बालाराम खड्का
दाङ,द्द८ साउन । अघिल्लो सालको कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन लम्बिँदै गर्दा तुलसीपुरको बसपार्कमा पार्किङ गरेको एउटा यात्रुबाहक बसको छतमा घिरौला फलेको थियो । अर्थात अघिल्लो बर्ष कम्तीमा ६ महिना चल्न सकेन सार्वजनिक यातायात ।
यो बर्ष पनि झण्डै तीन महिना चलेन, यातायात । कारण कोरोना भाइरसको संक्रमणका कारण जारी लकडाउन । सार्वजनिक बस चल्न नसके पनि निजी स्कार्पियो र जीप–कारले भने ‘रिजर्भ’ को पोष्टर टाँगेर धमाधम यात्रुहरु ओसारिरहे, काठमाडौँलगायतका अन्य शहरहरुमा । कसरी पास बन्थे÷बनाइन्थे भन्नेतर्फ अहिले समीक्षा नगरौं । हवाई सेवा त्यति रुक्नुपरेन, तर यो दुई बर्षको अवधिमा कम्तीमा ६ महिना मात्र चल्न पायो, सार्वजनिक सडक यातायात ।
‘कहिले पूर्व बन्द, कहिले पश्चिम बन्द त कहिले आम हड्तालको शिकार बन्दै आएको सार्वजनिक यातायात पछिल्लो समयमा कोरोना भाइरसको शिकार बन्यो । कोरोनाले सबैभन्दा ध्वस्त पारेको व्यवसाय छ भने त्यो यातायात व्यवसाय नै हो । बैंकमा घर–घडेरी राखेर एक करोड ऋण लिएर किस्ताबन्दीमा खरिद गरिएको बस जब ग्यारेजमै महिनौ थन्किइरहन्छन् भने त्यसको पीडा यातायात व्यवसायीले मात्र भोगिरहेका हुन्छन्, बैंकले किस्ताका लागि ताकेता गर्न लकडाउनले कहिल्यै छेकेन ।
त्यसैले लकडाउनमा केही व्यवसायी स्वीचफ हुन समेत विवश भए ।नेपालमा हुने विभिन्न परिवर्तनको मारमा यातायात क्षेत्र त्यो पनि सार्वजनिक सडक यातायात सेवा पर्ने गरेको छ । महाविपद् भूकम्पदेखि कोरोनाले गर्दा अन्य उद्योग कलकारखाना, व्यापार व्यवसायीहरुमा असर प्रत्यक्षरुपमा परेको छ । त्यसमध्ये पनि सार्वजनिक यातायात थप प्रताडीत बन्न पुग्यो । पहिलो र दोस्रो लहरको कोरोना भाइरस महामारीले संक्रमण बढेसँगै निषेधाज्ञा लागू गरेसँगै देशभरका करिब ४ लाख सार्वजनिक सवारीका सधानहरु ग्यारेजमा थन्किएका थिए । यस बर्ष पनि गत वैशाख १६ गतेबाट निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा लागू गरेसँगै सार्वजनिक यातायातका साधनहरु ग्यारेज र घरमै थन्किएका थिए । केही अत्यावश्यक ढुवानीका साधनहरु चले पनि अन्य सार्वजनिक यातायातका साधनहरु ठप्पजस्तै थिए ।
कोरोना महामारीका कारण गत वर्ष पनि लकडाउन र निषेधाज्ञाले यातायात व्यवसायीले निकै कठिन परिस्थिति र घाटा व्यहोर्नु परेको थियो । साथै, गत वर्षको कोरोना महामारीले थलिएर केही तंग्रिएको यातायात व्यवसाय पुनः थला परेको थियो । ध्वस्त सार्वजनिक यातायातको पुनरागमन हुने आशा पनि दोस्रो लहरको कोभिड–१९ ले मारिदियो । यातायात क्षेत्रमा