बार्षिकोत्सव विशेषांक
खेमराज रिजाल
दाङ, २८ साउन । वैशाख महिनाको अन्तिम सातादेखि जेठ महिनाको पहिलो सातासम्म दाङ कोरोना भाइरसको संक्रमणले अक्रान्त बनिरहँदा तुलसीपुर उपमहानगरपालिकाको अश्वारामा एक साताकै बीचमा सुविधा सम्पन्न मेट्रो अस्पताल सञ्चालनमा आयो । प्रयोगशाला, एचडियु बेड, एक्सरे सेवासहितको अस्पताल एकाएक सञ्चालनमा आएपछि तुलसीपुर उपमहानगरपालिकाबासी मात्र नभएर पश्चिम दाङकै कोरोना संक्रमित बिरामीहरुले सो अस्पतालमा सेवा लिइरहेका छन् ।
‘हामीले एक साताभित्रै अस्पताल सञ्चालनमा ल्याउन सफल भयौं, यो कोरोनाले जुराएको एउटा अवसरका रुपमा पनि लिन सकिन्छ’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे भन्छन्– ‘अस्पताल सञ्चालनका लागि तुलसीपुरबासीमात्र नभएर आप्रवासी नेपालीहरुबाट पनि अर्थपूर्ण रुपमा सहयोग जुट्यो ।
कसैले पैसा पठाइदिए, कसैले अक्सिजन सिलिण्डर नै दिए त कसैले एचडियु बेड र अक्सिजन कन्सन्ट्रेटरसमेतका स्वास्थ्य सामग्रीहरु उपलव्ध गराएका थिए । निर्माण सम्पन्न भइनसकेको भवनमा सबैको सहयोग जुटेपछि एक साताको प्रयासमै तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल सञ्चालनमा ल्यायो । फिजिसियनसहित मेडिकल अफिसरहरु र अन्य स्वास्थ्यकर्मीहरुको व्यवस्थापन भएपछि अहिले कम्तीमा दशजना कोरोना संक्रमितहरुले त्यहाँ भर्ना भएर उपचार पाइरहेका छन् ।
मेट्रो अस्पतालमात्र होइन, कोरोना संक्रमण देखिएसँगै नगरपालिकाको मातहतमा रहेका अन्य स्वास्थ्य संस्थाहरुमा पनि स्वास्थ्य उपचार सेवाको स्तरबृद्धि गरिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए । ‘जहाँ बच्चाका लागि सिटामोल सिरफसमेत नियमितरुपमा उपलव्ध हुने अवस्था हुन्थेन, त्यहाँ अचेल उपयुक्त प्रयोगशालासहित बिरामीलाई आवश्यक परेकाबेला अक्सिजन सुविधा र रिफर हुनका लागि एम्बुलेन्स सेवासमेत उपलव्ध छ’, स्वास्थ्य निरीक्षक केसी भन्छन्– ‘यो कोरोनाले अत्याएका कारण चाँडै सम्भव भएको हो ।’
पूर्वी देउखुरीको भालुवाङ, लालमटिया र सिसहनियाका स्थानीयबासीलाई सामान्य स्वास्थ्य परीक्षणका लागि एमबिबिएस चिकित्सक पाउनका लागि लमही र घोराही धाउनुपथ्र्यो तर अब त्यो अवस्था रहेन । कोरोना भाइरसको संक्रमण उकालो चढ्दै गर्दा राप्ती गाउँपालिकाले लालमटिया र सिसहनियाका स्वास्थ्य चौकीको स्तरबृद्धि ग¥यो । त्यहाँ चौबीसै घण्टा एमबिबिएस चिकित्सकबाट स्वास्थ्य उपचार सेवा भइरहेको छ ।
‘स्वास्थ्य संस्था स्तरबृद्धिको प्रक्रियामा त प्रवेश गरेकै थियो तर यति चाँडै यस्तो सेवा प्रवाह गर्नका लागि कोरोना भाइरसको संक्रमण एउटा गतिलो अवसर बन्यो’, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल भन्छन् । यो मात्र होइन राप्ती गाउँपालिकाले केही महिनामा पालिकामै कम्तीमा १५ बेडको अस्पताल सञ्चालन गर्दैछ । यसको डिपिआर स्वीकृत भएर निर्माणका लागि टेण्डरसमेत भइसकेको गाउँपालिकाले जनाएको छ ।
‘हामीलाई स्वास्थ्य संस्थाहरुको सुदृढीकरण र जनशक्तिको व्यवस्थापनमा कोरोनाले धेरै अत्याएको हो, त्यसैले कोरोनालाई केही हदसम्म अवसरका रुपमा पनि स्वीकार्नु उपयुक्त हुनेछ’, प्रमुख प्रशासकीय अधिकृत रिजाल भन्छन् । स्वास्थ्य सेवा मात्र होइन, कोरोना भाइरसको संक्रमणले जनस्वास्थ्यका आनीबानीमा समेत सुधार ल्याएको उनको दावी थियो ।
लमहीको रातोडाँडामा एउटा कोरोना विशेष अस्पताल निर्माण भइसकेको छ । यो विशेष अस्पताल हाललाई कोरोना विशेष भनिए पनि कालान्तरमा यो स्वास्थ्य संस्था एउटा साझा स्वास्थ्य संस्था हुनेछ । यहाँ अन्य सरुवा रोगका बिरामीहरुको पनि उपचार सेवा उपलव्ध हुनेछ । एक्सरे सेवा, अक्सिजन सेवासहित भर्ना र उपचार कक्ष, उपयुक्त प्रयोगशाला सेवा समेत सो अस्पतालमा उपलव्ध छन् । कोरोना भाइरसको संक्रमणले मुलुकलाई आक्रान्त बनाइरहेका बेला देउखुरीमा पनि बिरामीलाई उपचार सेवा प्रदान गर्ने भरपर्दो स्थान थिएन ।
