युधिष्ठिरको चिन्ता भीष्मको उपदेश

राधेश्याम उपाध्याय

फेरि युधिष्ठिरले शुक्राचार्य ज्ञानी थिए तर पनि दैत्यका गुरु भएर सदैव देवगणसँग वैरत्व राखिरहे । यो सुनेर भीष्मले भने ‘हे बाबु ! परापूर्वकालमा दानवहरुले पृथ्वीलाई जिति स्वर्ग हमला गर्न गए । देवताहरु रिसाई उनीहरुको नास गरे । युद्धमा आफ्ना हार देखेर केही दानव आफ्नो प्राण बचाउन भृगुऋषिको आश्रममा भृगुपत्नीसँग शरणमा आए ।

भृगुपत्नीले पनि सबै कुरा बुझेर आफ्ना शरणमा आएकालाई शरण दिनु पर्दछ र आफूले सकेसम्म उनीहरुको प्राणको रक्षा गर्नु पर्दछ भनी उनीहरुलाई आफ्नो आश्रममा शरण दिई भित्र बस्न भनिन् । केही समएपछि देवताहरु उनीहरुको खोजी गर्दै आए र ती दानव हाम्रा शत्रु हुन् तिनीहरुलाई आश्रमदेखि बाहिर निकालि हामीलाई दिनुहोस्, हामी मार्छौँ भन्न लागे । यो सुनेर भृगुपत्नीले शरणमा आएकाको रक्षा गर्नु भेरो कर्तव्य हो, म दिँदैन भनिन् । यो सुनेर देवताहरु श्रीहरि विष्णुकहाँ गए ।

देवताहरुले विष्णुकहाँ गई विष्णुलाई पुकारा गरी खुसी पारी सँगै लिई भृगु आश्रममा आए । श्रीहरि विष्णुले भृगुपत्नीसँग दानवहरु पापी, अत्याचारी हुन्, उनीहरु आफ्नो स्थानमा नबसी स्वर्गमा युद्ध गर्न आएका हुन् । यिनीहरुलाई अहिले जीवन दान दिए पुनः अत्याचार र पाप गर्नेछन् । त्यसैले यिनीहरुलाई मार्नु नै जीवन र जगतको भलो हुने भएकाले यिनीहरुलाई तिमी शरण नदिई बाहिर निकाल । यो सुनेर भृगुपत्नीले शरणमा आएकाहरुको प्राण रक्षा गर्नु मेरो कर्तव्य हो प्रभु ! म दिन सक्दैन ।

यो सुनेर विष्णुले पनि मेरा भक्त (देवता) का लागि मैले यिनलाई मार्नुपर्दछ, तिमी आफ्नो हठ छोड भने, यो सुनेर भृगुपत्नीले पनि यिनीहरुलाई मार्न पहिला मलाई मार्नुपर्दछ प्रभु ! भनिन् र विष्णु क्रोधित भई आफ्नो सुदर्शनबाट भृगुपत्नीको हत्या गरी दानवहरुलाई मारे । यो देखेर ऋषि भृगु क्रोधित भई अब म पत्नी वियोगमा आफ्नो सारा जीवन बिताउनु पर्ने भयो । हे विष्णु ! तिमी पनि आफ्नो जिन्दगीको ठूलो भाग पत्नी वियोगमा बिताउनु परोस् भनी श्राप दिए ।

भक्तका लागि पाप पनि गर्नुपर्दछ म तिम्रो स्राप त्रेतायुगमा रामावतार भएको समयमा सीताको वियोगमा बस्नेछु भनी विष्णुलोक फर्किए । यो सबै देखिरहेका भृगुपुत्र महर्षि उशना पनि निकै क्रोधित भए । उनी प्रतापी थिए । उनी पनि माताको बधका कारण देवताका विरोधी भए । देवताहरुसँग साटो फेर्नका लागि ब्रह्माको तपस्या गर्न लागे । उशनाको तपस्याको भाव बुझेर शिवजी निकै क्रोधित हुनुभयो ।

शिव क्रोधित भएको थाहा पाएर अब मलाई मार्छन् भनी डराएर आफ्नो प्राण रक्षाका लागि उशना शिवको उदर(पेट)मा वेगले पसे र शिवलिङ्गबाट निस्किए । यसरी उशनाको शुक्राचार्यको रुपमा पुनः जन्म भयो । पूर्वजन्मको चित्तमा रहेको देवताहरुप्रतिको क्रोध बाँकी रहेकाले उनी सर्वदा देवताहरुप्रति क्र्द्ध र रिसाहा भए । देवताहरुप्रति बदला लिनका लागि नै उनी दानवका गुरु भई दैत्यहरुको नै हितकार्य गर्न पुगे ।’

