सार्वजनिक यातायातलाई लयमा फर्काउन कार्यगत एकता : संयोजक खनाल

  •   
  •  

यातायात व्यवसायी वामदेव खनाल विगत २० वर्षदेखि निरन्तर सार्वजनिक यातायात क्षेत्रमा क्रियाशील व्यवसायी हुन् । वि.सं. २०३० सालमा जन्मिएर २७ वर्षको उमेरमा वि.सं. २०५७ सालमा सार्वजनिक यातायात क्षेत्रमा जोडिएका खनाल वि.सं. २०६१ सालमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको सचिवमा निर्वाचित भए । वि.सं. २०६४ सालमा तत्कालीन राप्ती सार्वजनिक यातायात व्यवसायी समिति र गंगा समिति एक भएपछि बनेको राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरे ।

त्यसपछि निरन्तर राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको सल्लाहकारको भूमिकामा रहेका खनाल पछिल्लो समयमा नमस्ते राप्ती यातायात प्रालिको अध्यक्षको भूमिकामा छन् । सरकारले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट अन्त्य गर्ने नाममा जबर्जस्ती खोलिएका प्रालिहरुबीचको अस्वस्थ प्रतिस्पर्धासँगै पछिल्लो दुई वर्षयता देखिएको विश्वव्याधि कोरोना भाइरसको महामारीका कारण सार्वजनिक यातायात क्षेत्र थला पर्दै आएपछि यसलाई लयमा फर्काउन तथा व्यवसायीलाई उकास्नका लागि दाङमा क्रियाशील यातायात प्रालिहरुबीच कार्यगत एकता पनि भएको छ ।

यो एकतापछि एक डायलमा गाडीहरु लामो रुटमा छुट्न थालेका छन् । विभिन्न नौ वटा प्रालिहरुबीचको कार्यगत एकता र यसले समग्र सार्वजनिक यातायात क्षेत्रमा दिने सन्देश र परिणामका विषयमा केन्द्रित रहेर कार्यगत एकता कार्यदलका संयोजक बामदेव खनालसँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार संक्षेप ।

 दोस्रो लहरको कोरोना संक्रमणपछि भर्खरै सार्वजनिक यातायात चल्न थालेपछि यहाँ क्रियाशील विभिन्न प्रालिहरूबीच कार्यगत एकता भएर एउटै डायलमा सार्वजनिक बसहरू गन्तव्यका लागि प्रस्थान गर्ने व्यवस्था मिलाउनुभएको छ, खासमा कार्यगत एकता केका लागि ?

 खासमा यातायात व्यवसायीहरूबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा, यात्रुमैत्री यातायात सेवाको वातावरण निर्माण तथा लामो समयसम्मको लकडाउनका कारण थलिएको सार्वजनिक यातायात क्षेत्रलाई लयमा फर्काउनका लागि हामी पहिलो चरणमा कार्यगत एकता गरेर एउटै डायलमा गाडी चलाउने अभ्यासमा छौँ । सडकमा जति यात्रुहरूको भोलुम हुन्छ, त्यसकै आधारमा सडकमा सार्वजनिक सवारी साधन निकाल्नुपर्छ भन्ने विश्वव्यापी यातायात मान्यता पनि हो । यसो गर्दा हाम्रा विभिन्न प्रालिहरूले जबर्जस्त रूपमा यात्रु नभएको अवस्थामा पनि सडकमा गाडी कुदाउन बाध्य हुने अवस्था अन्त्य हुने हाम्रो अपेक्षा हो ।

अर्को समस्या भनेको यात्रु नपाएर भौँतारिइरहेको अवस्थामा बसपार्कमै यात्रु तानातानको अवस्था, भाडामा अस्वाभाविक बार्गेनिङ, यात्रु थोरै भएपछि बीचमै यात्रुहरूलाई रोकेर अर्को गाडीमा मेल दिने परम्परालगायतका विभिन्न समस्यालाई सम्बोधन गर्नका लागि हाल हामी दाङ जिल्लामा क्रियाशील प्रायः सबै यातायात प्रालिहरूले कार्यगत एकता गरेका छौँ । अहिले एउटै काउण्टरबाट यात्रुहरूलाई टिकट उपलब्ध गराउने गरेका छौँ । सबै प्रालिहरूमा आबद्ध बसहरूलाई आलोपालो गरी लामो दूरीको यातायातमा खटाउने गरी संयुक्त काउण्टरले काम गरिरहेको छ । अहिले हाम्रो अनुमान अनुसारका यात्रुहरूलाई ओसार्नका लागि काठमाडौंका लागि दैनिक १७ वटा रात्रि बस पठाउन थालेका छौँ ।

यस अघि विभिन्न प्रालिहरूका करिब ३५ वटा बस काठमाडौं जान्थे तर यात्रु बसभरि हुने अवस्था थिएन । त्यसैले अब खाली बस सडकमा गुडाउने अवस्था रहँदैन । जति यात्रु छन् त्यसकै अनुपातमा बस काठमाडौं पठाउने गरी कार्यदलले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । ता कि खाली बस सडकमा गुडाउँदा अनावश्यक रूपमा इन्धन खपतको वृद्धि हुने तथा यसले नेपाली मुद्रा इन्धनका लागि बाहिरी मुलुकमा जाने हुँदा व्यापार घाटाको सन्तुलनमा पनि यसले मद्दत पुग्नेछ भन्ने हाम्रो विश्वास छ ।

 यो कार्यगत एकतालाई यातायात प्रालिहरूबीच मर्जकै अवस्थामा पु¥याउने पनि लक्ष्य हो कि ?

