अमरराज आचार्य
दाङ, ३२ साउन । पछिल्लो समय कागजको झोलाको माग बढ्दै गएको थियो तर कोभिडको कारण अहिले माग घट्दै गएको छ । कोभिडले हरेका क्षेत्रमा पारेको प्रभावले गर्दा माग पनि घट्दै गएको कागज उद्योगका सञ्चालक बताउँछन् । घोराहीमा रहेको शान्ति पेपर व्याग उद्योगले २०७४ भदौ १ गतेबाट उत्पादन सुरु गरेको थियो । अहिले कागजको झोलाको माग बढदै गएको उद्योगका सञ्चालक अमितसिंह ठकुरीले जानकारी दिए । पछिल्लो समयमा कोभिडको कारण केही भने घटेको उनको भनाइ रहेको छ ।
झोलाको माग जिल्लामा मात्र नभई जिल्लाबाहिर समेत हुने गरेको थियो । अहिले जिल्लाभित्र मात्रै माग हुने गरेको छ । ‘अहिले स्थानीय बजारका मात्र माग हुने गरेको छ’, उनले भने । झोला पहिले जिल्लाका शहरहरु घोराही, तुलसीपुर, नारायणपुरलगायत स्थान तथा जिल्ला बाहिर पोखरा, धनगढी, मोरङ, बीरगञ्ज, जनकपुरसम्म पठाउने गरेको ठकुरीले बताए । कोभिडको कारण बाहिरबाट माग नआएका कारण नपठाइएको उनी बताउँछन् । ‘मागअनुसार हामीले उत्पादन गरेर बाहिरी जिल्लासम्म पठाउने गरेका थियौं, अहिले कोभिडको कारण रोकिएको छ’, ठकुरीले भने ।
दैनिक २ हजार ५ सय बढी झोला उत्पादन गर्ने क्षमता रहेको उनको भनाइ रहेको छ । तर अहिले उत्पादन क्षमताअनुसार उत्पादन भने नभएको उनले बताए । ‘विभिन्न समस्याका कारण अहिले क्षमता अनुसार झोला उत्पादन गरेका छैन’, ठकुरीले भने । कागजबाट उत्पादन भएको झोलाको मूल्य साइजअनुसार ७ रुपैयाँदेखि १० रुपैयाँसम्म पर्ने उनले बताए । झोलामा ३ देखि ५ सम्म केजीसम्म बोक्न सकिने छ । झोलामा कम्पनीहरुले आफ्नो नाम राखेर छाप्न सक्ने ठकुरीले बताए ।
सुरुका दिनमा हातले उत्पादन सुरु गरेका उनले अहिले मेसिनबाट उत्पादन गर्न सुरु गरेका छन् । ‘मेसिनबाट झोला उत्पादन गर्न थालेपछि सहजता भएको छ’, ठकुरीले भने । सुरुका दिनमा धेरै चुनौतीहरु आएको उनले बताए । चुनौतीहरुलाई सामना गर्दै अगाडि बढेको उनको भनाइ छ । सुरुमा सार्थीहरुसँगै मिलेर सञ्चालनमा ल्याए पनि अहिले उनी एक्लै उद्योग सञ्चालन गर्दै आएका छन् । ‘साथीहरुले छोड्दै जानुभयो अहिले एक्लै सञ्चालन गर्दै आएको छु’, ठकुरीले भने । कतिपयले ती ब्यागहरु लगेको र अहिलेसम्म पनि पैसा भुक्तानी गरेको उनको गुनासो छ ।
‘ऋण लिएर सुरु गरेको उद्योगमा काम गरेको रकम नपाउँदा थप समस्या परेको थियो’, ठकुरीले भने । उनले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका छन् । प्लाष्ट्रिकको विकल्पमा यसको प्रयोग गर्नुपर्दछ भनेर आफू कागजको झोला उद्योगतर्फ आकर्षण भएको उनले बताए । ‘प्लाष्टिकको अत्यधिक प्रयोगले बातावरण प्रदूषणसमेत भएको छ’ ठकुरीले भने । यसको विकल्पमा कागजको झोला प्रयोग गर्न समेत उनले आग्रह गरेका छन् । प्लाष्टिकको झोलाभन्दा रकममा केही महंगो भए पनि वातावरणको हिसावले राम्रो उपयुक्त रहेको उनको भनाइ छ ।
आफ्नो स्थानमा नै केही नयाँ काम गर्नुपर्दछ भनेर यसतर्फ लागेको उनको भनाइ छ । जागिरको खोजीमा हिँड्नुभन्दा आफैले केही गर्नु पर्दछ भनेर परिवारको सल्लाहमा नै उद्योग सुरु गरेका थिए । यस क्षेत्रमा यस प्रकारको उद्योग नरहेको समेत ठकुरीको दावी रहेको छ । ‘यस क्षेत्रमा कागजबाट झोला उत्पादन गर्ने उद्योग पहिलो उद्योग हो’, ठकुरीले भने । आफू भारतमा बस्दा कागजको झोला निर्माण गरेको देखेको र नेपालमा पनि यस प्रकारको काम गर्न सकिन्छ भनेर सुरु गरेको उनी बताउँछन् ।
उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ भने भारतबाट ल्याउने गरेका छन् । भारतबाट कच्चा पदार्थ ल्याउनुपर्दा समयमा आई नपुग्ने समस्या रहेको बताए । ‘माग गरिए पनि समयमा कच्चा पदार्थ आउँदैन यसले धेरै समस्या बनाउँछ’, ठकुरीले भने । कच्चा पदार्थ आउन ढिला हुँदा अर्डर आएको समयमा प्रदान गर्न नसकिने गरेको बताए । उनले यसरी सञ्चालन गरेको उद्योगका लागि हालसम्म कुनै पनि निकायले सहयोग नगरेको उनको भनाइ रहेको छ । ‘हालसम्म कसैबाट पनि केही सहयोग प्राप्त भएको छैन’, ठकुरीले भने । सहयोग प्रदान नगरे पनि बातावरण प्रदूषण रोक्नका लागि सहयोग मिल्ने कार्य भएकाले प्रोत्साहन गर्न उनको आग्रह रहेको छ ।