शिवराज खनाल
देउखुरी, २१ साउन । परम्परागत भैँसी पालन व्यवसायलाई आधुनिकीकरण गर्न देउखुरीका यादव समुदायहरूले आग्रह गरेका छन् । उनीहरूले आफ्नो समुदायले परापूर्वकालदेखि नै भैँसी पालन गर्दै आएको पनि बताएका छन् । यादव समुदायमा मानिस बिहान ५ बजेदेखि साँझ अबेरसम्म भैँसीकै लालनपालन गर्दैमा दैनिकी बिताउने गर्दछन् ।
समय परिवर्तन हुँदै गएसँगै हाल भने केही प्रतिशत व्यक्ति अन्य पेशा र व्यवसायमा लागेको भने देख्नसकिन्छ । राजपुर ३ खरदरिया निवासी लीलाराम यादव अहिले २० वर्षका भए । यादव बिहान ६ बजे आफ्नो घरमा उत्पादन भएको दूध ग्यालेनमा भरेर बेच्न लमही बजार पुग्ने गर्दछन्, उनी घर फर्कंदा दिउँसोको १२÷१ बज्ने गर्दछ । उनको घरमा एक पटकमा १६ लिटर दूध उत्पादन हुने गर्दछ । उक्त दूध लमही बजारमै खपत हुने गरेको सुनाउँछन् ।
‘हाम्रो घरमा जम्मा १६ लिटर दूध उत्पादन हुन्छ त्यो दूध बेच्न बिहानै लमही बजार पुग्नुपर्छ, घर फर्कंदा अबेर हुन्छ’– यादवले भने । उनीहरूको एउटै माग छ आफूले उत्पादन गरेको दूध बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने पनि माग गरेका छन् । गाउँपालिका वडा नम्बर ३ का अम्बरराज यादव र सन्तोषकुमार शर्माले भने आफ्नो समुदायको पुख्र्यौली पेशा भैँसी पालन भएको तर यो पेशालाई व्यवस्थित बनाउन नसकेकोमा दुःख व्यक्त गरे ।
यता राजपुर गाउपालिकामा भने भैँसी स्रोत केन्द्रको स्थापना गरिएको छ । स्रोत केन्द्रले गोठ सुधार, घाँसको व्यवस्थापन, घाँस काट्ने चारा उपकरण भैँसीको नश्ल सुधार, बिमा र उत्पादित दूधलाई बजारीकरणका लागि सहयोग गरिरहेको छ । अध्यक्ष लोकराज केसीले यस क्षेत्रमा यादव समुदायको बाक्लो बस्ती रहेको र दूध उत्पादन बढी हुने गरेकोले गाउँपालिकाभित्र भैँसीको पकेट क्षेत्र बनाउने तयारी गरेको बताउँछन् । राजपुरमा उत्पादन भएको दूध दाङका विभिन्न स्थान लमही, घोराही, भालुबाङ, सिसहनियामा खपत हुन्छ भने दुग्धजन्य सामग्री जिल्ला बाहिरका आसपासका क्षेत्रमा पुग्ने गरेका छन् ।
तीन तहको सरकारले यादव बस्तीलाई विशेष प्राथमिकता दिएर परम्परागत भैँसी पालनलाई आधुनिकीकरण गर्नसके दूध र दुग्धजन्य वस्तुमा दाङमात्र आत्मनिर्भर नभएर सिङ्गो लुम्बिनी प्रदेश नै आत्मनिर्भर हुने पनि यादव समुदायले दाबी गर्दै आएका छन् ।