कार्यगत एकता : समृद्ध यातायातको सुरुवात

खेमराज रिजाल

तुलसीपुर, ३१ साउन । तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैकी सिर्जना पण्डितलाई काठमाडौं छुट्ने बसको टिकट लिन बसपार्कमा काउण्टर सोधिरहनु परेन, न त उनलाई कुन प्रालिको बस भनेर नै सोध्नुप¥यो । सरासर काउण्टरमा पुगेर उनले टिकट काटिन्, काठमाडौंको । बस छुट्ने बेला पनि उनलाई बसका यातायातका कर्मचारीले विनम्रतापूर्वक उनको बस देखाइदिए । तोकिएको समयमा बस काठमाडौंका लागि छुट्यो । करिब–करिब अनुमान गरिएकै समयमा बस काठमाडौं पुग्यो पनि ।

सोही बसमा सँगसँगै शिला रिजालले पनि यात्रा गरिन् । ‘संयुक्त बुकिङ काउण्टरमा काटिएको टिकटमा संयुक्त यातायात प्रालि लेखिएको थियो, बसमा खलासी, कण्डक्टरले पनि यसपालि अलि राम्रै व्यवहार गरे’, शीलाले काठमाडौंबाट फर्केपछि भनिन् । उनको भनाइमा अहिले काठमाडौं बसपार्कमा पनि यात्रु तानातानको अवस्था रहेनछ, गाडी भेटाउन अप्ठेरो पनि रहेनछ । किनकि अहिले सीमित मात्रामा यात्रुको आवश्यकताअनुसार मात्रै सार्वजनिक यातायात चल्ने रहेछन् । ‘कलंकीमा चढ्ने यात्रुहरूबाट पनि टिकट काटिएको थियो, भाडामा कुनै तलमाथि थिएन’, शीलाले भनिन्, ‘यति भएपछि त सबैलाई समान भाडा पनि भयो ।’

सिर्जना र शीलालाई मात्र होइन, अहिले सबै यात्रुहरूलाई यस्तै सहज भएको छ । भाडामा कुनै पनि बार्गेनिङ गर्नुपरेको छैन । सबैलाई भाडामा एकरूपता छ । कसैलाइ खाना खुवाएर आधा भाडामा काठमाडौंमा पु¥याउने त कसैलाई फूलभाडा तिरेर पनि आफूले काटेको टिकट अनुसारको सिटमा नबसाउने अवस्था अब रहेनछ’, शीलाले भनिन् । शीलाको अनुभूति आम यात्रुहरूको प्रतिनिधिमूलक अनुभूति हो । प्रायः सबै यात्रुहरूलाई अहिले सार्वजनिक यातायात सेवामा सहजता आएको अनुभूति हुनथालेको छ । ‘एसी गाडी भनेर हल्ला गर्ने, डिलक्स बसमा चढाउने, डिलक्स बस भन्ने तर नर्मल गाडीमा चढाउने अवस्थाको पनि अन्त्य भएको रहेछ’—अर्का एक जना यात्रुले भनिरहेका थिए, ‘बसवालाहरूले ढाँट्ने अवस्था पनि अब रहेको देखिएन ।

पटक–पटक एक डायल सिस्टममा सवारी चलाउने तथा यातायात प्रालिहरू मर्ज गर्ने अभियानमा जाने सोचाइमा व्यवसायीहरू रहे पनि सार्थक हुन नसकेको यो अभियान पछिल्लो समयमा भएको कार्यगत एकताले सफल भएको छ । यातायात व्यवसायीहरूबीच कार्यगत एकता भएपछि अहिले दाङका बसपार्कहरूमा अनावश्यक रूपमा सार्वजनिक बसहरूको भीडभाड देखिन छाडेको छ । जति यात्रुहरू छन्् त्यसकै आधारमा संयुक्त काउण्टरले काठमाडौंलगायत अन्य बाहिरी जिल्लामा चल्ने सार्वजनिक बसहरूको संख्या निर्धारण गर्ने गरेको छ ।

सडकमा यात्रुहरूको चापअनुसार मात्रै गाडी सडकमा निकाल्ने, अनावश्यक रूपमा यात्रु नै नपाएर पनि काठमाडौंसम्म पुग्नुपर्ने यातायात व्यवसायीहरूको बाध्यतालाई हटाउने, भाडामा एकरूपता कायम गर्ने तथा यातायात क्षेत्रमा सभ्य भाषाशैलीको अभ्यास समेत गर्ने÷गराउने उद्देश्यले यसै सातादेखि दाङ जिल्लामा क्रियाशील सबै प्रालिहरूले संयुक्त काउण्टर सञ्चालनमा ल्याएका छन् । यसले आफ्नो बसमा यात्रुहरूलाई जवर्जस्ती तान्ने र आफ्ना प्रालिहरूमा जवर्जस्ती रूपमा टिकट कटाउने प्रवृत्तिको पनि अन्त्य भएको छ ।

