यात्रा जारी रहने छ…

प्रकाशकीय

हामी १७औ वर्षको यात्रामा प्रवेश गरेका छौँ, यो वर्ष हामी अत्यन्त अप्ठेरो समयमा छौं । यतिबेला हामी मात्र होइन सिंगो विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त भएको छ । यतिबेला कोभिड–१९ को तेस्रो लहरले मानवीय जनजीवनमा फेरि उथल–पुथल ल्याउन लागेको संकेत देखिन लागेको छ । यस परिस्थितिमा पनि हाम्रा ग्राहक बर्गमा सही सूचना, समाचार निरन्तर पु¥याइरहेका छौँ । कोभिड–१९ को कारण कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हामी केही समय अनलाइनबाट पनि तपाईहरुसमक्ष आउने जमर्को गरिरहेका थियौ । केही समय पत्रिका तपाईहरुसमक्ष पस्किन नपाउँदा हामी पनि दुखी भयौँ ।

हामी आजदेखि १७औं वर्षमा प्रवेश गरेका छौं । गोरक्ष राष्ट्रिय दैनिक पत्रिकाले विगतका बर्षहरुमा जस्तो भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन असमर्थ रहेको पनि जानकारी गराउँछौ । यस वर्ष कार्यक्रमको आयोजना गरी पाठक र ग्राहकवर्गसँग प्रतिक्रिया लिनका लागि मञ्च तयार गर्न सकेनौँ । हरेक पलमा सँगै रहेका हामी र सम्पूर्ण पाठक अनि विज्ञापनदाताबीचको सहकार्यले नै गोरक्ष दैनिकको यो यात्राको निरन्तरतालाई सम्भव तुल्याएको हो । यो अवसरमा हामी हाम्रा आदरणीय पाठकलाई सम्झिन चाहन्छौँ, जसले हामीलाई निरन्तर खबरदारी गरिरहनुभएको छ ।

लेखकहरु जो हाम्रो पत्रिकामार्फत आम पाठकलाई वैचारिक बहसमा सामेल गराइरहनुभएको छ । पाठकहरु जसले रचनात्मक सुझावमार्फत हामीलाई परिस्कृत सुझाव दिइरहनुभएको छ । हरेक पलमा पत्रिका पुगे–नपुगेको खबर दिइरहन भएको छ । अनि विज्ञापनदाता, जसले हाम्रो आर्थिक पक्षको व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिदिनुभएको छ । नागरिकको आवाजलाई अभिव्यक्त गर्ने माध्यमका रुपमा यो पत्रिकालाई स्थापित गर्न खटिने हाम्रा सबै कर्मचारी सदस्यहरुप्रति पनि हामी आभार प्रकट गर्दछौं । हाम्रा कर्मचारीहरु जो प्रकाशन गृहको हितका निम्ति रातदिन खटेको छ, आम पाठकको हातहातमा पत्रिका पु¥याउनका लागि जसले मेहनत र लगनशीलता देखाइरहनुभएको छ सबैप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ ।

गोरक्ष प्रकाशनमा गरिएका यसका सैद्धान्तिक प्रतिवद्धताहरुबाट हामी पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ । आम मानिसको जनजीविकाको सहयात्री बन्ने हाम्रो ध्येयसँगै विधिको शासन र लोकतान्त्रिक संस्कारयुक्त समाज निर्माण हाम्रो प्रतिवद्धता हो । यसअनुरुप समाजका सुदृढीकरणहरुलाई सम्बोधन गर्ने लोकतान्त्रिकीकरणको अभियानमा हामीले साथ दिँदै आएका छौ । अहिले दाङका केही विशेष र दूरगामी महत्व राख्ने सवालहरु हाम्रा सामु उपस्थित छन् । हामीले हरेक मुद्दाहरुलाई स्थानीयतामै केन्द्रित गराउन पनि चाहन्छौ । यो गर्दै पनि आएका छौ ।

स्थानीय बिषयहरु पनि पत्रिकाका पहिलो समाचार बन्न सक्छन् भन्ने कुरा हामीले स्थापित गरिदिएका छौ । यहीँका नागरिकको सवाल, उनीहरुको आवश्यकता, ती आवश्यकता पूर्तिका उपायहरुको खोजी र ती उपायहरुलाई कार्यान्वयनको तहसम्म पुराउनका लागि आवश्यक सामूहिक भावनाको विकास हाम्रो अर्को चाहना हो । हाम्रा प्रकाशनका हरेक सामग्रीहरु कसैप्रतिको आग्रह वा पूर्वाग्रहभन्दा पनि विशुद्ध जनआवाज हुन् । हाम्रो सम्पादकीय नीति, सीमित स्रोत र साधनको अधिकतम् उपयोग गरेर आम पाठकको रुचिलाई समेट्ने क्रममा हामी कतिपय ठाउँमा चुकेका पनि छौँ होला । तर पनि हाम्रा पाठकहरुले त्यसलाई स्वीकार गर्नुभएको छ ।

हाम्रा कमी–कमजोरीले गर्दा पाठकमा पर्न जाने असुविधाप्रति हामी क्षमायाचना पनि गर्दछौँ र आगामी दिनहरुमा यस्ता कमी–कमजोरीहरु सुधार गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ । आम पाठकको सबै रुचिलाई अझै पनि हामीले समेट्न सकेका छैनौँ होला र १७औ वर्षको प्रवेशसँगै हामी अझै पाठकको रुचिअनुसार परिस्कृत हुँदै जाने प्रतिबद्धता व्यक्त गर्दैछौँ । र यहाँहरुको आलोचनात्मक सहयोगको सदा अपेक्षा गर्दछौँ ।

पत्रिकामा लगानी कसैको भए पनि यो आम पाठकको सम्पत्ति हो । यो सम्पत्तिको जगेर्ना गर्नका लागि पाठकहरु स्वयंको भूमिका आवश्यक पनि पर्छ । तर त्यसका लागि पाठकहरुले ‘यो मेरो पत्रिका हो’ भन्ने महसुस गराउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं । हाम्रो यही प्रयत्न जारी छ । यो पत्रिकालाई तपाईहरुको अझ प्रिय पत्रिका बनाउने योजनाका साथ १७औं वर्ष प्रवेशको यो सुखद् घडीमा हामी अबिरल यात्रामा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।