अझैँ युधिष्ठिरको मनमा शान्ति नभएकाले ‘हे पिताम्मह मलाई शान्ति सुविस्ता हुने योगे शिक्षा दिनुहोस्’ भन्न लागे । यो सुनेर भीष्म भन्नुहुन्छ ‘हे वावु ! कुनै समयमा एक गौतमी ब्राह्मणी थिइन् । उनको एक मात्र छोरा थियो । एक दिन कुनै सर्पले टोकेर बालकको मृत्यु भयो । सर्प बालकलाई टोकेर भाग्दै थियो । त्यो देखेर कुनै एक व्यधाले सर्पलाई पक्रेर गौतमीकहाँ ल्यायो र तिम्रो बालकलाई टोक्ने पापी दुरात्मा सर्प यही हो । तिमीले यसलाई मार्नका लागि आज्ञा देऊ म यसलाई मारिदिन्छु ।

गौतमीले भनिन् मेरो बालक मरिगयो । यसलाई मारेर मेरो बच्चा फर्कने छैन भने यसलाई मार भनेर म यसको मृत्युको भागिदार किन हुने । म मार भनी आज्ञा दिन सक्दिन । यो सुनेर व्यधाले भन्यो यसले तिम्रो छोराको हत्या गरि दियो । अझै तिमी यसलाई छाडिदिने मूर्खता गर्दछ्यौ । शत्रुहरुलाई सज्जनले पनि यु संसारमा विनाश गर्दछन् भने यसलाई छाड्न हुँदैन, मार्नु पर्दछ भनी व्यधाले मार्नका लागि लठ्ठी लियो । यो देखेर सर्प डराएर म त मृत्युको आदेश मान्दछु ।

मैले आफै मारेको होइन, मैले मृत्युको आदेश पालना मात्र गरेको हुँ । यो सुनेर मृत्यु पनि त्यहाँ आए र हामी कालका सेवक हौँ । मैल त कालको हुकुमको पालना गर्दै सर्पलाई टोक्ने आदेश दिन्छु । पृथ्वी अग्नि नदी सुलेन्द्र हावा, जल, चन्द्र, सूर्य, वसुहरुको समेत जन्म पालन र नाश स्वयं कालले गर्ने हुँदा कुनै पनि विज्ञले मलाई दोष दिँदैनन् । सबै कालको वसमा छ । यसरी चर्चा चल्दै थियो, संयोगले काल स्वरुप ईश्वर पनि त्यहाँ आए र काल भन्दछन् । ‘हे प्राणी हो ! यो बालक मर्नुमा सर्प तथा मृत्यु कसैको पनि दोष छैन ।

यसको पूर्वजन्मको कर्म जस्तो, जति थियो त्यसै किसिमले उसको राम्रो नराम्रो गति र समय निर्धारण हुने हुँदा हामीलाई मृत्युको कारण नठान । जसले पूर्व जन्ममा जस्तो कर्म ग¥यो त्यही अनुसार यो जन्ममा फल पाइने हुँदा यो सबै उसैको कर्मको फल हो । हामी त खालि साधन मात्र हौँ । कालको यस्तो कुरा सुनेर गौतमीले सर्पलाई छाडिदिन व्यधालाई भनिन् ।

मेरो छोराको मृत्यु उसैको आफ्नै कर्मले गर्दा भएको रहेछ । अरुको दोष रहेनछ । मलाई केही सुर्ता छैन । गौतमीको यस्तो कुरा सुनेर सबै आ–आफ्ना आश्रमतर्फ लागे । त्यसैले हे युधिष्ठिर ! सबै कर्मप्रधान छ । जो मरे उनीहरुको आफ्नै कर्मले गर्दा मरे, तिमी यसमा दोषी छैनौ । तिमी साधन मात्र हौ । तिमी मनको चिन्ता त्यागी सत्कर्ममा लाग ।’

‘हे युधिष्ठिर ! यसैसँग सम्बन्धित अर्को एउटा आख्यान सुन – अग्नीको छोरा सुदर्शन एउटा गुणी र सत्धर्म पालन गर्ने ब्राह्मण थिए । तिनकी पत्नी ओघवती सुशील गुणी र सुन्दर थिइन् । सुदर्शनले सदासर्वदा अतिथिको सेवा, चाकरी गर्नु भनी ओघवतीलाई अर्ति दिइरहन्थे र आफू पनि प्रशन्न मनले सत्धर्मको पालन गर्दथे । मृत्यु देवता सुदर्शनको अग्निपरीक्ष लिन ब्राह्मणको अघि–पछि लागिरहेका थिए ।