 हो, हामी कार्यगत एकतालाई सबै व्यवसायीहरूको सहअस्तित्व अनुभूति गर्ने गरी थप मजबुत गराउने पनि अभ्यासमा छौँ । कार्यगत एकतालाई विस्तारै हामी व्यावसायिक एकताका रूपमा विभिन्न प्रालिहरूबीच मर्जको अवधारणा पनि ल्याउने अवस्था आउनसक्छ भन्ने यहाँलाई अवगत गराउन चाहन्छु । सहअस्तित्वका लागि सहकार्य लम्बिँदै गयो भने यहाँ क्रियाशील यातायात प्रालिहरू मर्ज भएर एउटै प्रालिमा आउन पनि सक्नेछन् ।

यसलाई सम्भव बनाएर देखाउने हाम्रो लक्ष्य हो । प्रालिहरूबीचको सहकार्य र एकता यो मानेमा पनि अनिवार्य थियो कि समस्त यातायात क्षेत्र पछिल्लो समयमा अस्वस्थ प्रतिस्पर्धाकै कारण धरासायी पनि बन्दै गएको छ । यात्रु नभएको अवस्थामा पनि जबर्जस्त रूपमा प्रालिको इज्जतका लागि भन्दै काठमाडौंलगायतका निर्दिष्ट सहरहरूमा कुदाउनुपर्ने, यसको घाटा स्वयम् यातायात व्यवसायीले व्यहोर्नुपर्ने अवस्था भएकाले पनि हामी बाध्य भएर कार्यगत एकता गरी आलोपालोमा गाडी चलाउनुको विकल्प थिएन । अब एउटै प्रालिमा मर्ज हुने अवस्था आयो भने त कर्मचारी व्यवस्थापनसँगै यातायात सञ्चालनमा पनि सहजता आउनेछ भन्ने हाम्रो विश्वास पनि छ ।

 सार्वजनिक यातायात क्षेत्र अझै पनि यात्रुमैत्री हुनसकेको छैन, सवारी साधनहरूको गुणस्तर, खाना खुवाउने होटलको अवस्था, भद्रगोल टिकट सिस्टमलगायतका विभिन्न समस्या यात्रुहरूले भोग्दै आएका छन् । तपाईं कार्यदलको संयोजकका नाताले यी सबै कुरामा सुधार गर्ने जमर्को गर्दै हुनुहुन्छ ?

 हो, यस अघि डिलक्सको भाडा लिने तर मोडिफाइड डिलक्समा बसाउने, एसीको टिकट थमाएर डिलक्समा बसाउने वा एसी नै नचलाउने, खाना खाने होटलमा स्टाफहरूले भिन्नै खाना खाने र होटलवालासँग कमिशन समेत लिने थुप्रै गुनासाहरू आएका छन् । हामीले यी गुनासाहरूलाइ स्वीकारेको अवस्था पनि हो । तर अब संयुक्त काउण्टरबाट छुट्ने बसका यात्रुहरू र स्टाफहरू सबैले खाना खाने होटलमा एउटै भान्सो खानुपर्नेछ । चालक, परिचालक र सहचालक भिन्नै बसेर खाना खाने छैनन् । सादा खानाको पनि तीन सय रूपैयाँसम्म लिने प्रवृत्ति अब पूर्ण रूपमा अन्त्य हुनेछ । सही समयमा खाना खुवाउने, अनिवार्य रूपमा यात्रुहरूलाई तोकिएको समयमै गन्तव्यमा पु¥याउने लगायतका धेरै सुधारहरू गर्दैछौँ ।

यातायात सेवामा खटिएका स्टाफहरू सुध्रिए÷नसुध्रिएको विषयमा पनि स्थलगत अनुगमन गर्नेछौँ । गाडीको स्वास्थ्य चेकजाँच बसपार्कमै हुनेछ । कुनै पनि यात्रु टिकटबिना यात्रा गर्न पाउने छैनन् । बीचमा चढ्ने यात्रुहरूको पनि बसभित्रै टिकट काटिने व्यवस्था मिलाइने छ । ता कि कण्डक्टरले तोकिएको भन्दा बढी भाडा लिन नपाओस् । यस्तो भएमा यात्रुहरूले सोझै काउण्टरमा आएर कर्मचारीहरूलाई उजुरी गर्नुहुनेछ । हामीले त्यस्ता व्यवसायीलाई क्यू कट्टीसम्मको सजाय दिने निर्णय गरिसकेका छौँ । अर्को कुरा सार्वजनिक यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासाहरू स्टाफले प्रयोग गर्ने भाषाका सन्दर्भमा पनि हो ।

