अन्तर मनको भावना र अन्तरद्वन्द्व

विनोद पोख्रेल
२०७७ साउन ७ गते

मैले हिजो फेरि एकपल्ट आफ्नो भावनासँग हारेँ । हिजो वीपी स्मृति दिवस थियो । लकडाउनले कुनै विशेष कार्यक्रम थिएन । पार्टीले गर्ने कर्यक्रमबारे पनि चाख राखेको थिएन । कसैले खबर पनि गरेको थिएन । यही डायरीमा वीपीको बरोमा केही लेखेर त्यसमै चित्त बुझाउने एक प्रकारले निर्णय गरे र तल झरेँ । त्यहाँ चौघेरा मन्दिरमा वृक्षारोपणको कार्यक्रम भएको थाहा पाएँ । त्यो पनि बिहान आठ बजे । आठ बज्न लागिसकेको थियो ।

विपुललाई जाने भने । ऊ पनि तयार भयो । हामी गयौँ र वृक्षारोपण कार्यक्रममा सहभागी भयौँ । यसरी एकाएक थाहा पाएर म कुनै कार्यक्रममा जाँदैन । साच्चै भन्ने हो भने धेरैजसो कार्यक्रममा बोलाए पनि जाँदैन । सायद अलि टाढा भएको भए हिजो पनि जाने थिएन । हिजोको कार्यक्रमका मेरा लागि दुईवटा आकर्षण थिए । एउटा त वीपीको सम्झनामा गरिने कुनै एउटा कार्यक्रममा सहभागी हुने इच्छा । अर्को चौघेरा मन्दिरको निर्माण कार्य चलिरहेको बेला यही निहुँमा त्यो हेर्ने इच्छा । त्यसकारण जान मन लाग्यो, र गएँ । विपुल भएकोले सजिलो पनि भयो ।

त्यहाँ पुगेर आफ्नो इच्छा पूरा भएको अनुभव गरेँ । हिजोको दिनमा केही खुसी अनुभव भयो तर भावनासँग हारेकोमा एकपटक आफैसँग हाँसे । अझै यो कमजोरीलाई जित्न नसकेको अनुभव गरेँ । पछि जित्ने हुँ कि होइन त्यो थाहा छैन । हुन त यस्ता विषयमा कुनै प्रण वा प्रतिवद्धतामा बाँधिनु हुँदैन भन्ने सोच हो, मेरो । आफ्नो वैचारिक आस्था जितेको व्यक्तिको सम्मानमा यति गर्नुलाई मेले सामान्य र स्वाभाविक रुपमा लिन्छु ।

कतिपल्ट यत्ति पनि गर्न नपाएर केही तनाव महशुस गरेको अनुभव पनि छ, मसँग । यो एउटा पक्ष हो भने मानिसले भावनालाई पूर्णमा जित्न त सक्दैन नै, पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्न पनि सक्दैन । अझ भनौँ भावनासँग हार्नैपर्छ । भावना जहिले पनि बलियो हुन्छ । मानिस मूल्यांकन गर्दा उसलाई भावनाहीन वस्तुको रुपमा गरियो भने त्यो पूर्ण हुँदैन । अझ भनौँ धेरैपल्टको मूल्यांकन उसको परिवेश र भावनाको मिश्रणकै आधारमा गर्नुपर्छ । मान्छे वस्तु होइन । स्वयम्मा चेतना हो । त्यही चेतनाले जन्मएका भावनाहरुको एउटा प्रतिमूर्ति हो ।

भावनाबिनाको मानिसको कल्पना गर्न सकिँदैन । अवरुद्धमा अति साना कुराबारे आफ्ना भावनालाई नियन्त्रण गर्न ससकिएको नत्र सधैँ भावनासँग हार्नु नै मान्छेको एउटा परिचय हो । मानिसको भावनालाई वास्तै नगरेर उसको सीमित आवश्यकताको भरमा मात्रै मूल्यांकन गर्ने सोच पनि यहाँ नजन्मेको होइन । तर यो सोच आफैमा भावना प्रेरित हो भनेर कसले बुझाउने ? म अरुको बारेमा सोच्दा समेत भावना प्रेरित हुने तर अरुको भावना नै नभएको जसरी व्याख्या गर्ने चरित्र आफैमा अपूर्ण नै हो ।