एक दिन ती ब्राह्मण यज्ञका लागि समिधा लिन जङ्गलतर्फ गएका थिए । त्यही समयमा मृत्युदेव ब्राह्मणको स्वरुप लिई सुदर्शनका घरमा गएर उनकी श्रीमती ओघवतीसँग मेरो आतिथ्य गर भनि भने । ब्राह्मणको त्यो कुरा सुनेर ओघमतीले बस्ने आशन दिई पूजा गरिन् र हजुरको के इच्छा छ, केले स्वगात गरुँ भनिन् । यो सुनेर ब्रह्मणले तिमीले गृहस्थ धर्म पालन गर्ने हुनाले गृहस्थ धर्म वमोजिम मलाई तिम्रो तन (शरीर) देऊ भने । यो सुनेर अघोवतीले सम्झाउँदै अरु कुनै वस्तु माग्नुहोस् म दिन्छु भनिन् । मृत्युदेवरुपी ब्राह्मणले मानेनन् ।

ओघवती धर्म संकष्टमा परेर हुन्छ भनिन् । त्यही समयमा तिनका पति सुदर्शन पनि घरको ढोकामा आइपुगे । सुदर्शनले प्रेमपूर्वक पत्नीलाई बोलाए । हे प्रिय तिमीभित्र के काममा छौ म तिमीलाई बोलाउँछु यहाँ आऊ । म बाहेक तिम्रो अरु को छ र ? के काममा व्यस्त छौ ? पतिको यस्तो कुरा सुनेर लज्जित भई केही बोल्न सकिनन् । यो देखेर अतिथिले चिच्याउँदै तिम्री पत्नीले मेरो इच्छा पूर्ण गरिदिने प्रण गरिन् सोही बमोजिम मेरो सेवामा मसँग अनन्द भोग्दैछिन् । तिमी भित्र आऊ या अन्त कतै जाऊ हामीलाई केही मतलव भएन ।

अब ब्राह्मणले क्रोध गर्छन् र यिनको सत्धर्म नाश हुनेछ । त्यही समयमा म यिनलाई खङ्गले टुक्रा परिदिनेछु भनि मृत्यु ठूलो खङ्ग लिएर ब्राह्मणको अघि–पछि लागेकै थिए । तर भित्रका अतिथिको यस्तो इच्छा बुझेर सुदर्शनले हे अभ्यागतजी ! तपाई मेरो घरमा आएर पवित्र बनाइदिनुभयो । मैले अहिले तपाईंको रसतमा कुनै बाधा दिन्न । पत्नीले पनि हजुरको सेवा राम्रोसँग गर्नेछिन् । ब्राह्मणको यस्तो कुरा सुनेर अतिथि खुसी हुँदै सुदर्शनका अगाडि गए र हाँस्दै आदर गर्दै तिम्रो घरको आतिथ्य पाएर मेरो मनोरथ पूरा भयो ।

म धर्म हुँ, तिम्रो परीक्षा गर्न आएको हुँ । तिमी सबै तरहले निपूर्ण भयौ । मृत्युलाई पनि जित्नसक्ने तिमीझैँ अरु कोही छैन । म तिमीलाई आशीष दिन्छु । तिमी यो शरीर स्वर्ग गई बस भनि वरदान दिई धर्मराज फर्किए । हे राजन ! त्यसैले तिमीले पनि अब सबै चिन्ता हटाई राज्यको सारा वैभव अतिथिको सेवामा अर्पण गर ।

जति अर्तीहरु दिए पनि युधिष्ठिरको मन शान्त भएको थिएन । जति धर्मग्रन्थ आख्यानहरु सुनाए पनि चित्त नबुझेर युधिष्ठिरले यो मनमा शान्ति प्राप्त भएर मनको भ्रान्ति जाने युक्ति सुनाउन अनुरोध गरे । यो सुनेर भीष्मले यसै विषयको कथा भन्छु सुन भनि कथा भन्न लागे – ‘धेरै समय अगाडि गुणी र सज्जन एक कुशिक नामका राजा थिए । तिनको वंश विनास गर्ने उद्देश्य लिएर अतिथि बनेले डराई र एक दिन च्यवन ऋषि आए ।