वित्तीय संस्थाबाट कर्जा लिएर सवारी साधन किनेका र स्वरोजगार हुने मानिस तथा व्यवसायीहरू धेरै रहेका छन् । जसमा गत वर्ष कोरोनाले गर्दा यस क्षेत्रमा आबद्ध व्यवसायीले ब्याजसहितको किस्ता तिर्न नसकेको अवस्थामा दोस्रो लहरको कोरोना महामारीले झन् मारमा पारेको छ । एकातिर ब्याजसहितको किस्ता तिर्न नसकेको अवस्था छ भने अर्कोतर्फ कसरी जीविकोपार्जन अर्थात आश्रित परिवारको दैनिक हातमुख जोड्ने भन्ने समस्यामा परेका छन् । देशभर करिब ४ लाख सार्वजनिक यातायात छन् ।
लकडाउनले गर्दा यातायात क्षेत्रमा निर्भर रहेको लगभग १० लाख मानिस कामविहीन हुनुपर्ने अवस्था रहेको थियो । उक्त क्षेत्रबाट आश्रित ४० लाख मानिसले जीविकोपार्जन गरिरहेको महासंघले जनाएको छ । यो क्षेत्रमा धेरै मानिस जोडिएकाले सरकारले केही राहत प्रदान गर्नुपर्नेमा सरकारले यस क्षेत्रमा कुनै सहानुभूति नदेखाएको गुनासो पनि त्यतिकै मात्रामा उठेको छ । ध्वस्त यातायातलाई कसरी पुनारागमन गराउने भन्ने विषयमा गम्भीरतापूर्वक सरकार होस् वा सरोकारवाला कसैको पनि ध्यान त्यति जान सकेको छैन् । यातायात क्षेत्रमा अर्बौको घाटा लागेको छ । यातायात व्यवसायीहरुले अझै पनि आफ्ना गाडीहरू सडकमा निकाल्न नसकिने अवस्थामा पुगेका छन् । आफ्ना गाडीका ब्याट्री, टायर तथा बडी जीर्ण बनेको उनीहरु बताउँछन् । अर्थात अझै कोमाबाट व्यझिएको छैन, सार्वजनिक यातायात ।
केहीमा घास उम्रिएको अवस्था छ, केहीमा घिरौला फलेका छन् । यातायात व्यवसायी देवबहादुर बस्नेतले गत बर्ष चैत १ गते करिब २ करोड लगानीमा नयाँ सुविधा सम्पन्न एयर बस काठमाडौँ–तुलसीपुर रुटमा सञ्चालन गरेका थिए । एक सातामै उनले सो बस कोरोनाको संक्रमणपछि लकडाउन भएपछि बस थन्काउनुको विकल्प भएन । बैंकबाट ऋण लिएर बस किनेका बस्नेतलाई बैंकको किस्ता कसरी तिर्ने भन्ने समस्या भएको बताउँछन् । बैंकमा मासिक करिब ५ लाख बढी किस्ता गाडीको बुझाउनुपर्ने समस्या उनको छ । कति यातायात व्यवसायीहरु त विस्थापित भइरहेका छन् ।
५० लाख पर्ने सार्वजनिक बसहरु आधा मूल्यमा पनि बिक्री नहुने अवस्था छ । केही व्यवसायीहरुले पेशा नै बदलेको अवस्था रहेको यातायात व्यवसायीहरु बताउँछन् । उनीहरुले किस्ताका लागि बैंकले फोन लगातार गर्ने र आफूहरुका गाडीहरु लकडाउनले घरमै थन्काएको अवस्थामा कसरी किस्ता तिर्ने भन्नेमा समस्या भएको बताउँदै आएका छन् । यातायात व्यवसायीहरुले आफूहरुले बैंकलाई किस्ताको मिति सार्न आग्रह गर्दासमेत बैंकले नमानेको भन्दै आफूहरुले तिर्नुपर्ने किस्ताको मिति सार्न माग गर्दा पनि नमानेको बताउँछन् ।
