खेमराज रिजाल
तुलसीपुर, २९ साउन । अस्पतालमा राखिराख्न उपयुक्त नभएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले एक जना विशेषज्ञ चिकित्सकलाई हटाएको छ । कोरोना भाइरसको संक्रमणको तेस्रो लहर सुरु हुनै लाग्दा यहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले भने इगोका आधारमा चिकित्सक हटाउने अभ्यास सुरु गरेको छ । अन्य स्वास्थ्य संस्थाहरुमा सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्यका जनशक्ति थप्ने अभ्यास भइरहँदा प्रादेशिक अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्टको भुमिकामा काम गरिसकेका डा. सर्वेश शर्मालाई अस्पतालमा राखिरहन उपयुक्त नभएको भन्दै काज फिर्ता गरिएको छ ।
अस्पताल विकास समितिबाट उनलाई अस्पतालमा राखिराख्न उपयुक्त नभएको सिफारिसका आधारमा लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालयले डा. शर्मालाई काज फिर्ता गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. ७९ मिति २०७८।४।१७ को पत्र अनुसार उनलाई संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फिर्ता गरिएको हो । कर्मचारी समायोजनमा संघ रोजेका डा. शर्मा विगत लामो समयदेखि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा काजमा थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पठाएको पत्रमा डा. शर्मालाई खटाइएको अस्पताल तथा प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अस्पतालमा राखिराख्न उपयुक्त नभएको भन्ने सिफारिस पठाएपछि काज फिर्ता पठाइएको उल्लेख गरिएको छ । डा. सर्वेश शर्मालाई राप्ती प्रादेशिक अस्पतालबाट काज फिर्ता गर्न अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले मुख्यमन्त्री तथा मुख्य सचिवसँग मौखिक तथा लिखितरुपमै पत्र पठाएर आग्रह गरेका थिए । काज फिर्ता पठाइएको बोधार्थ सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बुटवल मुकाम, निजामती कितावखाना हरिहर भवन तथा स्वयं डा. शर्मालाई समेत दिइएको छ ।
अस्पतालका चिकित्सक कर्मचारीहरुले यसलाई असामान्य र अस्वाभाविकरुपमा लिएका छन् । साथै उनीहरुले यसको पर्दापछाडि राजनीतिक शक्ति हावी भएको पनि एक चिकित्सकले बताएका छन् । ‘अस्पताल विकास समितिका अध्यक्षले समन्वयकारी भूमिका निर्वाह गर्नुको साटो हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुभएको छ, डा. सर्वेशलाई अस्पतालमा राखिराख्न उपयुक्त नभएको भनी लिखित पत्राचार गर्नु उहाँको अक्षम्य भूल हो’, अस्पतालका एक चिकित्सकले भने । यस्ता कार्यले अस्पतालका कर्मचारी तथा चिकित्सकहरुमा समेत असन्तुष्टि उत्पन्न भएको छ । महाव्याधिको समयमा अस्पतालमा चिकित्सक थप गर्नतिर लाग्नुको साटो फाल्नतिर लाग्नु अध्यक्ष पदको नैतिकता गुमाउनु भएको पनि नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकले भने ।
डा. सर्वेशकै विशेष पहलमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा संघीय मातहतमै रहेका धेरै चिकित्सक आएका थिए । अस्पतालमा कार्यरत आधाभन्दा बढी चिकित्सकहरु संघीय दरबन्दीका छन् । अस्पतालका मेसु डा. विनोद सिंहको दरबन्दीसमेत संघमा रहेको छ । अस्पतालमा हाल कार्यरत विशेषज्ञ चिकित्सकहरुमध्ये कन्सल्टेन्ट डर्माटोलोजिष्ट डा. प्रताप पोख्रेल र इन्टरनल मेडिसिनका डा. पदमप्रसाद अधिकारीबाहेक सबै विशेषज्ञहरु संघबाट काजमै आएका छन् ।
