३ बर्षीय छोरीको उपचारमा सहयोग गरिदिन आग्रह

दाङ,२६ साउन । ३ बर्षीय छोरीको उपचारमा सहयोग गरिदिन एक परिवारले आग्रह गरेको छ । रोल्पा परिवर्तन गाउँपालिका–५ राङकोट घरभै हाल घोराही उपमहानगरपालिका–१८ खरकट्टीमा बसोवार गर्दै आएका रन्जित सुनार र पूर्णमाया सुनारले आप्mनी ३ बर्षीय कान्छी छोरी देविका सुनारको उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन ।

उनीहरुले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो आग्रह गरेका हुन । छोरीको जन्मदेखि नै पाचन प्रणाली गराउने आन्दा जाम भएका कारण मुखबाट खाना खान नमिल्ने भएकाले अहिले नाकबाट तरल पदार्थ खुवाएर बचाउनु परेको र मुखबाट खाना खानका लागि पाचन प्रणाली बन्द भएको नसा खुलाउनका लागि अप्रेसन गर्नुपर्ने भएकाले उपचारमा सहयोग गरिदिन आमा पूर्णमाया सुनारले आग्रह गरेकी छिन् ।

घरको कमजोर अवस्थाका कारण तीन बर्षको अवधिमा छोरीको उपचारका लागि २१ लाख रुपैया खर्च भैसकेको भन्दै अहिले बाध्य भएर मिडियामा आउनु परेको बताइन । ‘घरको कमजोर अवस्थाका छोरीको अप्रेसनमा समस्या भएको छ । पैसा जम्मा भए जति सक्यो चाडै अप्रेसन गर्नुपर्ने अस्पतालले भनिरहेको छ’–आमा पूर्णमायाले भनिन्–‘अप्रेसका लागि अस्पतालले पाँच लाख रुपैया जम्मा गर्ने भनेको छ । तर हामीसँग अहिले त्यती पैसा छैन । जसले गर्दा अप्रेसन गर्न सकिरहेका छैनौ ।’ उनले पाँच लाख रुपैया भए छोरीको अप्रेसन हुने बताइन ।

त्यसैगरी बुबा रन्जित सुनारले पनि छोरीको अप्रेसनका लागि आर्थिक सहयोग गरिदिन सवैसँग आग्रह गरेका छन् । तीन बर्षको अवधिमा छोरीको उपचारका लागि आफुले काठमाडौंमा रहेको कान्ति बाल अस्पताललगायतका विभिन्न अस्पतालहरुमा करिव २१ लाख रुपैया सकिसकेकाले अहिले उपचारमा समस्या भएको बताए ।

‘छोरीको उपचारका क्रममा आफुले सात बर्ष विदेश बसेर कमाएको पैसासँगै आफ्नो सम्पती समेत बचिसकेको छु तर उपचारमा पुगेको छैन’–बुबा रन्जितले भने–‘आफुसँग भएको सवै सकिएपछि अहिले आर्थिक सहयोगका आग्रह गरिरहेको छु ।’ उनले आर्थिक अभावका कारण छोरीको उपचारसँगै उनलाई बचाउनका लागि नियमित दुध, अनारको जुस र दालको झोल खुवाउन समेत आफुहरुलाई समस्या परिरहेको बताए ।

कान्ति बाल अस्पतालमा सिटी स्क्यान गर्दा दुई बर्ष अघि नै छोरीको पाचन प्रणाली गराउने आन्दा बन्द भएको थाहा पाएपनि छोरीको तौल ८ किलो नपुग्दासम्म अप्रेसन गर्न नमिल्ने भएका कारण पनि धेरै पैसा सकिएको परिवारले बताएको छ ।

आर्थिक सहयोग गर्नका लागि पूर्णकुमारी सुनारको नाममा प्रभु बैंक घोराही शाखामा रहेको खाता नम्वर ०३६०१७२५४८६०००१९ वा मोवाइल नम्वर ९८४०६३२२६४मा सम्पर्क गरेर सहयोग गर्न सक्ने आमा पूर्णकुमारीले बताइन ।