ऋषिलाई देखेर राजाले बिन्ति गरे– हे ऋषिस्वर ! मनमा के इच्छा छ भन्नुहोस्, म हाजिर गर्दछु । मेरो राज्य बन्धुवान्धवप्रसाद र यो वैभव हजुरका चरणमा आनन्दले अर्पण गर्दछु । यस्तो कुरा सुनेर आफ्नो ईष्या लुकाउँदै तिम्रो घरमा म केही दिन अतिथि बनेर बस्छु । तिमी रानीसँग खुसीले मेरा सेवा गर । ऋषिको यस्तो कुरा सुनेर खुसीले दरबारमा बसाए । ऋषि पनि खुसीले म विश्राम गर्दछु, तिमी पतिपत्नी आलस्य र निद्रा त्यागी मेरा पाऊ दबाऊ भने । राजा रानी दुवै खुसी साथ पाऊ दबाउन लागे । च्यवन ऋषि एक्काइस दिनसम्म सुतिरहे ।

राजारानी भोक, निद्रा त्यागेर निद्रा भङ्ग भए ऋषि क्रोधित हुनन् भनी डराई खुट्टा भुनि बसी सेवा गरिरहे । बाइसौँ दिनका दिन ऋषि उठेर बोल्दै नबोली दरबारदेखि हिंडे । राजा–रानी भोजन र निद्रा त्यागेर दुर्बल भएका थिए । तर पनि मनमा डर मानेर ऋषिका पछि–पछि हिंड्न लागे । हिड्दाहिड्दै ऋषि अन्तरध्यान भए । राजा–रानी चित्त दुखाउँदै दरबार फर्किए । दरबारमा फर्कंदा ऋषिलाई अघिजस्तै श®यामा सुतिरहेको देखेर राजा–रानी खुसीसाथ ऋषिका पाऊ दबाउन बसे । ऋषि अघिझै सत्ताइस दिनसम्म सुते ।

राजा–रानीले खुट्टा मिचेर चाकडी गरिरहे । अठ्ठाइस दिनमा उठेर राजालाई म स्नान गर्दछु पानी देऊ भने । राजाले स्नानका लागि शुद्ध पानी ल्याइदिए तर ऋषिले त्यो सबै पानी पोखिदिए । म गरिब–दुःखीलाई धन बाँड्दछु रथभरि धन राखेर ल्याओ र गोरु बनेर दुवै दम्पत्तिले मेरो रथ तान भने । शक्ति क्षीण भएका दम्पत्तिहरुले खुसी साथ रथ तान्न लागे । च्यवन ऋषिले रथ हल्लायौ भनेर कोर्राले दम्पत्तिलाई हान्न लगे । राजा–रानीलाई कोर्राको चोटले शरीरभरि रगत बग्न लाग्यो । ऋषि च्यवनले राजाको वैभव सिध्याऊने उद्देश्यले गरिब र दुःखीलाई खुब धन बाँडे ।

निर्दोषी राजाले कष्ट भागे तर पनि राजाले प्रशन्न मनले ऋषिले मागेको वस्तु हाजिर गर्दथे । राजाको यो सबै सेवाभाव देखेर ऋषि प्रशन्न भई यो सब तिम्रो परीक्षा हो । तिमी परीक्षामा पास भयौ । के बर माग्छौ माग भने । ऋषिको यस्ता आज्ञा सुनेर मलाई राज्य वा सम्पत्ति केही इच्छा छैन । मलाई हजुरले आफ्नो दास मानेर दया गर्नुहोस् भनी राजाले भने । फेरि ऋषिले तिमी जुन कुशिक नामले विख्यात छौ त्यही नामबाट कौशिक गोत्रका ब्राह्मण हुने छन् ।

तिम्रो नाति क्षत्रीय भई जन्मे पनि ब्राह्मण हुनेछ । अरु के माग्छौ शंका नमानी बर माग । यो सुनेर राजाले पनि मेरो वंश हजुरको आशीषले ब्राह्मण बनोस् भनि मागे । ऋषिले पनि तथास्तु भनि वरदान दिए । त्यहाँबाट च्यवन ऋषि तीर्थाटन गर्न हिंडे । त्यही कुशिक वंशमा पछि विश्वमित्र क्षत्रीय भइकन पनि ब्राह्मण बने । श्रेष्ठ तप गर्नाले जे पनि गर्न सकिन्छ । तपबाट मुक्ति पनि मिल्दछ । यसैले मुनिहरु वनको एकान्तमा बसेर एकाग्र भएर तप गर्दछन् ।’