दाङ, ३० साउन । द्वन्द्वपीडित महिलाहरुका लागि सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमका महिला शान्ति पहलकर्ताहरुलाई तीनदिने कथा वाचन तथा लेखन तालिम घोराहीमा सम्पन्न भएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ र रोल्पा जिल्लामा द्वन्द्वपीडित महिलाहरुका लागि सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रममा आवद्ध महिला शान्ति पहलकर्ताहरुलाई कथा लेखन र कथा कथन तालिम दिइएको हो । सशस्त्र द्वन्द्वको समयमा विभिन्न माध्यमबाट प्रत्यक्ष पीडा भोगेका महिलाहरुका लागि सञ्चालित कार्यक्रममा शान्ति पहलकर्ताहरुलाई द स्टोरी किचनको टीमले तालिम सहजीकरण गरेको थियो ।
तालिममा द्वन्द्वको समयमा हुने महिला हिंसा, यसको संरचनात्मक कारण र नेपालको सन्दर्भ, महिला शान्ति पहलकर्ताहरुको काम, चुनौती र समाधानका उपायहरु, कथा सुन्ने तरिका, कथा लेख्ने तरिकालगायतका विषयमा छलफल गरिएको थियो । तालिमको सहजीकरण द स्टोरी किचनका जया लुईटेल, बीजु कँडेल, सुनिता र साकाले गरेका थिए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको तालिम समापनका अवसरमा नागरिक आवाज ललितपुरका कार्यक्रम म्यानेजर हरिबहादुर धामी, वरिष्ठ कार्यक्रम अधिकृत शीखा भट्टराई, नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव एवं कार्यक्रमका फोकल पर्शन शीवा योगी, दाङ जिल्लाका कार्यक्रम प्रमुख रेमश केसी, रोल्पाका कार्यक्रम प्रमुख दिनेश सुवेदी, महिला शान्ति पहलर्ताहरु जया चौधरी र घनी बिकले मन्तव्य राखेका थिए ।
सहभागीहरुले तालिमले आफूहरुलाई समाजमा गएर द्वन्द्वपीडितहरुका लागि काम गर्न सहज हुने बताएका थिए । कार्यक्रमको सहजीकरण महिला शान्ति र सुरक्षा कार्यक्रमका मनोविमर्शकर्ता लक्ष्मी ढकालले गरेकी थिइन् । द्वन्द्वपीडित महिलाहरुका लागि दाङ र रोल्पामा महिला शान्ति र सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । द्वन्द्वपीडित महिलाहरुको मानसिक स्वास्थ्य र आयआर्जनको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम प्रमुख रमेश केसीेले बताए ।