गलत हो । त्यहाँ जम्मा भएका मानिसलाई देखेँ, मजस्ता राजनीतिबाट निरपेक्ष भएकाहरु पनि प्रशस्त थिए । वीपीलााई कुनै रुपमा श्रद्धाञ्जली दिने इच्छाले पुगेकाहरुको एउटा समूह नै थियो भन्दा हुन्छ । त्यो देखेर मलाई सन्तोष पनि लाग्यो । त्यस्तै वीपी कोइरालालाई एउटा संगठनको नेतृत्वमा अर्धऔपचारिक रुपमै सही श्रद्धाञ्जली दिन पाएकोमा पनि सन्तुष्टि प्राप्त भएको जस्तो लाग्यो । आफूले मानेर रोकि आफूले पनि त्यही प्रकारको सन्तुष्टि पाए होलान् भन्ने पनि लाग्यो ।

त्यस बाहेक पनि लकडाउन भएको मिति भएको चैत्र ११ गतेदेखि भेट नभएका कति साथीहरु, भाइहरुसँग भेट पनि भयो । त्यसले दिने खुशीको अलग महत्व थियो । अब त लकडाउन हटेको भनेर सरकारले निर्णय नै गरिसक्यो । केही विशेष कुराहरु बाहेक सबेलाई स्वाभाविक रुपमा सञ्चालनमा ल्याउने प्रयास भएको छ । कुनै प्राकृतिक विपदको सामना गर्न नपरे यो अपेक्षित निर्णय नै हो । तर झण्डै चार महिनापछिको यस्तो भेटघाटले पनि रमाइलो नै अनुभव गरेँ ।

२०७७ साउन ८ गते

मानिसको सोच बुझिनसक्नुको हुन्छ । त्यसमा पनि म अझै क्लिस्ट हुँ जस्तो पनि लाग्छ, कहिलेकाहीँ । त्यस्तै कहिलेकाहीँ आफैसँग पनि रिस पनि उठ्छ । लकडाउनको पूर्ण विरोध गर्न नसके पनि जीवनरक्षासँग तुलना गरेर स्वतन्त्रताको मूल्य र मान्यताको रक्षा गर्दै आफ्ना विचार भने राखेकै हुँ । यो कहिले सकिएला भन्ने सधैँ लागि नै रह्यो तर अब सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । जेजति प्रतिबन्ध सतर्कताको नाममा लागू छन् तिनले मलाई केही फरक पार्ने हौन । त्यस कारण मानसिक रुपले धेरै हलुको जस्तो अनुभव पनि गरेको हुँ ।

तर जीवन त्यसरी नै बितेको छ जसरी लकडाउनको बेलामा बित्यो । घरबाट निस्कने मन हुन्छ तर कहाँ जाने भन्ने समस्याको उचित उत्तर पाउँदैन । पहिले पनि म त्यति धेरै ठाउँमा जाने गर्दैनथेँ । त्यही एफएम र वीपी चिन्तन केन्द्र हो । चिन्तन केन्द्रमा नगएको अलि धेरै नै भयो । त्यहाँको साँचो समेत कहाँ छ, त्यो पनि थाहा छैन । यतिका दिनमा नगएकोले आकर्षण नै घटेको छ । चैतको ११ गतेबाट घोराही नगएकोले होला घोराही मात्रै जान पनि किन जाने, के गर्न भन्ने जस्ता सोच आउँछन् । गएको आइतवार हो सायद गएको हुँ ।