यही अवसरमा देउखुरीका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका र लमही नगरपालिकाको सामूहिक प्रयासमा अस्पतालमा आइसोलेसन सञ्चालनमा आयो । यो पनि एउटा कोरोना भाइरसको संक्रमणले जुराएको अवसर भएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले गोरक्षलाई बताए । ‘देउखुरीका चार पालिकाले प्रतिपालिका २० लाख रुपैयाँ जम्मा गरेर लमहीमा एउटा कोरोना विशेष अस्पताल निर्माण गर्न सफल भयौं’, राजपुर गाउँपालिकाका अध्यक्ष केसीले भने । सो अस्पताललाई थप स्तरोन्नति गर्न भने अझै बाँकी रहेको छ । सम्भवतः यसमा पालिकाहरुले थप लगानी गर्नेछन् ।
बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा सञ्चालनमा आएको १५ शैयाको अस्पतालमा अक्सिजन सिलिण्डरसमेत उपलव्ध देखिन्छन् । अस्पताल प्राङ्गणमा अक्सिजनसहितको एम्बुलेन्स तैनाथ छ । ‘हामीले काभ्रेमा मात्र होइन, हासीपुर स्वास्थ्य चौकीमा समेत स्वास्थ्य सेवामा स्तरबृद्धि गरेका छौं, गम्भीर प्रकारका बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउनका लागि हासीपुरमा पनि नियमित एम्बुलेन्स सेवा उपलव्ध छ’, बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली भन्छन् । स्वास्थ्य संस्थाको स्तरबृद्धिको अभियान जनप्रतिनिधि आएलगत्तै सुरु भएको भए पनि कोरोना भाइरसको संक्रमणले यो अभियानलाई अत्याएको उनको अभिव्यक्ति थियो ।
शान्तिनगर गाउँपालिकाको धनौरीमा २० बेडको आइसोलेसन तयार छ । सामान्य रुघाखोकी र ज्वरो आउँदा उपचारका लागि तुलसीपुरसम्म धाउनुपर्ने अवस्था अब हटेको छ । कोरोनाको संक्रमणकै कारण यति चाँडै धनौरीमा अक्सिजन सुविधासहितको अस्पताल निर्माण भएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताएका छन् । अब सामान्य स्वास्थ्य सेवाका लागि गाउँवासीले शहर धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाअन्तर्गतका सबै स्वास्थ्य चौकीमा प्रयोगशालासहित एमबिबिएस चिकित्सकद्वारा उपचार सेवा सुरु भइसकेको छ । ‘अन्य शीर्षकको बजेट कटाएरै पनि स्वास्थ्य संस्थामा लगाउन हामीहरु बाध्य भयौं, अहिले स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि भएको छ, यसलाई अवसरका रुपमा लिनु उपयुक्त हुनेछ’, अध्यक्ष डाँगी भन्छन् । संक्रमण उकालोमै लाग्दा संघीय सरकारले पनि स्वास्थ्य संस्थाको स्तरबृद्धि गर्न र हरेक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल निर्माण गर्न आवश्यक बजेट समेत पठायो । ‘शान्तिनगर गाउँपालिकाको सिमसुन्दरपुरमा चाँडै नै १५ बेडको अस्पताल सञ्चालनमा आउँदै छ, यो पनि कोरोनाकै उपज हो’, गाउँपालिकाका एक नागरिकले भने । कोरोनाको संक्रमण यति व्यापक नभैदिएको भए सिमसुन्दरपुरमा अस्पताल बन्न अझै केही बर्ष कुर्नुपर्ने थियो ।
पश्चिम दाङको विकट मानिने बबई गाउँपालिकाको हंशपुरमा १५ बेडको सरकारी अस्पताल निर्माणका क्रममा रहेको बबई गाउँपालिकाले जनाएको छ । संक्रमण उकालो लाग्दैगर्दा बबई गाउँपालिकाले हापुरेमा एक्सरे, इसिजी, प्रयोगशाला, भिडिओ एक्सरे तथा अक्सिजन सेवासहितको अस्पताल सञ्चालनमा ल्याइसकेको बताएको छ । अस्पतालमा एमबिबिएस डाक्टरको सेवा चौबीस घण्टा उपलव्ध रहेको गाउँपालिकाका प्रेस सल्लाहकार प्रेमबहादुर राम्जाले बताएका छन् ।