त्यस्तै गत सालको लकडाउनअघि गाडी किनेका यातायात व्यवसायी सुदन बस्नेतले पनि मासिक ८२ हजार किस्ता बैंकमा तिर्ने गरेको बताउँछन् । लकडाउनअघि केही समय गाडी चलाएका बस्नेतले गाउँमा ५ प्रतिशत व्याजमा ऋण लिएर गाडीको किस्ता तिर्नुपरेको बताउँछन् । ‘बैंकले एक रुपैयाँ पनि छुट दिँदैन, किस्ता पनि महिनामै तिर्नुपर्छ । गाडी ४÷५ महिना घरमै थन्किएका छन् कसरी किस्ता तिर्ने ?’ उनले भने । किस्तासँगै केही महिनादेखि गाडी घरमा राख्दा गाडी मर्मत खर्चमात्र १ लाखको हाराहारीमा आएको भन्दै आफूहरु निकै समस्यामा भएको उनको गुनासो छ ।
उनीहरु त प्रतिनिधि पात्रमात्र हुन् । उनीहरुजस्तै यहाँका हजारौँ यातायात व्यवसायीहरुको अर्र्बको नोक्सानी व्यहोर्नुपरेको छ । देशकै अर्थतन्त्रमा ठूलो असर पारेको कोरोना महामारीले यातायात क्षेत्र धरासायी बनेको छ । कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनले यातायात क्षेत्र थला परेको सबैलाई जगजाहेरै छ । यसले गर्दा १५ प्रतिशत व्यवसायीहरु पलायन भएका छन् भने ५ प्रतिशत व्यवसायीहरुको गाडीहरु बैंकले तानेको अवस्था छ । त्यस्तै २० लाख पर्ने गाडीलाई १२ लाखमा बिक्री गर्नुपर्ने बाध्यता आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमाल बताउँछन् ।
कति यातायात व्यवसायीहरुले त आफ्नो पेशा नै परिवर्तन गरी अन्य पेशा अपनाएको उनी बताउँछन् । त्यस्तै आफ्ना यातायातका साधनहरुको मूल्यसमेत घटेको उनी बताउँछन् । ‘एउटा बसमा २ देखि ३ लाख रुपैयाँ बराबरको भौतिक क्षति छ, त्यसको मर्मत कसरी गर्ने ?’ हमाल भन्छन् । त्यस्तै विभिन्न यातायात प्रालि र सार्वजनिक यातायात कार्यालयमा काम गर्ने २ प्रतिशत कर्मचारीहरु पनि सेवाबाट बञ्चितसमेत भएका छन् ।
‘सार्वजनिक यातायात क्षेत्रमा कर्मचारीसमेत कटौती गर्नुपर्ने अवस्था आएको छ’, हमालले भने– ‘यो त भौतिक क्षति मात्र भयो, गाडीले गर्ने कमाइ, बैंकको किस्ता, बीमा, मजदुरको पाएको पीडाको त हिसाब नै छैन् ।’ त्यस्तै उनले ध्वस्त सार्वजनिक यातायातको पुनरागमनका लागि यातायात प्राधिकरण गठन गर्नुपर्ने र सरकारले दिने अन्य सुविधाहरु बीमा, व्यवसायीलाई करिब २ देखि ५ लाखसम्म न्यूनतम शुल्कमा गाडीको मर्मतका लागि ऋणको व्यवस्था गर्नुपर्ने बताए ।
‘सरकारले केही कुरा सम्बोधन गरेको छ’, उनले भने– ‘हामी अहिले पनि सरकारले केही गर्छ कि भनेर आशा गरेका छौँ । हामीले सरकारलाई सित्तैमा पैसा देऊ भनेका छैनौँ । सहुलियत दरको ऋणको कुरा गरेका छौँ, कर छुटको कुरा गरेका छौँ ।’ सल्लाहकार हमालले अहिले पनि सबै गाडीहरु सञ्चालन नभएको भन्दै छोटो दूरीमा ६५ प्रतिशत र लामो दूरीमा ४० देखि ५० प्रतिशत मात्र गाडीहरु सञ्चालन भएको र अन्य गाडीहरु ग्यारेजमै थन्किएको यातायात व्यवसायी हमाल बताउँछन् ।
