भ्याक्सिनमा भरोसा…

लिलाधर वली

तुलसीपुर–१७ मानपुरमा आमालाई खोप लगाउन पुगेका शंकर रिजाललाई खोपकै लाइनमा बसेका एकजना वयोबृद्धले भनेका थिए– ‘बावु तिम्रो पालो त अझै दुई बर्ष आउँदैन होला किनकि बल्ल हामी ६० बर्ष माथिकाले लगाउँदै छौं ।’ ती वृद्धको शब्दले उनलाई निकै घोत्ल्याएको थियो । अन्ततः उनले ठीक डेढ महिनापछि खोप लगाउने पालो पाए, शिक्षकको कोटाबाट ।

निजी विद्यालयमा अध्यापनरत शंकर खोप लगाउँदा निकै आशावादी देखिए । ‘खोप लगाएपछि उनकी आमालाई सामान्य ज्वरो आयो तर उनलाई त्यो रियाक्सनको कुनै प्रवाह गरेनन् । ‘अब त हामी परिवारै सुरक्षित भएका छौं, किनकि हामीले पहिलो डोज खोप लिइसक्यौं, कोरोना संक्रमण भैहाले पनि हामीले सम्भवतः ज्यान गुमाउनुपर्ने छैन’, यो भनिरहँंदा उनको अनुहारमा खुसी पोतिएको थियो ।

घोराही उपमहानगरपालिका–१५ निवासी हरिप्रसाद डाँगी कोरोना भाइरसविरुद्धको खोप लगाएपछि आफ्नो आयु लम्बिएकोमा विश्वस्त छिन् । ६५ बर्षीय डाँगीले कोरोना खोप लगाएपछि कोरोना रोगको डर हराएको बताइन् । कोरोना भाइरसको पहिलो र दोस्रो संक्रमण झेलेकी उनले अहिले खोप लगाएपछि ढुक्क बनेको बताइन् । ‘कोरोनाका कारण दिनहुँ मानिसहरु मरेको खबर सुन्दा सुरुमा डर लाग्ने गरेको थियो’, उनले भनिन्– ‘तर अहिले रोगविरुद्ध खोप लगाएपछि डर कम भएको छ ।’ उनले आफू सबै नागरिकलाई कोरोना रोगविरुद्धको खोप लगाउनसमेत आग्रह गरेकी छिन् ।

त्यसैगरी कोरोनाविरुद्धको खोप लगाएपछि घोराही उपमहानगरपालिका–५ धर्ना निवासी कमला शर्मालाई पनि डर हटेको छ । कोरोना भाइरसका कारण त्रासमै जीवन बिताइरहेका उनले गत महिना कोरोनाविरुद्धको खोप लगाएपछि डर हराएको बताइन् । ‘कोरोना भाइरसका कारण गाउँघरमै मानिसहरु मर्न थालेपछि डर लागिरहेको थियो’, उनले भनिन्– ‘तर अहिले कोरोनाविरुद्धको खोप लगाएपछि बाँच्ने आशा पलाएको छ ।’

उनले अब लकडाउन नगर्ने गरी सबै जनतालाई कोरोनाविरुद्धको खोप लगाउनसमेत सरकारसँग आग्रह गरेकी छिन् । ‘कोरोना भाइरसको संक्रमण बढ्यो भनेर लकडाउन गर्ने होइन । सरकारले लकडाउन नगर्ने गरी जनतालाई खोप लगाउन ध्यान केन्द्रित गर्नुपर्छ’, शर्माले भनिन्– ‘त्यसका लागि सरकारको मुख्य प्राथमिकता नै खोप हुनुपर्छ ।’

यी त प्रतिनिधिमूलक पात्रहरु मात्र हुन् । जिल्लामा कोरोना रोगविरुद्धको खोप लगाएपछि धेरै नागरिकहरुमा बाँच्ने आशा पलाएको छ । भरोसा भनेकै खोप हो । खोपको विकल्प छैन भन्ने खोप केन्द्रमा उपस्थित भीडले पनि प्रमाणित गरिसकेको छ । खोप केन्द्रमा यति भीड भएको थियो कि सुरक्षाकर्मी परिचालन गर्न समेत परेको थियो ।

गएको बैशाख अन्तिम सातादेखि जेठ पहिलो सातासम्म जिल्लामा कोरोना भाइरसको संक्रमण यति चुलिएको थियो कि कुनै पनि स्वास्थ्य संस्थामा अक्सिजनको सहज आपूर्ति थिएन । अक्सिजनका लागि ठूलो संघर्ष गर्नुपथ्र्यो । कतिपय बिरामीले त आफैले अक्सिजन सिलिण्डरको जोहो गरेरै अस्पताल पुगे । कतिलाई हेलिकोप्टरबाट अन्य सुविधासम्पन्न अस्पतालमा लगियो त कतिले अक्सिजनकै अभावमा ज्यानसमेत गुमाउन बाध्य भए ।