रमाइलो नै भएको थियो । साथीभाइहरुसँग अलि धेरैबेर नै बसियो । गए राम्रै बित्छ भन्ने पनि थाहा छ । तर यतिबेला एफएममा हामी बस्ने ठाउँमा अहिले सिमेन्टको काम भइरहेको छ । त्यसकारण पनि सुरक्षित, सजिलोसँग बस्ने ठाउँको चिन्ता गर्नुपर्ने भएको छ । जस्तो बानी पा¥यो त्यही सजिलो लाग्ने पनि हुन्छ, सायद । हिजोबाट अब मन्दिरसम्म दिनदिनै जाने भन्ने निर्णय गरेर गएँ । आज अलि ढिलो उठेँ । सबै ढिलो भइरहेको छ । चर्को घाम लागेको छ । समय नै नभएको त होइन तर घाममा हिड्न कति जाँगर लाग्ने हो थाहा छैन ।

सकेसम्म त जाने विचारमा छु । यता दिनभरि एक्लैजस्तो घरमा बिताउन सजिलो छैन, त्यो पनि थाहा छ । उता कहाँ जाने, गएर के गर्ने भन्ने पनि सोच छ । यो पनि त एकप्रकारको द्वन्द्व नै हो । त्यसमा पनि घरमा भएकाहरु मोबाइल आदि इलेक्ट्रोनिक सामानहरुमा फेसबुक, गेम आदि के–केमा अलमलिन्छन् । म पनि अलमलिन्छु तर अझैसम्म त्यसरी अल्मलिनुलाई उचित मान्न सकेको छैन । प्रष्टसँग भन्न सक्छु मैले ठिक नगरेको जस्तो नै लाग्छ । तर कमजोरी र केही वाध्यताले त्यसरी समय कटाउन विवश छु ।

मेरो आसय बानी फेर्न पनि समय लाग्ने रहेछ भन्ने हो । भएको बानी अहिलेको सन्दर्भमा लकडाउनले फेरिदियो । अब फेरि सामान्य भनौ वा पहिलेको जस्तै दैनिकीमा आउन समेत केही दिन लाग्ने जस्तो देखिएको छ । आउँछ र ल्याउँछ यसमा कुनै शंका छैन । तर तुरुन्तै हुनसकेको छैन । त्यहाँ गएर बस्ने एउटा निश्चित ठाउँ भयो भने अथवा हामी बस्ने ठाउँमा सफा भयो भने अल्छी गर्ने कुनै निहुँ हुँदेन । त्यसपछि सामान्य जीवनमा पहिलेको जस्तै नियमितता ल्याउन कर पनि लाग्छ र सजिलो पनि हुन्छ ।

त्यसका लागि दुईचार दिन अझै लाग्छ जस्तो छ । मनमनै आउँदो आइतवारबाट दुईवटा काम पूर्ववत गर्ने निर्णय गरेको छु । एउटा दाह्री फाल्ने नियमितता अर्को बजारसम्म पुग्ने नियमितता । मन्दिरसम्मको नियमिततालाई त आज अल्छी गरे पनि सुरु गरिसकेको छु । यसलाई निरन्तर बनाउने नै हो । जे होस् एउटा नयाँ अनुभव पनि भयो । समय बितेपछि यही कुरा रमाइलो र अनिुभवको एउटा विषय बन्छ ।

यसलाई चित्रण गर्नेहरुले डर लाग्यो वा रमाइलो कुन रुपमा पेश गर्ने हुन थाहा छैन । मेले भने अलि लामो दाह्री पालेर पनि आफैमा मनोरञ्जन लिएा । त्यसैको परिणाम अहिले पनि अलिअलि दाह्री छन् । मैले त्यति धेरै अप्ठेरो मनेको छैन । तर अरुले यसमा सरल अथवा अस्वाभाविक टिप्पणी गर्दा पनि रमाइलो नै लाग्छ । यो पनि एउटा अनुभव नै हो ।