त्यस्तै अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका प्रशासनिक सचिव घनश्याम बस्नेतले लकडाउनका कारण यातायात सञ्चालन नहुँदा व्यवसायीहरुलाई निकै समस्या भएको बताए । उनले बैंकले किस्ताको मिति सारिदिन माग गर्दा पनि नमान्ने र यातायात सञ्चालन नहुँदा लकडाउनको समयको किस्ता कसरी तिर्ने भन्नेमा यातायात व्यवसायीहरु रहेको बताए । ‘लकडाउनले व्यवसायी विस्थापित हुने निश्चित देखिएको छ, हामीले बीमाबाहेक अन्य कुनै सुविधा राज्यबाट पनि पाएका छैनौँ, नत बैंकले छुट दिएको छ’, बस्नेतले भने ।
त्यस्तै त्रिशिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका प्रशासनिक संयोजक प्रकाश भट्टले बैंक किस्ता, ब्याज तिर्न नसकेर व्यवसायी आजित भएको बताए । उनले अहिले यातायात व्यवसायीहरुसँग गाडी मर्मत गर्ने रकमसमेत नभएको बताए । त्यस्तै लकडाउनको अवधिमा अर्बौ घाटा यातायात क्षेत्रले ब्यहोरेको तुलसीपुर यातायात प्रालिका अध्यक्ष तथा व्यवसायी पवनराज बुढाथोकीले बताए । ‘हामी यातायात व्यवसायीहरु घर न घाटका भएका छौँ । कसरी किस्ता तिर्ने भन्नेमा व्यवसायीहरु छन् ?’ उनले भने । राज्यले समेत विगतमा बेवास्ता गर्दै आएको यातायात क्षेत्रमा कोरोनाले झनै तहस–नहस पारेको उनको भनाइ छ । ‘कोरोना महामारीले यातायात क्षेत्रमा ठूलो असर ग¥यो । व्यवसायीलाई टिक्नै नसक्ने गरी यसले थला पारेको छ’, उनले भने ।
यातायात क्षेत्रमा स्वरोजगार व्यवसायीलाई किस्ताको चिन्ता छ भने मजदुर, सह–चालक र कर्मचारीको अर्को समस्या रहेको छ । अहिले सवारी साधनभन्दा पनि पहिले कसरी रोगबाट बच्ने भन्ने रहेको छ । त्यसैले ज्यानभन्दा ठूलो केही नभएकाले यस क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा छलफल गरी अगाडि बढ्नुपर्ने अवस्था रहेको छ । दैनिक रुपमा कोरोना संक्रमण बढिरहेकाले पनि अवस्था के हुने र ध्वस्त सार्वजनिक यातायातको पुनरागमन कसरी गर्ने भन्ने विषय जटिल बन्दै गएको छ ।
पछिल्लो समयमा बढेको सवारी साधनको भाडाले केही व्यवसायीहरुलाई राहतको महशुस भए पनि त्यसमा आवश्यक इन्धनको वृद्धिले गर्दा व्यवसायीहरु भने खिन्न छन् । यसको प्रत्यक्ष असर भने सर्वसाधारणमा परेको छ । कोरोनाको रोकथाम र संक्रमणबाट बच्नका लागि यातायात क्षेत्रमा काम गर्ने मजदुर तथा यातायात व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप लगाउनुपर्ने माग गरे पनि केहीले लगाएका छन् भने केही भने अझै खोपबाट बञ्चित छन् ।