दाङ, ३१ साउन । घोराही उपमहानगरपालिका–१९ त्रिसाङ निवासी कोइलाखानी पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । घोराही उपमहानगरपालिका–१९ राम्चेमा रहेको ताम्पानी काइलाखानीमा पुरिएर श्रीमान गुमाएकी त्रिसाङ निवासी शान्ति कामीलाई आर्थिक सहयोग गरिएको हो ।
लमजुङको तारकुघाट स्थायी घर भई हाल इजरायलमा रहेका बिमलादेवी पन्तले पठाएको १० हजार र कञ्चनपुर जिल्ला महेन्द्रनगर निवासी सुशील पाण्डेले पठाएको ५ हजार गरी नगद १५ हजार रुपैया नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले घोराही उपमहानगरपालिका–१९ का वडा अध्यक्ष हर्कबहादुर घर्तिको उपस्थीतिमा मृतककी श्रीमति शान्तिलाई हस्तान्तरण गरेका हुन ।
शान्तिका श्रीमान मोहनलाल कामीको गएको फागुन १० गते कोइला खन्न खानीभित्र पसेको अवस्थामा खानीभित्र भत्किदा मृत्यु भएको थिो । श्रीमानको मृत्यु भएपछि घर व्यवहार चलाउन समस्या परेको उनले बताइन । ‘घरको आम्दानीको श्रोत छैन, श्रीमान हुँदा उहाँले कमाएको पैसाले घर व्यवहार चलाउने हुन्थ्यो’–उनले भनिन्–‘श्रीमानको मृत्यु पछि कमाउने घरमा कोही छैन् । सहयोगबाट प्राप्त रकमले दैनिकी चलेको छ ।’
विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा ५ जनाको परिवारको जीवन चलिरहेको शान्तिले बताइन । उनका अनुसार आफुसहित परिवारमा १३ बर्षीय र ६ बर्षीय दुई छोरा र ११ र ७ महिने काखमा छोरी रहेकी छिन् । ३ छोरीहरु मध्य जेठी छोरीको विवाह भैसकेको छ । श्रीमान वितेपछि कोइलाखानी उद्योगले किरिया खर्चबाफतको १ लाख र त्यसपछि चार लाख गरी पाँच लाख रुपैया सहयोग उनका आफन्ती कमानसिंह कामीले बताएका छन् । उनका अनुसार पीडित परिवारले विमा बाफतको पैसा पाउन सकेको छैन ।