थारु कल्याणकारिणी सभाको अधिवेशन फागुनमा

घोराही ३१ साउन । थारु कल्याणकारिणी सभा दाङले आगामी फागुनमा जिल्ला अधिवेशन गर्ने भएको छ ।

जिल्ला सभापति भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण चौधरीको प्रमुख आतिथ्यमा आइतवार घोराहीमा बसेको पुर्ण बैठकले आउने फागुनमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी मंसिरसम्म जिल्लाका वडा समिति, माघसम्म पालिका र क्षेत्रीय समिति गठन गरिसक्ने निर्णय गरेको छ । यसैगरि बैठकले यही भदौ ७ गते घोराही १७ मा निर्माण गरेको नवनिर्मित भवनको बिहान उद्घाटन गर्ने र दिउँसो टिकापुर घटनाको विषयमा केन्द्रित जिल्ला प्रशासन कार्यालय दाङमार्फत एक ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश सरकारवाट विनियोजित ७० लाख रकमवाट घोराही उपमहानगरपालिका वडा नं ८ सौरीमा मटावाँ सभा भवन बनाउनका लागि सभाका अध्यक्ष भुवन चौधरीको संयोजकत्वमा उपाध्यक्ष रामपति चौधरी, सचिव प्रकाश चौधरी र सदस्यहरु दिपक चौधरी, सविता चौधरी , बसन्ती चौधरी र श्रीराम दहित रहेको ७ सदस्यीय समन्वय समिति गठन गरेको छ ।

बैठकले श्रीकृष्ण जन्माष्टमी (अस्टिमकी) पर्वको शुभकामना आदान प्रदान कार्यक्रम देउखुरीमा भदौ १२ गते सम्पन्न गर्नको लागि उपाध्यक्ष रामपति चौधरीलाई जिम्मेवारी दिएको बैठक पछि सभाका सचिव प्रकाश चौधरीले जानकारी दिएका छन् ।