खेमराज रिजाल
लालमटिया (दाङ), ३२ साउन । शनिवार रातभरी झरी परिरहँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिकाको पाखापानी क्षेत्रको सडकमा धान रोप्न लायकको पानी थियो वा माछा मार्न लायकको पोखरी बनेको थियो । सवारी चालकहरुले सरकारलाई सराप्दै सडकका खाडलहरु छिचोल्ने प्रयास गरिरहन्थे तैपनि जोगिदैनथे सवारी साधनहरु ।
सशस्त्र प्रहरी वेशक्याम्प नजिकै रहेको पाखापानी बजारको परीदृश्य थियो यो । निर्माणका वेला सडक उचो थियो, विस्तारै बस्ती बस्दै गएपछि सडक वल्लो पल्लो किनारामा घरहरु बने । घरधनीले सडक भन्दा माथि उचाइसम्म भवन बनाएपछि पानी सवै सडकमै वग्न थाल्यो । भालुवाङ देखि लमही सम्म राजमार्ग खण्डमा यसरीनै सडकमा पानी आउन थालेको छ । बस्ती बसेको स्थानमा माटो भर्दै गएपछि सडक नाला जस्तै बनेको छ । २५ किमिको दुरीमा सयौं खाडलहरु परेपछि यात्रा कष्टकर बनेको यातायात व्यवसायी तथा एवं चालक समेत रहेका भीमबहादुर डाँगीले बताए ।
‘हामी जब दाङ जिल्लाको राजमार्ग प्रवेश गछौं, धानखोलादेखि लमही हुँदै तुलसीपुरसम्मै यस्तै परिदृश्यहरु देखिन्छन्, एक टिप दाङ–काठमाडौँको यात्रा गर्दा बसको कुनै न कुनै पार्ट नबिग्रिएको नै हुँदैन’, डाँगी भन्छन्– ‘हामीले सडक बोर्ड नेपालर्लाइ तिरेको पैसाको सदुपयोग कहाँ हुन्छ कुन्नी ? डाँगी एक्ला चालक होइनन्, मंगल नेपाली पनि यस्तै भुक्तभोगी सवारीचालक हुन् । उनी पनि दैनिक जसो दाङ–काठमाडौँको यात्रा गरिरहँदा हायस गाडीलाई निकै सास्ती हुने गरेको बताउँछन् ।
‘अन्यत्र मर्मत र विस्तार भइरहेका बेला समस्या हुनु स्वाभाविकै हो, तर दाङमा त मर्मत र विस्तार भइरहेको अवस्था पनि देखिँदैन, सरोकारवाला कार्यालय कहाँ छ ? हामी सवारी चालकहरुलाई थाहा छैन’, मंगल भन्छन् । मुकेश नेपालीको पनि भोगाइ यस्तै छ । एक टिप दाङ–काठमाडौँ भ्याएपछि गाडी मर्मतका लागि ग्यारेजमा नलगेको अवस्थै छैन । सडक किनारा तोडमरोड भएका छन् । बीचैमा भीमकाय खाल्डाखुल्डी । बर्षातमा हिलाम्मे र जलाम्मे । हिउँदमा धुलाम्मे । यी परिदृश्यहरुले विभिन्न सडक कार्यालयका अधिकारीहरुर्लाइ गिज्याइरहेका छन् ।
पहिले सबै राजमार्ग र सहायक राजमार्ग सडकको मर्मत सम्भार, सडक विस्तारलगायतका सबै काम डिभिजन सडक कार्यालयमार्फत हुन्थे तर पछिल्लो समय मुलुकमा संघीयता आएसँगै राजमार्ग सडक डिभिजन सडकको स्वामित्वमा, केही सहायक राजमार्ग प्रदेश सडकको मातहतमा त केही सडक सघन शहरी विकास कार्यालयको मातहत र भौतिक पूर्वाधार कार्यालयको मातहतमा । जब सडकमा समस्या आउँछ, कुनै पनि अभिभावकत्व ग्रहण गर्ने कार्यालयका नत प्राविधिकहरु सडकमा उपलब्ध हुन्छन्, नत सडकमा खाल्डाखुल्डी पुर्ने सडक श्रमिकहरु नै ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको धानखोलादेखि शिवखोला क्षेत्र, अमिलियादेखि तुलसीपुर हुँदै सल्यानसम्मको सडकको मर्मत सम्भार तथा स्तरोन्नतिको जिम्मा डिभिजन सडक कार्यालयलाई दिइएको छ । लमहीदेखि तुलसीपुर सम्मको पुरै सडक मर्मत तथा स्तरोन्नतिको जिम्मा चारलेन सडक परियोजनालाई दिइएको छ । सहायक राजमार्गबाट गाउँहरु जोड्ने सडकहरु प्रदेश सडक कार्यालयको जिम्मामा रहेका छन् भने दाङ जिल्लामा रहेका ग्रामीण सडकहरु भौतिक पूर्वाधार कार्यालयको मातहतमा रहेका छन् । लमही–कोइलाबास सडकखण्ड हुलाकी सडक परियोजनाको मातहतमा रहेको छ भने घोराही–होलेरी सडकखण्ड शहीद मार्ग परियोजनाको मातहतमा रहेको छ । तर जुन सडक जसको जिम्मामा रहेको भनिए पनि ती सडकहरुले संरक्षकत्व पाएका छैनन् ।
