तरोन्नति परियोजना र निर्माणको ठेक्का पाएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रास्टक्चर प्रोजेक्ट प्रतिनिधिबीच भएको जुम मिटिङमा निर्माण कम्पनीका प्रतिनिधिले यस्तो प्रतिबद्धता व्यक्त गरेका चारलेन सडक स्तरोन्नति परियोजना कार्यालय लमहीले जनाएको छ ।
विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै पटक–पटक थपिएको म्याद समेत सकिनै लाग्दा परियोजनाले चेतावनीसहितको ताकेता गरेपछि निर्माण कम्पनीले यस्तो प्रतिबद्धता जनाएको परियोजनाका डिइ पारश हमालले गोरक्षलाई बताए । अब निर्माणको ठेक्का रद्द गर्नुको कुनै विकल्प रहेन भनेपछि तथ्य इन्जिनियरिङका प्रवन्ध निर्देशक प्रवीण पाण्डेले आउँदो आइतवारदेखि फिल्डमै पुगेर काम सुरु गर्ने जवाफ दिएको परियोजना प्रमुख हमालले बताए ।
‘एक साताभित्रै काम सुरु गर्नेछु, अर्को साता तपाईहरुले प्रगति देख्नुहुनेछ’, निर्माण कम्पनीका प्रवन्ध निर्देशक पाण्डेको भनाइलाई उद्धृत गर्दै परियोजना प्रमुख हमालले भने । निर्माण कम्पनीले एक साताभित्रै थप स्रोत साधन र जनशक्तिबीच साइटमै आएर काम सुरु गर्ने बताएको छ । हालसम्मको कार्य प्रगति सन्तोषजनक नभएको स्वीकार्दै निर्माण कम्पनीले स्थानीय प्रतिनिधिसमेत फेरबदल गरी नयाँ व्यवस्थापनका साथ काम सुरु गर्ने पनि जुम मिटिङमा प्रतिबद्धता जनाइएको छ ।
पछिल्लो समयमा निर्माण कम्पनीका स्थानीय प्रतिनिधि अनुप पाण्डे बाहिरिन चाहेपछि नयाँ प्रतिनिधिलाई खटाइएको बताइन्छ । नयाँ प्रतिनिधि दोर्ण दुलाल दाङमै आएर जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुमाझ आफूले स्थानीय प्रतिनिधिका रुपमा काम गर्न चाहेको र भदौ महिनाभित्रै काम सुरु गर्ने प्रतिबद्धता जनाएका थिए । तर परियोजनाले भने हालसम्म तथ्य इन्जिनियरिङको आधिकारिक प्रतिनिधि अनुप पाण्डे नै रहेको बताएको छ ।
‘स्थानीय प्रतिनिधि फेरबदल गर्ने विषयमा निर्माण कम्पनीले पहल गरिरहेको हुनसक्छ, सायद नयाँ प्रतिनिधिले यही सातादेखि काम सुरु गर्नेछन् भन्नेमा हामीहरु विश्वस्त छौं’, परियोजना प्रमुख हमाल भन्छन्– ‘यो विषयमा नयाँ प्रतिनिधि भनिएका दोर्ण दुलालको टिमसँग पनि अनौपचारिक कुराकानी भैरहेको छ ।’ यी प्रतिनिधिहरुबीच हालसम्म भएको कार्य प्रगतिको मूल्यांकनसहित स्रोत साधनको स्वामित्व हस्तान्तरणको प्रक्रिया अझै नटुंगिएको समाचार स्रोतले बताएको छ । ‘स्थानीय प्रतिनिधिबाट नयाँ प्रतिनिधिलाई स्वामित्व हस्तान्तरण भइसकेको छैन, यसैले काम सुरु हुन नसकेको हो’, स्रोतले भन्यो ।
भारतको एक्जिम बैंकको लगानी रहेको यो परियोजनाको कुल बजेट भ्याटसहित एक करोड ४३ लाख अमेरिकी डलर रहेको छ । तीन बर्षमा निर्माण सकिनेगरी ठेक्का सम्झौता भए पनि पटक–पटक विभिन्न कारण म्याद थप हुँदै जाँदा थपिएको अन्तिम म्याद सकिन पनि केही महिनामात्रै बाँकी रहेको छ । थपिएको म्यादअनुसार सडक चारलेनको काम आगामी सन् २०२२ मे १२ सकिसक्नुपर्ने सम्झौता भएको छ । तर हालसम्मको कार्यप्रगति भने बढीमा ७ प्रतिशत पनि पुग्न सकेको छैन ।
सडक स्तरोन्नतिको काम अलपत्र भइरहँदा यस क्षेत्रमा दैनिकजसो दुर्भाग्यपूर्ण सडक दुर्घटनाहरु भइरहेका छन् । यही महिना चारलेन सडक निर्माणका क्रममै खनिएको खाडलमा परेर एकजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । दर्जनौं दुर्घटनाहरु दोहोरिँंदै आएका छन् ।