रोल्पा आईटिएफ तेक्वान्दोे संघ बर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित

दाङ,२२ साउन । आईटिएफ तेक्वान्दोको संघ रोल्पा जिल्ला बर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २४ औँ केन्द्रीय बार्षिक उत्सवको अबसरमा शुक्रबार काठमाडौंमा रोल्पा आईटिएफ तेक्वान्दो संघ नेपाल भरिकै आईटीएफ तेक्वान्दो संघहरु मध्य बर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित भएको हो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष अञ्जन धमलाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका बिशिस्ट अतिथि बाग्मती प्रदेश खेलकुद परिषद का सदस्यसचीव सुर्यलाल भण्डारीले ‘वेष्ट एशोसियशन अवार्ड अफ इयर–२०२०’ बाट रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका बिक्रम बाठामगरलाई अवार्ड प्रदान गरेका थिए ।

महासंघले बर्षभरी धेरै खेलकुद गतिविधि तथा खेलाडी उत्पादन गर्ने संघलाई वर्ष उत्कृष्ट जिल्ला संघको रुपमा पुरस्कृत गर्ने गर्दै आएको छ । त्यस्तै कार्यक्रममा आईटिएफ तेक्वान्दोको बर्ष उत्कृष्ठ महिला खेलाडीका रुपमा बागलुङ जिल्लाकी बसन्ती बुढामगर र पुरुष खेलाडीका रुपमा नेपाल आर्मिका भिम बहादुर तामाङ पुरुस्कृत भएका थिए ।