विश्व युवा दिवस र नेपाली युवाको अवस्था

भुवन पोख्रेल

यो वर्षको युवा दिवस विश्वभर अलिक चुनौती अनि विषम परिस्थितिबीच मनाइँदै छ । नेपाललगायत विश्वमा आज अगस्ट १२ युवाका सवाललाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रि युवा दिवसका रुपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रुपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघस.स्थाको अगुवाईमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालेपछि युवाका मुद्दा केही न केही सम्बोधन हुनथालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा युवा लाभान्वित बन्नसकेका छैनन् ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालका युवा विकास तथा परिचालनका लागि वि.सं २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा समावेश गरेको छ । त्यसैगरी सरकारले वि.सं. २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । त्यसैगरी पन्ध्रौँ योजनाको आधारपत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडेको छ । युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा सना लगानी स्वरोजगार सचिवालयको गठनलगायत युवा रोजगार प्रधानमन्त्री कार्यक्रमजस्ता कार्यक्रम ल्याएका छन् ।

नेपाललाई सन् २०२५ सम्म द्रुत विकासशील राष्ट्रमा पु¥याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नका लागि युथभिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना ल्याइएको छ ।युवा नेतृत्व विकास र रोजगारी समस्या हल गर्न ल्याएका नीतिगत तथा संरचनागत संस्थाले नतिजामुखी परिणाम दिन नसक्दा युवाका बेरोजगारी समस्या, गुणस्तरीय शिक्षा, अर्धदक्ष जनशक्तिजस्ता समस्या अहिले पनि रहेका छन् । युवाका क्षेत्रमा धेरै नीतिगत कामहरु भएका छन् तर कार्यान्वयनमा चुनौती देखिएको छ । अहिले मुलुकमा युवाका क्षेत्रमा काम गर्नका लागि धेरै नीतिगत कानुन बनेका छन् तर ती नीति अनुसार कार्यक्रम कार्यान्वयन नुहँदा युवाका मुद्दा सम्बोधन गर्न चुनौती थपिएको छ ।

वि.सं. २०६८ को राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोग ७ लाख युवा छन् । नीतिगत रुपमा युवाका क्षेत्रमा रचनात्मक काम गर्ने खालका कार्यक्रम ल्याइए पनि कार्यान्वयन नहुँदा लाखौँ युवाले विदेशी भूमिमा रगत र पसिना बगाउन परेको तीतो यथार्थ हाम्रा सामू छन् । युवालाई स्वरोजगारमुखी बनाउनेदेखि उत्प्रेरणा दिने खालका सहुलियतपूर्ण ऋण, कर्जाका नीति छन् तर हजारौँ युवा बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन् । सरकारले नेपाली युवालाई स्वदेशमा उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्याविधि २९७५ ल्यायो तर उक्त कार्यविधि पूर्ण रुपमा लागू नहुँदा हजारौँ युवा बैठकबाट सहज कर्जा नपाउँदा बेरोजगारको समस्या भोग्न वाध्य छन् ।

भोभिड–१९ को कारणले अहिले मुलुकमा लाखौँ युवा बेरोजगार बन्नुपरेको अवस्था छ । सरकारले ती युवालाई समेटेर रोजगारीका कार्यक्रम ल्याउनु आवश्यक रहेको छ । युवाका मुद्दाहरुलाई सम्बोधन गर्न सके मात्र समृद्ध नेपाल बन्नसक्छ । नीतिगत रुपमा युवाका मुद्दा धेरै भए पनि ती मुद्दालाई व्यवहारमा उतार्ने कार्यक्रम छैनन् । त्यसर्थ युवाका समस्या जहाँको त्यहीँ रहेका छन् । सुरुमा युवा दिवस मनाउँदा युवाका क्षेत्र काम गर्ने सरकारी निकाय नै रहेको थिएन तर अहिले सरकारले नै दिवस मनाउन थालेको छ । यो दिवसमा मात्र सीमित नबनोस् ।

दिवसको सार्थकताका लागि कोभिड–१९ को कारणले बेरोजगार बन पुगेका युवाका लागि रोजगारीका प्याकेज ल्यानु पर्छ । परिषद् गठनपश्चात युवाका क्ष्ँेत्रमा धेरै काम भएका छन् । परिषद्ले संघ र प्रदेशमा नमुना युवा संसद गठन गरी अभ्यास समेत गरिसकेको छ । त्यसैगरी युवा परिषद्ले ९० स्थानीय तहमा नमुना युवा संसद गठन तथा अभ्यास र ७७ स्थानीय तहका एक हजार ९४ वडामा युवा क्लव समेत गठन गरेको छ । नेपालको संघीय र स्थानीय सरकारले युवाका क्षेत्रमा काम गर्ने भनेर ठूलो राशीमा बजेट छुट्याएका छन् ।

कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सके युवाका क्षेत्रमा धेरै काम गर्न सकिन्छ । राज्यले उच्च प्राथमिकतामा राखेर युवाका क्षेत्रमा बजेट विनियोजन गरे पनि एकद्वार प्रणालीबाट कार्यक्रम सञ्चालन हुन नसक्दा चुनौती थपिएको छ । थुप्रै मन्त्रालयले युवाका क्षेत्रमा काम गरिरहेका छन् तर ती मन्त्रालयबीच समन्वय नहुँदा युवा लक्षित कार्यक्रम प्रभावकारी बन्नसकेका छैनन् । नेपालका युवा अहिले मुलुकभित्र रोजगारीको अवसर नपाई वैदेशिक रोजगारमा जान वाध्य छन् । प्रत्येक वर्ष श्रम बजारमा ४ लाख ५० हजारभन्दा बढी व्यक्तिहरु आउँछन् तर विडम्बना भनौँ तीमध्ये अधिकांश रोजगारका लागि विदेशिने गर्छन् ।

नेपाली युवाहरु आर्थिक उपार्जनका लागि विदेश जान एउटा अनिवार्य संस्कृति भएको छ । नेपालमा सक्रिय जनसंख्यालाई सदुपयोग गर्न सकिएको छैन । आजका युवा विभिन्न किसिमका दुव्र्यसनमा फसेको पाइन्छ । रक्सी, चुरोट, गाँजा, भाङ, अफिम, चरेसलगायत लागूऔषध सेवन गरेर धेरै युवा दुव्र्यसनको शिकार बन्न पुगेका छन् । पछिल्लो समयमा दुव्र्यसनी युवाको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । आजको देशलाई उन्नतितर्फ डो¥याउने हो भने युवाहरुलाई दुव्र्यसनबाट मुक्त राख्नु ठूलो आवश्यकता हो ।

सरकारी नीति तथा कानुन अन्तर्गत् नेपालको संविधान २०७२ को मौलिक हकमा रोजगारीको हक छ । युवा युवा नीति २०६६ ल्याएको छ । विभिन्न नीति नियम ल्याइए पनि युवालाई परिचालन गर्न सकिएको छैन, युवाको सही परिचालनमा सरकार चुकेको छ । स्वयम् युवाले पनि आफ्नो शक्तिलाई पहिचान गर्न सकिरहेका छैनन् । कस्तुुरीले आफ्नो नाभीमा सुगन्ध छ भनी थाहा नपार्एर वन–वनमा सुगन्ध खोजेजस्तै नेपाली युवाहरु आफ्नो भविष्य स्वदेशमा नदेखेर विदेशमा खोजिरहेका छन् ।

विश्व युवा दिवसको अवसरमा युवासँग सरकारले हातेमालो गर्दै मुलुकको विकास निर्माणको खाका कोर्न सके मुलुक समृद्धिको यात्रामा सहजै अघि बढ्न सक्थ्यो । दिगो विकासका लक्ष्यसँग पनि युवा जोडिनुपर्छ । युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयाग गर्नुपर्छ । युवा नै त्यो उमेर समूह हो जो राष्ट्रको भविष्यको कर्णधार र वर्तमान समयको विकासको साझेदार हुन् । विकास एवं परिवर्तनको सम्वाहकको शक्ति र सामथ्र्य पनि यिनै युवाहरुले बोकेका हुन्छन् ।

नेपालमा विभिन्न समयमा देशको राजनैतिक व्यवस्थाहरु परिवर्तन गरी नयाँ व्यवस्था ल्याउने ऐतिहासिक आन्दोलनहरुमा युवाहरुको साहसिक भूमिका र युवाशक्तिको उच्च उपस्थिति देखिएको छ र अझै पनि देखिन्छ । युवाले ल्याउनसक्ने परिवर्तनलाई ध्यानमा राखी आर्थिक, सामाजिक, र राजनैतिक रुपान्तरण समेत गर्ने युवा जमातलाई एकताबद्ध गराई देशको विकासलगायतका अन्य कामहरुमा युवा शक्तिलाई परिचालन गर्न सक्नुपर्छ । राज्यको नीति, निर्माण र निर्णय प्रक्रियामा अझै पनि युवाको सहभागिता सुनिश्चित गर्न नसक्नुलाई विडम्बना मान्नुपर्छ ।

नेपालको विभिन्न समयमा खेप्नुपरेको प्राकृतिक विपत्तिमा नेपाली युवा जमात स्वतःस्फूर्त रुपमा उद्धार, राहत वितरण, फन निर्माणामा सहभागी भएर सच्चा युवा अनि सच्चा इमानदार नेपालीको परिचय दिने काम गरिरहेका छन् । केही वर्ष यता मुलुकको सामाजिक, आर्थिक, राजनैतिक र शैक्षिक क्षेत्रहरुमा नेपाली युवाहरुको सक्रिय सहभागिता रहँदै आएको छ । त्यस बाहेक कृषि तथा उत्पादनमूलक क्षेत्र र श्रमजस्ता विभिन्न क्षेत्रमा पनि युवाहरुको परिस्थिति देखिएको छ । जुन मुलुकका लागि सुखद विषय हो ।