पूर्व मेचीदेखि पश्चिम महाकाली जोड्ने एकमात्र महेन्द्र राजमार्गभित्र पर्ने दाङको लमही–भालुवाङ सडकखण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँदेखि लमहीसम्मको सडक कालोपत्रे भएर सुधार आए पनि पहरुवा देखि भालुवाङसम्मको सडक मर्मत नहुँदा ठूःठूला खाडल बन्दै जान थालेको स्थानीयबासीहरुले बताएका छन् ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दुर्दशाले सवारीचालक र स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । ठूलाठूला खाडल भएर पानीपोखरी बन्दासम्म प्रदेश सरकार र स्थानीय सरकारसहित सडक डिभिजन कार्यालयले त्यसतर्फ ध्यान नदिँदा अहिले दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीय तथा सवारी चालकहरुको भनाइ रहेको छ । उक्त सडकमा हजारौँ साना–ठूला गाडीहरु ओहोर–दोहोर गर्ने गर्दछन् तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन् ।
‘सबै सडक क्षतविक्षत भएपछि हामीलाई नै ताकेता गर्ने गरिएको छ तर पछिल्लो समयमा हाम्रो जिम्मेवारी केही खुम्चिएको छ, हामीले हेर्ने भनेको पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि पश्चिम शिवखोलासम्म र अमिलियादेखि तुलसीपुर हुँदै सल्यान रुकुमसम्म मात्रै हो’, डिभिजन सडक कार्यालय घोराहीका डिई निरज शाक्य भन्छन् । उनले आफ्नो कार्यक्षेत्रमा रहेको सडक बर्षात सकिएलगत्तै मर्मत गर्ने बताएका छन् । सो क्षेत्रमा रहेको सडक जति बिग्रिएको छ, त्यो असार महिनायता मात्र भएको भन्दै यो क्षेत्रलाई बर्षात सकिएलगत्तै मर्मत गर्न डिभिजन सडक कार्यालय घोराहीले तयारी गरिरहेको बताएको छ ।
सुरुमा सडक निर्माण गर्दा जमिनको सतहभन्दा निकै माथि सडक बनाइएको तर पछिल्लो समयमा बस्ती विकास हुँदै जाँदा दुवै किनारामा फिलिङ गरिँदै आएपछि बर्षातको सबै पानी सडकमै बग्ने गरेकाले समस्या देखिन थालको पनि उनको अभिव्यक्ति थियो । सडक किनारामा भवन बनाउनेहरुले वाइपास नाला बनाउने प्रबृत्ति नहुँदा पछिल्लो सडकमा सडक नै नाला बन्दै आएको सडक प्राविधिकहरुले बताएका छन् ।
चारलेनको हरिबिजोग
यससँगै बर्षातको समयमा घोराही–तुलसीपुर चारलेन सडकको झनै हरिविजोक भएको छ । सडकका वल्लो पल्लो किनारा दिनदिनै बर्षातका कारण भत्कँदै आए पनि ती किनारामा माटो भर्ने सडक श्रमिकहरुसमेत छैनन् । यसअघि डिभिजन सडकले मासिक पारिश्रमिक भुक्तानी दिँदै सो सडकमा सडक श्रमिकलाई काम लगाउँदै आएको थियो तर सो सडकको स्वामित्व चारलेनमा गाभिएसँगै मजदुरहरु पनि चारलेनमै हस्तान्तरण भए । केही समय ती मजदुरहरुले काम गर्दै आएका थिए तर चारलेन परियोजना र निर्माण कम्पनी दुवैले पारिश्रमिक दिन नचाहेपछि ती श्रमिकहरु पनि सडकबाट बाहिरिएका हुन् ।
‘सडक स्तरोन्नतिका क्रममा रहेकाले ती श्रमिकको भुक्तानी निर्माण कम्पनीले नै दिनुपर्ने सर्त हो, सडक स्तरोन्नतिको काम पूरा भएर सरकारलाई हस्तान्तरण गरेपछि मात्रै सडक श्रमिकको व्यवस्थापन परियोजनाले गर्ने छ’, चारलेन सडक परियोजनाका डिई पारश हमालले गोरक्षलाई भने । तर परियोजनाका आधिकारिक प्रतिनिधिहरु विगत एक बर्षदेखि सडक स्तरोन्नतिको काममा छैनन् ।
जसका कारण चारलेन सडक दिनदिनै दुर्घटनाको उच्च जोखिमको क्षेत्र बन्दै आएको छ । चारलेन सडकको यो हवीगत हुँदा यहाँका कुनै पनि जनप्रतिनिधि तथा स्थानीय सरकारका प्रतिनिधिहरुले एक शब्द पनि आवाज उठाउन सकेका छैनन् । सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले चारलेनको काम केही दिनभित्रै सुरु हुने बताए पनि निर्माण कम्पनीका प्रतिनिधि काममा आएका छैनन् ।