‘हामी पछिल्लो समयमा राज्य पक्षबाट समेत निकै उपेक्षामा परेका छौँ, त्यसैले कम्तिमा पनि इन्धन खपतको अवस्था कम गराउन र यातायात व्यवसायीहरू रित्तै गुड्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले पहिलो चरणमा कार्यगत एकता गरेका हौँ’—नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार तथा त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका अध्यक्ष सुरेश हमाल भन्छन् । उनको भनाइमा यो एउटा कार्यगत एकता नभएर यातायात प्रालिहरू मर्जको पनि संकेत हो । ‘खाना खुवाएर आधा भाडामा लैजान्छौँ हाम्रोमा बस्नुस् भन्ने अवस्थाको अब पूर्ण रूपमा अन्त्य भएको छ, बसभित्रै पनि टिकट काट्ने अभ्यास सुरु हुनेछ’—अध्यक्ष हमालले भने, ‘यसबाट यातायात क्षेत्रमा लगानी गर्ने व्यवसायीहरू समेत आफू ठगिएको छैन भन्नेमा विश्वस्त बन्न सकून्’, हमाल भन्छन्, ‘अब सडकमा यात्रुहरूको भोलुम अनुसार मात्रै सार्वजनिक बसहरू गुड्ने छन् ।’

अम्बिकेश्वरी सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य ज्ञानबहादुर बस्नेतले यात्रुमैत्री तथा व्यवसायीमैत्री यातायात सेवाका लागि यो एकता भएको अभिव्यक्ति दिएका छन् । ‘भाडामा अनावश्यक रूपमा बार्गेनिङ हुनेछैन, डिलक्स भनेर नर्मल गाडीमा बसाइए यात्रुहरूले पनि सोझै संयुक्त काउण्टरमा कम्प्लेन गर्न सक्नुहुनेछ’–अध्यक्ष हमाल भन्छन्, ‘हामीले यसका लागि आन्तरिक अनुगमन समिति समेत बनाइसकेका छौँ, ठाउँ–ठाउँमा छड्के अनुगमन हुनसक्ने छ ।’

यातायात क्षेत्रमा देखिएको सिण्डिकेट तोड्ने बहनामा सरकारले जथाभावी रूपमा प्रालि सञ्चालन गर्नदिने अवधारणा ल्याएपछि बस नभएका व्यवसायीहरूका नाममा पनि मुलुकभर यातायात प्रालिहरू सञ्चालनमा आउन थालेपछि बास्तविक रूपमा बसमा लगानी गर्ने व्यवसायीहरू भने डुबेका छन् । अझ पछिल्लो दुई वर्षयता कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउनमा बसहरू सडकमा आउनै नपाएपछि बैंकबाट ऋण लिएर बस किनेका व्यवसायीहरूलाइ किस्ता तिर्नै मुस्किल भएको छ । सरकारले केही स्थानमा आलोपालो बस चलाउँदै आएका व्यवसायीहरूलाई पनि सिण्डिकेटधारीको बिल्ला भिराउँदै आएपछि नेपालमा सार्वजनिक यातायात सेवा नै यात्रुमैत्री बन्न सकिरहेको छैन ।

आफूहरूले लगानी गरेको सार्वजनिक यातायात क्षेत्र आफैले सुधार्दै लगानीको प्रतिफल सुरक्षित गर्ने उद्देश्यले दाङ जिल्लामा क्रियाशील कम्तिमा ९ वटा यातायात प्रालिहरूबीच कार्यएकता भएको कार्यएकता उपसमितिका संयोजक प्रकाश भट्टले जानकारी दिएका छन् । यही उपसमितिकै समन्वयमा संयुक्त काउण्टरबाट आलोपालो काठमाडौंलगायत अन्य जिल्ला र स्थानीय रूटमा समेत यातायात सञ्चालन हुने बताइएको छ ।

संयुक्त कार्यदलकाअनुसार हाल पहिलो चरणमा काठमाडौंका लागि बढीमा १७ वटा बस छुट्ने छन् । यात्रुहरूको चाँप बढेको अवस्थामा बसको संख्या पनि थपिने संयुक्त यातायात प्रालिका संयोजक बामदेव खनालले बताएका छन् । ‘हामी सबै यातायात व्यवसायीहरूलाई बिना भेदभाव आलोपालोमा सम्बोधन गर्ने छौँ, यात्रुहरूको मागका आधारमा मात्रै सडकमा यातायात साधनहरू सडकमा आउनेछन्, रित्तै गुडाएर इन्धन सक्ने अवस्था अब रहने छैन’, संयोजक खनालले भने ।

संयुक्त काउण्टरमा दाङ जिल्लामा क्रियाशील त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, नमस्ते राप्ती प्रालि, अम्बिकेश्वरी यातायात प्रालि, तुलसीपुर टेक्सी तथा डिलक्स प्रालि, कालीका मालीका यातायात प्रालि, राज यातायात प्रालि, राप्ती यातायात सेवा प्रालिलगायतका प्रालिहरू जोडिएका छन् । संयुक्त काउण्टरबाटै यी सबै प्रालिहरूका गाडीहरूलाई आलोपालो काठमाडौंलगायतका अन्य रूटहरूमा पठाइने बताइएको छ । तोकिएको समयमा छुट्ने, तोकिएको समय र स्थानमै खाना खुवाउने, टिकट नकाटेरै यात्रुहरूलाई यात्रा नगराउने तथा निर्धारित समयमा गन्तव्यमा पुग्ने गरी यातायात सेवा सञ्चालनको तयारी भइसकेको पनि संयोजक खनालले बताएका छन् ।