खेमराज रिजाल
विजौरी, २६ साउन । रोल्पा जिल्लाको जलजलालाइ दहवनसंग जोड्दै त्यहांबाट विजौरी मानपुर, फुलवारी हुंदै जलकुण्डि जोड्ने नयां सडक रुट खोल्नकालागी संभाव्यता अध्ययनको पहल सुरु भएको छ । दहवनदेखि ग्वारखोलैखोल विजौरी सडक यातायातसंग जोडिएपछि विजौरीलाइ मानपुर हुंदै पुर्वपश्चिम राजमार्गसंग जोड्ने प्रयास समेत सार्थक बनाउन विजौरी उद्योग वाणिज्यसंघले पहल थालेको छ ।
पन्चायत कालमा गोरेटोबाट घोडेटोका रुपमा रुट खुलेको दहवन—विजौरी सडक संघियता आएसंगै सडक यातायात सेवाले जोडिएको छ । रोल्पालाइ दाङ संग जोड्ने मध्यविन्दुमा रहेको यातायातको यो नयां रुट अव विजौरी हुंदै जलकुण्डिबाट रिहार सम्म जोडिने पर्खाइमा छ ।
रोल्पालाइ दाङ संग जोड्ने मध्य दाङको यो सवैभन्दा छोटो रुट पनि हो । रोल्पाको दहवनबाट विजौरी जोड्न बढिमा २८ किमि मात्रै छ । यो नयां र सवैभन्दा छोटो रुटमा वाह्रै महिना यातायात सेवा सन्चालनकालागी पछिल्लो समयमा विजौरी उद्योग वाणिज्यसंघले सार्थक पहल थालेको छ । नयां रुटकोको स्थाइत्वसंगै रोल्पाका दक्षिणि भेक रुण्टिगढि गाउपालिकाका करीव सवै वडाका स्थानियबसीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । अहिले भर्खरै सन्चालनमा आएको यो सडक यातायात सेवाले त्यहांका विरामीहरुलाइ स्वास्थ्य उपचारकालागी दाङ आउन समेत निकै सहज हुने बताइएको छ । तत्कालकालागी रोल्पाको दहवनलाइ विजौरीसम्म जोड्ने र त्यसपछि मानपुर हुंदै दक्षिण तर्फको पुर्वपश्चिम राजमार्गको जलकुण्डिमा जोडिने छ ।
गएको शनीवार विजौरी उद्योग वाणिज्यसंघको अगुवाइमा सर्वदलिय÷सर्वपक्षिय छलफल भएपछि सोमवार दहवन—विजौरी सडक खण्डको रानीवास स्थीत ग्वारखोलामा काम चलाउ कल्भर्ट वा अन्य वैकल्पिक व्यवस्थाकालागी स्थलगत अनुगमन तथा सर्वे समेत भएको छ । अनुगमनका क्रममा तुलसीपुर उपमहानगरपालिकाका कर्मचारी तथा प्राविधिकहरु, विजौरी उद्योग वाणिज्यसंघका पदाधिकारीहरु, रोल्पा जिल्लाको रुम्टीगढि गाउपालिका वडा नंवर ८ का वडाध्यक्ष भिम वहादुर पुन लगायतको टोलिले रानीवासस्थीत ग्वारखोलामा तत्काल हिमपाइपकालागी सर्वे समेत गरेका छन् ।
केहि समयकालागी काम चलाउन खोलामा ५÷६ वटा ठुलो साइजका हिमपाइप विच्छाएर यातायात चलाउन सकिने प्राविधिकहरुले बताएका छन् । सो स्थानमा खोलामा पहिले ग्याविन विच्छाउने, त्यसपछि हिमपाइप राखेर फेरी ग्याविन विच्छाएर सडक यातायात सहज बनाउन सकिने तुलसीपुर उपमहानगरपालिकाका प्राविधिक सव इन्जिनियर खड्क टमाटाले बताए । ‘अस्थाइ रुपमा कामचलाउ बनाउन अनुमानीत १८ लख रुपैया खर्च लाग्न सक्ने छ, बढिमा एक महिनामा काम सकिन्छ’, ती प्राविधिकले भने ।
