लिलाधर वली
दाङ, २२ साउन । साउनको ५ गते घोराही उपमहानगरपालिका–४ भकारेमा बँदेल मारेको आरोपमा पाँच जना पक्राउ परे । पक्राउ परेका उनीहरू अहिले एक लाख ४० हजार धरौटी तिरेर तारेखमा छुटेका छन् । बँदेल मारेको आरोपमा एक जना महिलासहित चार जना पुरूष पक्राउ परेका थिए । पक्राउ परेकामध्ये महिलालाई २० हजार र पुरूषहरू ३०÷३० हजार रूपैयाँ धरौटी तिरेर छुटेका हुन् ।
त्यस्तै साउनको ९ गते संरक्षित वन्यजन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परे । बबई गाउँपालिकाको हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहतेखोला नजिक जाँच गर्ने क्रममा प्रहरीले दुई थान जरायोको सिङसहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।
यी प्रतिनिधिमूलक घट्नाहरू हुन् । डिभिजन वन कार्यालय दाङकाअनुसार साउन महिनाको २० गतेसम्म वन्यजन्तु चोरीशिकारी तथा ओसारपसारमा संलग्नतासम्बन्धी ४ वटा घटनाहरूमा ११ जना पक्राउ परेका छन् । यस अवधिमा दाङमा चितुवाको छालासहित १ जना, जरायोको २ थान सिङसहित ३ जना, रेडपाण्डाको छालासहित १ जना र बँदेलको मासुसहित ५ जना पक्राउ परेका छन् ।
उनीहरूलाई डिभिजन वन कार्यालय घोराहीको वन रक्षकहरूको टोली र नेपाल प्रहरीको टोलीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकारी समेत रहेका प्रवक्ता खिमबहादुर केसीले बताए । उनले दाङ जिल्ला वन्यजन्तुको चोरी शिकारीका दृष्टिले पछाडि रहे पनि वन्यजन्य चोरी शिकारी तथा ओसारपसार दृष्टिले ट्रान्जिट प्वाइन्टका रूपमा रहेको बताए ।
भारतसँग जोडिएका धेरै नाकाहरूसँगै चीनसम्म पु¥याउनका लागि समेत पहाडी जिल्लाको बाटोबाट सहज भएकाले दाङलाई ट्रान्जिट प्वाइन्ट बनाएर वन्यजन्तुको कारोबार हुने गरेको प्रवक्ता केसीले बताए । ‘दाङमा ठूला जंगली जनावर नभएकाले दाङमै वन्यजन्तुको चोरीशिकारी कमै मात्रमा हुन्छ’–प्रवक्ता केसीले भने–‘तर बाहिरी जिल्ला तथा भारतमा वन्यजन्तु मार्ने र त्यसलाई विक्रीका लागि दाङमा आएर डिल गर्ने गरेको अनुसन्धानका क्रममा देखिन्छ ।’
उनले दाङमा बँदेल, चित्तल, चितुवा, हुँडार, जरायोलगायत वन्यजन्तु शिकारी तथा तस्करको निसानामा पर्ने गरेको बताए । उनले बाघ, रेडपाण्डालगायत ठूला वन्यजन्तु दाङमा नपाइने भएकाले बाहिर नै मारिने गरिएको बताए । तर पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जका कारण दाङको पश्चिमी क्षेत्रको जंगलमा वन्यजन्तुको चहलपहल बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।
चीनसम्म तस्करी
संरक्षित वन्यजन्तुको चोरीशिकारीमा छिमेकी देश चीनसम्म हुने गरेको छ । पक्राउ परेका वन्यजन्तु चोरीशिकारी तथा ओसारपसारमा संलग्नहरूको बयान अनुसार अधिकाश वन्यजन्तुको चोरीशिकारी चीनतिरै हुने गरेको पाइने गरेका सहायक वन अधिकृत केसीले बताए ।
धनाढ्य व्यक्तिहरूले नेपालमा पनि सजावटका लागि दुर्लभ वन्यजन्तुको छाला, सिङहरू राख्ने गरे पनि अधिकांश बाहिरतिर नै विक्री हुने गरेको उनले बताए । त्यसमध्ये अधिकांश घरमा सजावट तथा औषधीका रूपमा चीनतिर बढी जाने गरेको बताए । ‘साना वन्यजन्तुको चोरीशिकारी स्वदेशमै हुने गरे पनि ठूला जनावरको तस्करी चीनसम्म हुने गरेको देखिन्छ’–सहायक वन अधिकृत केसीले भने–‘चीनमा दुर्लभ वन्यजन्तु नपाइने र यता पाइने भएकाले बढी तस्कारी हुने गर्छहोला ।’ उनले कतिपय जनावरहरू भारतमा मारिने र नेपालको बाटो भएर चाइना पु¥याउन दाङमा मूल्य गर्दागर्दै समेत पक्राउ पर्ने गरेको बताए ।
फस्र्योट हुन १६ मुद्दाहरू बाँकी
डिभिजन वन कार्यालय दाङले गत वर्ष जिल्ला अदालतमा वन्यजन्तुसम्बन्धी ६ वटा मुद्दाहरू दायर गरेको छ । जिल्लाका विभिन्न स्थानमा पक्राउ परेका अभियुक्तहरूलाई सजायका लागि डिभिजन वन कार्यालय घोराहीले अदालतमा मुद्दा दायर गरेको हो । गत वर्ष दाङमा चितुवाको छाला ३ वटा, रेडपाण्डाको छाला २ वटा, हुँडारको छाला, पाटेबाघको छाला १–१ वटा पक्राउ परेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । कार्यालयका अनुसार वन्यजन्तुसम्बन्धी फस्र्याेट हुन बाँकी दुई वर्ष नाघेका मुद्दाहरू १६ वटा छन् ।