देवराज भण्डारी
तुलसीपुर, ३२ साउन । हप्ता दिनअघि रानीघाट खोलामा आएको बाढीले तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीमा बाटो बगाउँदा पाँच गाँउहरुको आवागमन बन्द भएको छ । खोलामा आएको बाढीले बाटो बगाउँदा घुसेरीदेखि बम्नै, वनहरी, जितपुर, बोकटी, हलवारलगायतका गाउँहरुको आवात–जावत नै रोकेको छ । तुलसीपुर उपमहानगरपालिकासँगै वडा कार्यालयले बेवास्ता गरेपछि आइतवार स्थानीयले सडकको विकल्पको रुपमा साविकको स्थानभन्दा केही पूर्वबाट नयाँ ट्रयाक निर्माण गरेका छन् । जसले गर्दा तत्काललाई हिँड्डुल गर्न सहज भएको घुसेरी थारुगाउँ टोल विकास संस्थाका अध्यक्ष जंगबहादुर चौधरीले बताए ।
‘सडक खोलाले बगाएपछि निर्माणका लागि २÷३ पटक वडा कार्यालय तथा उपमहानगरपालिकामा गयौं तर हप्ता दिन बित्दा पनि कसैले चासो दिखाएनन्’, अध्यक्ष चौधरीले भने– ‘त्यसैले अहिले गाउँले आफै सडक मर्मतमा जुटेका छौँ ।’ तुलसीपुर उपमहानगरपालिका तथा वडा कार्यालयबाट तत्काल बाटो निर्माण हुने नदेखेपछि स्थानीय आफैले सडक मर्मत गरेका हुन् । बाटो नहुँदा गाउँमा स्थानीयलाई हिँड्नै समस्या हुने भयो तर सम्बन्धित निकायलाई खवर गर्दा समय लाग्ने बताएपछि स्थानीय आफैले तत्काल सडकको विकल्पका रुपमा नयाँ बाटो निर्माण गरेको उनले बताए ।
गाउँमा कोही बिरामि हुँदा पनि साह्रै समस्या हुने हुँदा अरुको मुख ताक्नुभन्दा आफैले गरेर भए पनि बाटो मर्मत गरी यातायात सुचारु गर्न लागेको स्थानीय टोपबहादुर विकले बताए । ‘सरकारले बिग्रिएको बाटो हेर्दै गर्ला तर हामी स्थानीयले भत्किएको बाटो हेरेर बस्न सकेनौ’, उनले भने– ‘जसरी भए पनि बिग्रिएको बाटो बनाउनुपर्छ भनेर सबै गाउँले लागेर बिकल्पका रुपमा नयाँ सडक निर्माण गरेका छौँ ।’
उनले ठूला गाडी नभए पनि वर्षाको समयमा मोटरसाइकल, अटो र एम्वुलेन्ससम्म हिँड्न मिल्ने सडक बनाएको बताए । जसले गर्दा गाउँमा तत्काल कोही बिरामी हुँदासमेत अस्पतालसम्म लग्न सक्ने सडक निर्माण भएको उनले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य रामवहादुर जिसीले आफूले खोलाले बगाएको सडक निर्माणका लागि पहल गरिरहेको भए पनि प्राविधिक कारणले समस्या भएको बताएका छन् ।
‘खोलाले सडक बिगारेपछि त्यो मर्मतका लागि वडा कार्यालय तथा उपमहानगरपालिकाबाट निर्माणको लागि पहल भइरहेको छ’, वडा सदस्य जिसीले भने– ‘सरकारी काम भएकाले केही प्राविधिक कारण सडक निर्माणमा ढिलाई भएको छ ।’ उनले वडा कार्यालय तथा उपमहानगरपालिका तर्फबाट काम गर्दा प्राविधिक कठिनाई भएपछि बिग्रिएको सडक निर्माणका लागि व्यक्तिगतरुपमा आइतवार दिनभरि एउटा डोजर र दुईवटा ट्याक्टर सडक मर्मतका लागि व्यवस्था गरिदिएका छन् । आफूले पाउने दुई महिना बराबरको रकमले उक्त गाडीहरु सडक निर्माणमा लगाएको जिसीले बताए ।
‘कार्यालयका तर्फबाट काम नभए पनि मैले व्यक्तिगत रुपमा भए पनि डोजर र टेक्टर पठाएर जनताको सहजताका लागि काम गरेको छु’, वडा सदस्य जिसीले भने– ‘जनप्रतिनिधि भएपछि समस्याबाट भाग्न सकिनँ, व्यक्तिगतरुपमा भए पनि खर्च ब्यहोरेर जनताको काम गरे ।’ उनले आगामी दिनमा समेत यस्ता कामहरु गरिरहने बताएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसीले बाटो बिग्रिँदा जनताको दैनिकीमा परेको प्रत्यक्ष असरलाई नजिकबाट बुझे पनि वडामा पर्याप्त प्राविधिक स्रोतसाधन र बजेट नहुँदा सडक मर्मत गर्न नसकेको बताएका छन् । तर आफूले तुलसीपुर उपमहानगरपालिका तथा प्रदेश सरकारसँग सडक मर्मतसँगै खोलामा पुलको व्यवस्था गर्न माग गरिरहेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको स्वामित्वमा डोजर, स्काभेटर, टिप्परलगायत दर्जन बढी मेसिनहरु भए पनि वडाध्यक्ष केसीले भने ती मेसिनहरु अवरुद्ध सडक निर्माणका लागि उपमहानगरपालिकामा पहल गर्न नसकेको स्थानीयबासीहरुले आरोप लगाएका छन् ।