१६ देखि ४० वर्षको युवा समय भनेको जोश, जाँगर सिर्जना र रचनात्मक कार्यहरुमार्फत् समाज र देशका लागि योगदान दिनसक्ने समय हो । तर, नेपालमा भने युवामैत्री व्यवस्था अझै बन्न नसक्नु र युवालाई देशको विकासमा जोड्न नसक्नुलाई विडम्बना ठान्नु पर्छ । नेपालको परिप्रेक्षमा युवाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता गराउने र नेतृत्व विकासका माध्यमबाट युवाहरुलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्दै राष्ट्र विकास गर्नुपर्ने आवश्यकता अहिले टड्कारो देखिएको विषय हो ।

युवाका विषयमा विश्वभरका सरकार तथा सरोकारवालाहरुलाई सचेत र जागरुक बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ तर यसरी युवा दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षाजस्ता समस्याहरु विद्यमान नै छन् । जसको कराणले सोचे अनुरुप नतिजा देख्न समय अझै लाग्नेछ । जबसम्म शिक्षामा राज्यका सम्पूर्ण जनताको सहज पहुँच पुग्न सक्दैन तबसम्म समस्या ज्यूँका त्युँ रहने छन् । तबसम्म अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको कुनै खास औचित्य देखिँदैन । जबसम्म देश र राज्य युवामैत्री हुँदैनन्, युवाको जो, जाँगर र प्रतिभाको भरपूर सदुपयोग गर्न राज्य र सम्बन्धित निकायहरु सफल हुँदैनन् तबसम्म, आज, अगस्ट १२ को दिन अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा गरिने जस्तोसुकै कार्यक्रमहरुको पनि कुनै सार्थकता वा औचित्य हुँदैन र रहँदैन पनि ।

व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर यो दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई उजागर गर्दछ । युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह हो । नेतृत्व गर्न मन लाग्ने जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सामथ्र्य परिभपूर्ण अवस्था हो ।

जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्या रहेको, अत्यधिक उर्जावान जनसंख्याभित्र पर्ने यो समूहलाई बाहिर पलायन हुनबाट जबसम्म रोक्न सकिँदैन तबसम्म मुलुकले गति लिन सक्दैन । आजका युवा भोलिको राष्ट्रका कर्णधार हुन् । उनीहरुलाई उचित शिक्षा, दीक्षा, रोजगारीको व्यवस्था गरी नेपालको शान्ति र समृद्धिमा सरिक गराउनु आजको आवश्यकता हो । युवा दिवस मनाउनुको सार्थकता पनि यसैमा छ । अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरु सहर केन्द्रित भइरहेका छन् र विदेश पलायन भइरहेका छन् । विगतमा युवा र उनीहरुका सरोकारका विषयलाई राज्यका नीति, कानुन एवं कार्यक्रमले सही रुपमा सम्बोधन गर्न नसक्दा अवसरको खोजीमा विदेश जाने र उतै पलायन हुने समस्याले विज्ञ र विशेषज्ञको सबै एवं उर्जाबाट मुलुक स्वयम् वञ्चित बन्न पुगेको छ ।

रोजगार बजारमा उपलब्ध दक्ष र योग्य युवालााई देशभित्र अवसर सिर्जना गर्न नसक्नु, जनशक्तिको माग र शिक्षाबीच सामञ्जस्य कायम हुन नसक्नु जस्ता धेरै कारणहरुबाट युवा बेरोजगार बन्न पुगेका छन् । जसका कारण युवाशक्ति विदेशिने गरेका छन् ।विश्वमा नै युवा अधिकारको बारेमा चिन्तनको सुरुवात सन् १९३० को दशकमा देखापरेको विश्व आर्थिक मन्दीबाट सुरु भएको पाइन्छ । विश्वलाई आर्थिक मन्दीबाट बचाउन युवाको जोश, जाँगर र प्रतिभाको भरपुर सदुपयोग गर्नुपर्ने आवश्यकताबोध हुन थालेपछि युवा अधिकार र अन्तरपुस्ता समन्वयको अवधारणाले मूर्त रुप लिएको हो । द्वितीय विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापना भई अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको विकाससँगै युवा अधिकारको विषयमा बहस र चिन्तन सुरु भयो ।

नेपालको सन्दर्भमा युवा अधिकारका सवालहरु मुख्यतया सार्वजनिक नीति निर्माणमा युवाहरुको सार्थक सहभागिता, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा सहभागिता युवा, समावेशीकरण, रोजगारी, क्षमता र उद्यमशीलताको विकास, शैक्षिक तथा स्वास्थ्य स्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास, युवालाई विशेष संरक्षण, बौद्धिक युवा प्रतिभा पलायन रोक्न राज्यको स्पष्ट नीतिगत प्रतिबद्धता चाहिन्छ ।

आजको राजनीतिमा युवाको खाँचो छ । युवा विशेषगरी शिक्षित, सचेत, इमानदार, नैतिक र कुशल भूमिकाले आजको राजनीति स्थिर र सवल बन्नसक्छ । युवाका अधिकारलाई सम्बोधन गरी उनीहरुको ज्ञान, सीप, अनुभव र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहीकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रम निर्देशित हुनु जरुरी छ । ‘खाद्य प्रणालीमा रुपान्तरण ः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नारासहित युसपालिको युवा दिवस मनाइँदैछ ।