डा. मीनचन्द्र अधिकारी तथा डा. जितनारायण यादव भने संघकै फाजिलमा रहेका चिकित्सकहरु हुन् । प्रदेशअन्तर्गतको दरबन्दीमा केही मेडिकल अफिसर करारका छन् भने केही छात्रवृत्तिका चिकित्सकहरु रहेका छन् । काजमा रहेका चिकित्सकहरुलाई राजनीतिक प्रतिशोधका कारण एकपछि अर्कोलाई हटाउँदै गएमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुर विशेषज्ञ चिकित्सकविहीन हुने एक कर्मचारीले बताए ।
इगोका आधारमा काज फिर्ता
काज फिर्ता भएका चिकित्सक डा. सर्वेश शर्माले आफूलाई केही व्यक्तिहरुको व्यक्तिगत इगोका कारण काज फिर्ता गरिएको भन्दै पत्रमा उल्लेखित भाषाशैलीप्रति आपत्ति जनाएका छन् । अस्पतालमा विशेषज्ञ चिकित्सकीय सेवा उपलव्ध गराउन संघीय मन्त्रालयसम्म पनि आफूले विशेष भूमिका निर्वाह गर्दै आएको अवस्थामा आफूलाई एक शब्द पनि नसोधेर व्यक्तिगत इगोका भरमा सरुवा गरिनुलाई दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
आफू नेपाल सरकारको चिकित्सक भएकाले सरकारले जहाँ खटाए पनि गएर सेवा दिने बताउँदै यहाँबाट काज फिर्ता गर्नुपूर्व कम्तीमा पनि एकपटक सरसल्लाह भएको भए उपयुक्त हुने अभिव्यक्ति दिए । ‘मेरो काममा कहिँकतै कसैलाई चित्त नबुझेको हुनसक्छ, सम्बन्धित पक्षसँगै बसेर आत्मसमीक्षा गर्न सकिन्थ्यो तर यो अवस्था नभएकोप्रति मात्र मेरो असन्तुष्टि हो’, डा. शर्माले भने ।
ड्युटीफूल नभएपछि हटाइयो : अस्पताल विकास समिति
कोरोना भाइरसको संक्रमणको समयमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपतिबाट विभूषित समेत भएका यिनै चिकित्सक शर्मालाई एक बर्ष नपुग्दै अस्पताल विकास समितिको सिफारिसमा राप्ती प्रादेशिक अस्पतालबाट हटाइयो । उनलाई हटाउन अस्पतालका मेसुभन्दा पनि बढी भूमिका अस्पताल बाहिरका राजनीतिक व्यक्तित्वहरुको आग्रहमा विकास समितिका अध्यक्षले भूमिका खेलेको बताइएको छ ।
अस्पताल विकास समितिले भने डा. शर्मा पछिल्लो समयमा आफ्नो चिकित्सकीय जिम्मेवारीबाट विचलित हुन थालेको तथा काममा ड्युटीफूल नभएको भन्दै हटाउन सिफारिस गरिएको जनाएको छ । ‘उहाँले अस्पतालमा दैनिकरुपमा तोकिएको समयमा बिरामीको चेकजाँच गर्नुको साटो पारामेडिकल स्टाफलाई हतोत्साहित गर्ने र आफूलाई तोकिएको समयमा बिरामीको चेकजाँच पनि नगर्ने गरेकाले काज फिर्ताको पहल भएको हो’, अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले भने ।
अस्पतालमा विशेषज्ञ चिकित्सकहरुले नियमितरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने आम बिरामीहरुको माग रहेको भन्दै चिकित्सकहरु आफ्नो जिम्मेवारीबाट विमुख भएकाले यहाँ राखिराख्न आवश्यक नभएको भनेर काज फिर्ताका लागि सिफारिस भएको अध्यक्ष न्यौपानेले स्वीकारेका छन् । साथै गएको बैशाखमा फैलिएको कोरोनाको महामारीका समयमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कोरोना संक्रमितलाई समेत भर्ना गरेर उपचार गरौं भन्दा डा. शर्माले यसलाई पनि भड्काउन खोजेको आरोप न्यौपानेको छ ।
‘यो विषयमा पहिले मुख्यसचिव र मुख्यमन्त्रीलाई फोन गरेको हुँ, उहाँहरुले लिखित नै पठाउनुस् भनेपछि लिखित पठाएको हो’, अध्यक्ष न्यौपानेले भने । अध्यक्ष न्यौपानेले अस्पतालमा अझै पनि केही चिकित्सकहरु आफ्नो पेशागत इमान्दारीताप्रति वफादार नभएको बताउँदै बिरामीको उपचार सेवामा गम्भीर हुनुपर्ने सबैको दायित्व भएको पनि बताएका छन् । अस्पतालका निमित्त मेसु डा. विनोद सिंह भने अस्पतालमा भइरहेका यी सबै गतिविधिका विषयमा केही प्रतिक्रिया व्यक्त गर्न चाहँदैनन् ।