‘हामी स्वयं पनि अत्यन्तै त्रसित थियौँ किनकि हामीले अस्पतालमा आएका बिरामीलाई आवश्यकता अनुसार अक्सिजन पुराउन सक्ने अवस्था नै थिएन त्यसैले बिरामी भर्ना लिनुभन्दा अन्यत्र पठाउने विकल्प सोच्न बाध्य हुन्थ्यौं’, बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले भनेका थिए । हो कोरोना विशेष अस्पतालबाटै दैनिक तीन खेप गरेको थियो हेलिकोप्टरले बिरामी ओसार्न ।

मृत्युवरण गर्ने दैनिक १० जनासम्म पुगेका थिए । बरण्डामा समेत उपचार गर्न बाध्य भएको थियो, बेलझुण्डी अस्पताल । खोपले नागरिकहरुको आत्मबल निकै बढाएको छ, संक्रमित भएर पनि अधिकांश नागरिकहरुले घरमै आराम गरेर कोरोना जितिरहेका छन् । ७७ जनासम्म संक्रमितको उपचार गरिएको बेलझुण्डी कोरोना विशेष अस्पतालमा अहिले मुस्किलले १० जना मात्र बिरामी उपचाररत छन् ।

आइतवारसम्म नेपालभरी २३ लाख ५० हजार नागरिकहरुले दुवै डोज खोप लगाइसकेका छन् भने ४४ लाख ५० हजार जतिले सिंगल डोज लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार विभिन्न मुलुकबाट अनुदान प्राप्त तथा केही खरिद गरेका खोपहरु गरी करिब ४० लाख खोप अझै स्टकमा रहेको छ । खोप आउने क्रम निरन्तर छ । यसले नागरिकहरुको आत्मबलसमेत बढेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा कोरोनाविरुद्ध खोप १ लाख बढीले खोप लगाएका छन् । जिल्लामा विभिन्न चरण गरी हालसम्म १ लाख १२ हजार ९ सय १६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिएका छन् । जिल्लामा १८ बर्षमाथिका कोरोना खोप लगाउने लक्षित समय ३ लाख ७१ हजार ९ सय १६ मध्ये हालसम्म करिब सवा १ लाखले खोप लगाएको प्रमुख शाहीले बताए ।

उनका अनुसार अझै जिल्लामा करिब २ लाख ५० हजार जनसंख्या खोपको प्रतिक्षामा रहेका छन् । ‘कोरोनाविरुद्धको खोप १८ बर्ष उमेर समूहभन्दा माथिकालाई लगाउने भनिएको छ’, कार्यालय प्रमुख शाहीले भने– ‘त्यहीअनुसार अहिले जिल्लामा खोप लगाउने काम भइरहेको छ ।’ उनका अनुसार जिल्लामा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । जसमा कोभिशिल्डको पहिलो खोप लगाएका केही नागरिकहरुले दोस्रो खोप पाउन नसकेको भन्दै त्यसका लागि अबको केही दिनमा दोस्रो डोजको खोप आउन थालेको कार्यालय प्रमुख शाहीले बताए ।

कार्यालय प्रमुख शाहीका अनुसार जिल्लामा कोभिशील्ड खोपको पहिलो मात्रा २० हजार ३ सय १४ जनाले लगाएको बताए । साथै उनले जिल्लामा कोभिशल्डको दोस्रो खोप यही महिनाभित्रै पहिलो खोप लगाएका व्यक्तिहरुलाई दिइने बताए । ‘कोभिशिल्डको पहिलो चरणको खोप लगाउनुभएको तर दोस्रो डोजको खोप नपाएका धेरै हुनुहुन्छ’, कार्यालय प्रमुख शाहीले भने– ‘उहाँहरुका लागि दोस्रो डोजको खोप आउँदैछ ।

यही महिनाभित्र उहाँहरुले पाउनुहुन्छ ।’ स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा जोन्सन एण्ड जोन्सन खोप ४४ हजार बढीले लगाएका छन् । कोभिशिल्ड खोपको पहिलो डोज खोप लगाउनेको संख्या २८ हजार ३ सय ११ र दोस्रो डोज खोप लगाउनेको संख्या ९ हजार ४२ जना रहेको छ । त्यसैगरी जिल्लामा भेरोसेल खोपको पहिलो डोज लगाउनेको संख्या ४७ हजार ६ सय २१ र दोस्रो डोज लगाउनेको संख्या ९ हजार ८ सय २ जना रहेको कार्यालय जनाएको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा हालसम्म ८ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २ सय ८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितमध्ये ८ हजार १ सय ८८ जना उपचारपछि घर फर्किएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार शनिवारसम्म जिल्लाका १ सय ५१ सक्रिय संक्रमितको संख्या रहेको छ । जसमध्ये ८ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत अवस्थामा रहेका छन् ।