‘स्वास्थ्य संस्थाको स्तरबृद्धि त हुन्थ्यो नै तर कोरोनाका कारण अलि छिटो भएको भने यथार्थ हो’, राम्जा भन्छन् । राम्जाको भनाइमा स्वास्थ्य क्षेत्रमा गरिएको लगानी कहिल्यै पनि खेर जाने छैन । कोरोनाकै बहानामा निर्माण भएका स्वास्थ्य संस्थाले भविष्यमा कोरोनाभन्दा बाहेकका अन्य संक्रमणका समयमा पनि सेवा प्रवाह गर्न सक्ने पनि गाउँपालिकाको भनाइ थियो । ‘स्वास्थ्यको समृद्धि, शिक्षाको नयाँ सिकाई अभ्यास र सरसफाईको आनीबानीको सुधारका लागि अवसर बन्यो कोरोना’, प्रेस सल्लाहकार राम्जाले भने ।
घोराही उपमहानगरपालिकालाई पनि कोरोना भाइरसको संक्रमणले धेरै सिकायो । संक्रमण बढिरहँदा फनपार्क भाडामा लिएरसमेत बिरामीको उपचार गर्न बाध्य घोराही उपमहानगरपालिकाले घोराही उपमहानगरपालिकाको सुनपुर भकारेमा १५ शैयाको अस्पताल निर्माण गरिरहेको छ । बजारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको अवस्थालाई मध्यनजर गर्दै सुनपुरमा अस्पताल निर्माण थालिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिएसँगै घोराही उपमहानगरपालिकाले पनि नारायणपुर, रामपुर र गोग्लीमा एमबिबिएस चिकित्सकको सेवा तथा प्रयोगशाला सेवासहितका स्वास्थ्य उपचार सेवाको सुरुवात ग¥यो । ‘जटिलता धेरै सामना गर्नुप¥यो तर स्वास्थ्य संस्थाको सवलीकरणमा भने कोरोना भाइरसको संक्रमण एउटा अवसर पनि बन्यो’, नगरप्रमुख चौधरीले भने ।
जुट्दै अक्सिजन
वैशाख अन्तिम साताका ती दिनले सायद सबै जिल्लाबासीका मन छोए होलान् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा होस् वा बेलझुण्डी अस्थायी कोरोना विशेष अस्पताल र लमहीको रातोडाँडामा सञ्चालित आइसोलेसन, जहाँतही अक्सिजनको चरम अभाव खड्कियो । केही संक्रमितहरुको अक्सिजन अभावकै कारण दुखद् निधन पनि भयो ।
यहाँ कुनै पनि अक्सिजन उत्पादन उद्योग नभएका कारण नेपालगञ्जको उद्योगबाट अक्सिजन सिलिण्डर बोकेर ल्याउनुपथ्र्यो त्यो पनि सीमित कोटा सिस्टममा तर त्यो कहालीलाग्दो अक्सिजन अभावको अवस्था भने अब टरेको छ । ‘अबको एक महिनामा हामी दाङ जिल्लामै दैनिक एक हजार सिलिण्डर अक्सिजन उत्पादन गर्दैछौं’, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ भन्छन् । अभाव खेप्दै आएको दाङले सायद अब राप्ती भरीका अन्य जिल्लालाई समेत अक्सिजनको माग पूरा गर्नेछ ।
घोराही उपमहानगरपालिकाको झिङ्नीमा सञ्चालनमा आएको अक्सिजन प्लान्टले दैनिकरुपमा २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एउटा अक्सिजन प्लान सञ्चालनमा आइसकेको छ । ‘यसबाट हाल दैनिक एक सय सिलिण्डर अक्सिजन उत्पादन हुनेछ’, प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. संगीता भण्डारी भन्छिन्, एक महिनाभित्रै अर्को दैनिक २ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याउने छौं ।
संघीय सरकारले अक्सिजन उत्पादनका लागि प्लान्ट खरिद गर्न सहयोग गरेपछि एक महिनामै यो काम सम्पन्न भएको हो । दूधरासको सोनापुर सिमेन्ट उद्योगले निजीस्तरबाट सबैभन्दा बढी क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदै छ । उद्योगले आम नागरिकको सेवाका लागि अक्सिजन प्लान्ट सञ्चालनको तयारी गरेको जनाएको छ ।
‘दैनिक ४ सय ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने गरी काम हँुदैछ’, सोनापुर सिमेन्ट प्रालिका सिइओ हरि पाठक भन्छन्– ‘यहाँ उत्पादित अक्सिजनले राप्ती अञ्चलभर पुग्ने अपेक्षा गरेका छौं । उद्योगका लागि नभएर मानवीय सेवाका लागि करिब ४ करोड रुपैयाँको लगानीमा अक्सिजन प्लान्ट सञ्चालनमा आउन थालेको सो उद्योगले जनाएको छ । प्रादेशिक अस्पताल तुलसीपुरमा यसअघि नै दैनिक ७५ सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेको छ ।