अघिल्लो हिउद देखि दहवन देखि ग्वारखोला हुंदै विजौरी सम्म दुइ वटा ठुलो यात्रुवाहक बस लगायत केहि टेक्सीहरु सन्चालन हुंदै आएका थिए । बर्षात सुरु भएसंगै ग्वारखोलामा पानीको वहाव बढेपछि सार्वजनिक यातायात सेवा रोकिएको छ । सो सडकलाइ तत्काल सन्चालन गर्न रोल्पाका स्थानियबासीहरुले आफ्नो वडा कार्यालय मार्फत गाउपालिकालाइ दवाव दिंदै आएका छन् भने विजौरी बासी समेतको आग्रहपछि विजौरी उद्योग वाणिज्यसंघले विशेष चांसो देखाएको थियो ।
‘हामी रोल्पालाइ विजौरीमा जोड्न चाहन्छौं, ताकि यसले फेरी दिर्घकालिन रुपमा मानपुर हुंदै रिहारलाइ पनि जोड्ने छ’—विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगीले भने । उनले यसमा रोल्पाको रुम्टिगढि गाउपालिकाले पनि विशेष पहल गर्नुपर्ने बताए । रोल्पालाइ विजौरीमा जोडेर पुर्वपश्चिम राजमार्ग सम्म जोड्न सकिए यो सडकले शहीद स्मृतिमार्ग हुंदै मध्यपहाडी लोकमार्गलाइ पनि जोड्ने उनको भनाइ थियो । यसले विजौरीको व्यापारीक गतिविधि समेत अपेक्षित रुपमा बढ्ने बताइएको छ । अनुगमनका क्रममा विजौरी उद्योग वाणिज्यसंघका पदाधिकारीहरु यज्ञ वहादुर पुन, रेश्मी खड्का, तुलसीपुर उपमहानगरपालिकाका स्टोर प्रमुख थापा संघका प्रेस सल्लाहकार राकेश बस्नेत, पत्रकार खेमराज रिजाल, गोकर्ण पौडेल लगायतको उपस्थीती रहेको थियो ।
रानीवासमा पत्रकारहरुसंग कुरा गर्दै रोल्पा जिल्लाको रुम्टीगढि गाउपालिका—८ का वडाध्यक्ष भिम वहादुर पुनले आफुले यहि साउन २८ गते हुन थालेको रुम्टिगढि गाउपालिकाको कार्यपालिका बैठकमा यो सडकलाइ तत्काल सन्चालनकालागी आवस्यक प्रस्ताव लैजाने बताएका थिए । ‘यो सडक हाम्रो गाउपालिकाको वडा नंवर १ वाहेक ८ वटै वडाका स्थानियबासीलाइ पायक पर्ने सडक हो, त्यसैले पनि हामी सवै वडाध्यक्षहरुले यो सडक तत्काल सुचारुकालागी आवस्यक पहल गर्न र आर्थिक लगानी गर्न समेत गाउपालिका बैठकमा प्रस्ताव लैजाने छौं’—अध्यक्ष पुनले भने ।
बर्षातको मौसमसंगै खोलामा पानीको वहाव बढेपछि राीवास खोलामा यातायात सेवा सन्चालन हुन सकेको छैन । सडक अवरुद्ध भएपछि सो क्षेत्रका स्थानियबासीहरु यात रोल्पाको होलेरी हुंदै घोराही यात दहवनबाट कपुरकोट हुंदै तुलसीपुर सम्म धाउन बाध्य भएका छन् । यसरी घुम्नुपर्दा कम्तिमा पनि एक पटक आवतजावत गर्दा एक हजार रुपैया भाडा मात्रै खर्च हुने गरेको उनीहरुको भनाइ छ । सुत्केरी व्यथाले च्यापेपछि बच्चा जन्माउन होस वा नुनतेलको जोहो गर्न उनीहरुको मुख्य बजार दाङको घोराही र तुलसीपुरनै हो । त्यहांको स्थानिय उत्पादन कृषि उपजको बजार पनि दाङनै भएको स्थानियबासीले बताएका छन् ।