अन्य १८ जना सामान्य अवस्थामा अस्पतालमा उपचारत रहेका छन् भने १ सय २५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । नागरिकहरु भने खोप लगाउन निकै आतुर छन् । त्यसमा पनि स्कुले विद्यार्थीहरु खोपका लागि थप लालायित भएका छन् । कम्तीमा खोप लगाउन पाए त विद्यालयहरु भौतिकरुपमै सञ्चालन हुन सक्थे भन्ने शिक्षक तथा विद्यार्थीहरुको व्यग्र चाहना देखिन्छ ।

खोप स्टोरेज क्षमता बढाएका छौं

कोभिड–१९ को जोखिमलाई मध्यनजर गरेर जिल्लामा कोरोना भाइरसविरुद्धको खोप राख्नका लागि स्टोरेजको क्षमता समेत बढाइएको छ । कोरोना संक्रमणभन्दा पहिले सामान्यतः १० हजारसम्म खोपलाई राख्न सक्ने क्षमता रहेकोमा अहिले बढाएर करिब २ लाख बढी भ्याक्सिन राख्न सकिने व्यवस्था गरेको कार्यालय प्रमुख शाहीले बताए ।

स्वास्थ्य कार्यालयमा मात्र नभएर थप खोप राख्नका लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा समेत खोप राख्ने व्यवस्था मिलाइएको उनले बताएका छन् । उनले कार्यालयमा डिफ्रिजको व्यवस्थासँगै नियमित विद्युतको लागि ट्रान्समिटर जोडेर भ्याक्सिन राख्ने व्यवस्था मिलाएको बताए । दुवै ठाउँमा गरेर अहिले करिब २ लाखसम्म भ्याक्सिन राख्न सकिने व्यवस्था मिलाएको शाहीले जानकारी दिएका छन् । उनले जिल्लामा २ लाख ५० हजार बढी भ्याक्सिन स्टोर गरेर राख्न सक्ने समेत बताए ।

चिकित्सकको सल्लाह

कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुलाई भाइरसले पुनः आक्रमण गर्ने सम्भावना पनि रहने चिकित्सकहरुले बताएका छन् । ‘खोप लगाएकाहरुमा नलगाएकामा भन्दा मृत्युको जोखिम निकै कम हुन्छ, तर संक्रमण फैलाउने काम भने खोप लगाएकाहरुबाट पनि हुनसक्छ’, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन मिनचन्द्र अधिकारी भन्छन् । खोप लगाएका नागरिकहरु आफू सुरक्षित भए पनि संक्रमण फैलाउने भरियाका रुपमा भने हुनसक्ने उनको अभिव्यक्ति थियो । यो अवस्थामा खोप लगाएकाहरुले पनि नेपाल सरकारले तोकेका न्यूनतम स्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

कोरोना भाइरस संक्रमणदर घट्दै गएपछि लकडाउनलाई लुजडाउन गर्ने काम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको विज्ञप्तिअनुसार अहिले पनि जिल्लामा लकडाउन छ तर नाममा मात्र । कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि प्रत्येक नागरिकले स्वास्थ्य मापदण्ड पालना अनिवार्यरुपमा गर्नुपर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

तर पछिल्लो समय स्वास्थ्य मापदण्ड पालना हट्दै गएपछि कोरोना संक्रमणदर समेत बढेको छ । जसले गर्दा पुनः तेस्रो चरणको कोरोना भाइरसको संक्रमण आउन सक्ने आशंकासमेत गरिएको छ । तेस्रो चरणको कोरोना संक्रमणबाट बच्नका लागि अनिवार्यरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

 चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस विश्वभर फैलिएको छ । जसका कारण विश्वमा १९ करोड बढी मानिसको मृत्यु भएको छ । स्वास्थ्य संघका अनुसार शनिवारसम्म विश्वमा २० करोड ३ लाख ३ हजार ५ सय ९० जना संक्रमित भएका छन् । कोरोनाका कारण विश्वभर ४२ लाख ५९ हजार ६ सय ५० जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये १८ करोड ५ लाख ६३ हजार ३० जना उपचारपछि घर फर्किएका छन् । कोरोनाका कारण नेपालमा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७ लाख ८ हजार ८९ जना संक्रमित भएका छन् । जसमध्ये ६ लाख ६२ हजार ६ सय ६३ जना उपचारपछि घर फर्किएका छन् ।