स्क्रीनमा दामोदर, रोदनमा विमला

सन्दर्भ : स्व. पत्रकार दामोदर अधिकारीको स्मरण
देवीराम कुसारी

दाङ, २८ साउन । म, श्रीमती, साली र साढु भएर मेरो होटलको भन्सामा काम गर्दै थियौं । सोमवार विहानको करिब ८ बजेको थियो होला मेरो मोबाइलमा घन्टी बज्यो । तरकारी काट्दै गरेको हुँदा मैले मोबाइल अलि समय लगाएर हेरे । मोबाइल के हेरेको थिए म झसंग भए, एकछिन त रोकिए, मलाई ९८५७८२०१८९ नम्बरको मोबाइलबाट फोन भएको थियो । किनकि त्यो नम्बर कोरानाबाट मृत्यु भएका दाङका पत्रकार दामोदर अधिकारीको थियो । मोबाइलको स्क्रीनमा दामोदर अधिकारी, तर स्वरमा विमला..। म फेरि एकपटक स्व. दामोदर अधिकारीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।

फोन उठाउँदै गर्दा ‘ए सम्धि खाना पकाउतो बड्डा’ भन्ने आवाज सुन्न पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्यो, जुन दामोदरले सधै प्रयोग गर्ने शब्दगुच्छा थिए । आँखा यसै रसाए, फोन उठाए तर आवाज मलाई सम्धि भनेर सम्बोधन गर्ने मेरो पत्रकारिताका लागोटिया यार दामोदर अधिकारीको थिएन । ‘दाई नमस्ते म दामोदर अधिकारीको श्रीमती विमला हुँ चिन्नुभयो ?’ भन्ने आवाज आयो । मन थोरै हलुंगो भयो कम्तीमा पनि साथीको नम्बर जीवितै रहेछ । मैले पनि ए अ अ चिने बहिनी के छ खबर ? भनेर सोधे । शब्दमा ठीकै छ दाइ भने पनि स्वरमा निराशताको ओझ भरिभाराउ पाए ।

फोनमा कुरा गर्दैगर्दा मेरा आँखाभरि आँसु भरिएको पत्तै पाएनछु सामुन्ने बसेकी साली, साढु र श्रीमती सबैले मेरो अनुहारमा एकोहोरो हेर्न थालेपछि आफूलाई सम्हाले, आँखाले नै आशु निले, आसाध्यै पीडा भयो । ‘दाइ हजुरले फेसबुकमा पोष्ट गरेको समवेदनामा म केही सहयोग गर्न चाहन्छु भनेर कमेन्ट गर्नु भाथ्यो र पनि दुःख लुकाउछु भन्दिन भनेकी थिए आज जीवन चलाउन असाध्यै समस्या भयो दाइ, मैले हजुरलाई आफ्नै दाइजस्तो सम्झे खै किन किन हजुरसँग सहाराको आश बढी लाग्यो, मलाई हजुरले जसरी नि सहयोग गर्नुहुन्छ भन्ने आश छ’, विमलाले हारगुहार गर्नुभयो ।

म स्तब्ध भए । साँच्चिकै एकपटक सम्झनुहोस् त यही फोन हजुरलाई पनि आयो भने…? फोनमा विमला बहिनीले दामोदरलाई दैवले लगेपछि अहिलेसम्मको समस्या सुनाउनुभयो जो मैले शब्दमा व्यक्त गर्नै सक्दैन र गर्न पनि चाहन्न । अहिले पनि यी अक्षरहरु कुदाउँदै गर्दा आँसुले औंलाहरु ल्यापटपको किवोर्डमा चिप्लिरहेका छन् । मन सारै भारी भएको छ र पनि हाम्रो सञ्चार समाधानको लागि हुनुपर्छ भन्ने मूलमन्त्रका साथ दुःख बाँड्दै छु ।

दामोर अधिकारीको मृत्यु भएपछि परिवारमा परेको समस्या सुनाउँदै गर्दा आफू बिएड र सिएमए पास गरेर पनि खाली बस्नुपरेको, साना दुई नाबालकलाई पढाउन समस्या भएको, बूढा सासु–ससुराको सहारा आफू नै भएको, दामोदरको उपचारमा लागेको ऋण तिर्न नसकेको आदि समस्याबाट गुजँ्रदै गरेको विमलाले बताउनुभयो । पत्रकारिताको सहयात्री, दाङबाट प्रकाशित भइरहेको गोरक्ष राष्ट्रिय दैनिक १७ वर्ष पुग्दै गर्दा यो पत्रिकालाई हुर्काउन हामीसँगै ठूलो योगदान दिएको दामोदरलाई सम्झिए ।

विमलासँगको कुरापछि मैले भान्सामा सबैलाई यो कुरा सुनाए, सबै मलिन भए । श्रीमतीले पनि दामोदर अधिकारीको बयान गरिन्, केही सहयोग गर्नुपर्छ भनिन् । हामीले अहिलेसम्म पनि विमलालाई यति सहयोग गर्छौं भनेका छैनौँ, आजै यही गोरक्ष राष्ट्रिय दैनिक मार्फत हाम्री स्व. हजुरआमा गम्भिरी कुसारीको पुण्यतिथि पनि यही सोमवार परेकोले उहाँको स्मृतिमा श्रीमती नर्मदा कुसारी र म पंक्तिकारले ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग घोषणा गरेका छौं ।

हाम्रो यो सहयोग रकम मेरो पनि पसिनाले सिञ्चित गोरक्ष दैनिकबाटै दिने र सहयोगको नेतृत्व पनि गोरक्षले गरोस् भन्ने यो पंक्तिकारको चाहना हो । स्व. पत्रकार दामोदर अधिकारीको गएको बैशाख ७ गते कोरोनाका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि घरको सम्पूर्ण जिम्मा विमलामा आएको छ । ७३ वर्षीय ससुरा, ६० वर्षीया सासु स्याहार, १२ वर्षीया छोरा र ४ वर्षीया छोरीको लालनपालन र दामोदरको उपचारमा लागेको करिब २५ लाख ऋण तिर्न बिमलालाई ठूलो समस्या परेको छ । यही समस्यालाई न्यूनीकरण गर्न विमलाले सहयोगको हारगुहार गरिरहनुभएको छ । सहयोगी मनहरु छन् भने जोडिऊन्, बिमलाको रोदनमा ।