हो, हामीले यात्रुमैत्री यातायात सेवाका लागि बसका स्टाफहरूलाई प्रशिक्षित गर्नेछौँ । हाम्रा स्टाफहरूले यात्रुहरूलाई सभ्य भाषाको प्रयोग गर्नेछन् । सम्भव भयो भने हामीले केही समयपछि हाम्रो दाङबाट चल्ने सार्वजनिक बसहरूमा एउटै लोगो राख्ने तयारी गरेका छौँ । सायद रँगरोगनमा पनि एकरूपता हुनसक्दछ । चालक, सहचालक, परिचालक तथा कर्मचारीहरूलाई भिन्नै पोशाकको पनि व्यवस्थापन गर्ने सोचमा छौँ । मलाई लाग्छ अबको केही महिनाभित्रै यो अभ्यास हामीले सुरु गर्नेछौँ । ता कि हामी हाम्रो यातायात सेवालाई दाङ ब्राण्डेड बनाउने अन्तिम तयारीमा छौँ । यात्रुहरूले बसभित्र छिर्ने बित्तिकै यो दाङको बस भनेर फरक अनुभूति गर्न सक्नेछन् ।

 प्रसंग बदलौँ, सार्वजनिक सडक यातायातलाई सरकारले बेवास्ता गर्दै आयो, अर्थात् उपेक्षा गर्दै आएको छ भन्ने पनि व्यवसायीहरूको आरोप छ नि ?

 यो मैले भनिरहनु पर्दैन । तपाईं आफैले देख्न सक्नुहुन्छ । यही लकडाउनको कुरा गरौं, ५० सिटको जहाजमा चढ्दा कोरोनाको संक्रमण नहुने तर ३०÷४० सिटको बसमा चढ्दा कोरोना संक्रमण व्यापक रूपमा फैलनसक्ने भन्दै सरकारले लकडाउनका समयमा पटक–पटक सार्वजनिक बस यातायात बन्द गरायो । बस त बन्द गरायो तर यात्रुहरूलाई ओसार्न फेरि स्कर्पियोलगायत निजी कारहरूलाई धमाधम पास उपलब्ध गरायो ।

नौ सिटको स्कर्फियोमा ९ जना यात्रु राखेर यात्रा गराइरहँदा कोरोनाको संक्रमण नफैलने तर बसमा मात्रै फैलने ? यो सरकारको कस्तो सोच हो ? तपाईं आफैले बुझ्ने कुरा हो । न सरकार आफैले केही हिस्सा भए पनि सार्वजनिक यातायात चलाउनसकेको छ, न त व्यवसायीहरूलाई आत्मसम्मानका साथ यातायात सेवा चलाउने उपयुक्त वातावरण निर्माण गरिदिएको छ । चाइना सरकारले अनुदानमा दिएका ट्राली बस र जापान सरकारले अनुदानमा दिएका दर्जनौँ साझा बस अहिले कहाँ गए ? सरकारकै स्वामित्वमा चलेका यी यातायात किन कोल्याप्स भए ?

यदि सरकारले यातायात सेवा चलाउन सक्थ्यो भने कम्तिमा अनुदानमा आएका बस त चलाउन सक्नुपथ्र्यो नि । हो, हामी यातायात व्यवसायीहरू पछिल्लो समयमा जारी लकडाउनले अत्यन्तै मर्माहत बनेका छौँ । दुई वर्षको अवधिमा ६ महिना पनि हाम्रा गाडीहरू सडकमा गुड्न पाएनन् । बैंकले भने किस्ता तिर्न ताकेता गर्न कहिल्यै छोडेन ।

रातको बाह्र बजे पनि बैंकबाट यातायात व्यवसायीहरूलाई निरन्तर रूपमा किस्ता तिर्नका लागि फोन आइनै रहेको छ । हामीले लकडाउन अवधिभर किस्ता पछाडि धकेल्न सरकारसँग आग्रह ग¥यौँ, ग्यारेजमा थन्किएका कारण बिग्रिएका गाडीहरू मर्मतका लागि सरकारसँग सहुलियत ऋण माग्यौँ तर सरकारले हाम्रा मागालाई वास्तै गरेको छैन ।

सरकारको यातायात व्यवस्था विभागले यी सवै कुराहरू सम्बोधन गर्न सक्दैन भने यातायात व्यवसायीहरूलाई लयमा फर्काउन भिन्नै स्वायत्त यातायात प्राधिकरण गठन गरोस् भन्ने हाम्रो चाहना हो । राज्यले दिने सेवा हामी निजी क्षेत्रबाट मात्र दिइरहेका छौँ भने सरकारले पनि हामीजस्ता आम यातायात व्यवसायीहरूको मनोभावनालाई सम्बोधन गर्नुको कुनै विकल्प छैन ।