भरियालाई भारीको के माया ?

युवराज शर्मा

मानिसले आफ्नो वस्तु बाहेक अर्काको वस्तुको माया गर्दैनन् । त्यस्तै भरियाले अर्काको भारी बोक्छ । ज्याला माग्छ । उसलाई आफूले बोकेको वस्तुको माया हुन्न । भारी बोकेको समयमा मात्र सम्झना गर्छ । भारी गह्रौँ र हलुको महसुस गर्छ तर उसलााई भरिया किन भन्छन् ? मानिसलाई भरिया बनाउने अवस्था कस्तो समयमा हुन्छ ? जब आफ्नो समान आफै बोकेर पैदल यात्रा गर्न शारीरिक कठिनाइ पर्छ तब भरियाको खाचो पर्छ ।

जहाँ यातायातका साधनहरु उपलब्ध हुँदैन र सडक सञ्जालले एकपछि अर्को ठाउँ जोडेको हुन्न । नेपालको भू–भागमा पैदलमार्ग धेरै छन् । सडक सञ्जाल भएका क्षेत्रहरु थोरै मात्रामा छन् । पैदल यात्रा गर्नुपर्ने वाध्यता छ । भारी बोक्ने मानिसहरु मात्र भरिया हुन् र ? आजभोलि अर्काको विचार र भावनालाई अँगाल्नेहरु पनि भरिया हुन् । त्यस्ता भरियाहरु राष्ट्रका खतर्नाक व्यक्ति हुन् । उनीहरुले राष्ट्रलाई टुक्रा–टुक्रा पार्छन् । आफूले बोक्न सक्ने टुक्राहरु बोक्छन् र झुक्छन् पनि ।

साहूको मालवस्तुहरु बोक्ने मात्र भरिया होइनन् । कसैको घरमा गएर धाक, धक्कु लगाउने राजनीतिज्ञको संज्ञा दिनेहरु विचार बोकेका भरिया हुन् । उनीहरुले लोभ, मोह, रिस र अहंकारको भारी बोका छन् । यस्ता भरियाहरुको जीवन धाक, धक्कुमा बितेको छ । यिनीहरुको जीवन जिउनु र मर्नु तुल्य हुन्छ । यसबाट स्पष्ट हुन्छ कि भरियाहरु दुईथरिका हुन्छन् ।

प्रथम तहका भरियाले आफ्नो जिम्माको मालवस्तुहरु बोकेर गन्तव्यमा पु¥याउँछन् । दोस्रो तहका भरियाहरुले आफूले पाएको जिम्मेवारीलाई आफ्नै सम्पत्ति ठान्छन् । आफूलाई मालिक भन्छन् । सम्पत्ति दमपच पार्छन् । यस्ता भरियाहरु नागरिकका अगुवा भन्ने गर्छन् । राष्ट्रघाती काम गर्छन् । यिनीहरुले भारीको माया गर्दैनन् । धनको माया गर्छन् । विचार बोकेका हुन्छन् ।

भारी बोक्नेहरु भारीको मालिक हुँदैनन् । क्षणिक समयका भरियाहरु हुन् । जसरी उनीहरुले भारीको माया गरेका हुन्छन्, त्यसैगरी भारीको संरक्षण गर्छन् । आफ्नो अवधिमा इज्जत, मान र शान बढाएका हुन्छन् । कुन डेरावालले घरको माया गर्छ र ? बसुञ्जेल भाडा तिरेको सम्झन्छन् । घरबाट पाएको सुविधाहरुको जति सक्यो दुरुपयोग गर्छन् र घरबेटीलाई मर्मतको सास्ती हुन्छ । भाडाको रकमले मर्मत गर्नुपर्ने वाध्यता हुन्छ ।

त्यस्तै हो, जनप्रतिनिधि हौँ भन्नेहरुको पुच्छर लगाएको इस्टिकोटमा सीताराहरु चम्कन्छन् । यो चमक आफ्नो दक्षता होइन । अर्काको परावर्तित किरण हो । अहिलेको सांसद बनेपछि जीवनभर प्रतिनिधिसभाको सांसद बन्नेहरुले भूपू सांसद लेखेको बोलेको सुन्छौँ । उनीहरुलाई जनताको समस्या र कोरोनाको बढ्दो महामारीभन्दा आफ्नै सांसद पदको चिन्ता बढेको छ । अस्थायी पदको कति ठूलो माया छ । नागरिकलाई बुझ्न गाह्रो भयो ।

त्यसैले होला अर्को आएर नबसोस् भन्दै सांसद बस्ने कुर्सी भाँच्न सांसदहरुले भाँचेको दृश्य नागरिकले देखेका थिए । यी व्यक्तिहरु अर्काको इसारामा चल्ने भरियाहरु हुन् । विचार र भावना भएका भरियाहरु होइनन् । यिनीहरु केही समयका अस्थायी हुन् । यिनीहरुको समय र उमेर निश्चित छैन । शिक्षा र दक्षताको मापन हुन्न । जातीय, वर्गीय र वर्गका आधारमा स्थानमान पाउने हुन् । त्यो पनि पहुँच र सम्बन्धका आधारमा निश्चित हुन्छ ।

अहिले शैक्षिक योग्यता, दक्षता र पढाइको स्थरीयताको नापो हुन्न । आफ्नो मान्छे भन्छन् र फरिया र चाकडीवाजहरु अग्रभागमा पर्दछन् । आफै भरिया बनेको छ भने उसले छनोट गर्ने व्यक्ति पनि भरिया हो । शैक्षिक योग्यता, दक्षता र पढाइको स्तरीयता जोसँग छैन उसले नेपाली शब्दकोषमा भरिया र भारी शब्दहरु भेटाउन्न ।

भरियाहरुका भारी थाप्ने आफ्नै तरिकाहरु छन् । कसैले काँध थाप्छन् भने कसैले पिठ थाप्छन् । कतिले टाउकामा बोक्छन् भने कतिले हातले धेरै घिसार्छन् । यी प्रविधिहरु आ–आफ्ना पेशागत र कार्यगत कार्यशैली हुन् । अहिलेका जनप्रतिनिधिहरुले खल्तीमा बोकेर हिड्न मनपराउँछन् । त्यसकारण भरियाको संस्कार बुझेर मात्र भारी बोकाउनु पर्छ । होइनभने बोकेको भारीलाई फालेर हिड्ने चलन छ ।

नागरिकले बोकाएको भारी सत्यानास हुन के भर छ र ? तर समयचक्र ढिलो घुम्छ । भरियाहरु प्रायः भोको पेटका विपन्न परिवारका हुन्छन् । भोको पेट भर्नका लागि काममा डुबुल्की खेल्नेहरु छन् । तर यिनीहरुलाई लकडाउन र निषेधाज्ञाले ज्यादै सताएको छ । स्वदेशमा भारी बोक्ने काम नपाएपछि धेरै भरियाहरु विदेशिएकाहरु छन् । कतिपय बिचैलियाहरुको चक्करमा छन् । लोकले लाक हुनु कहाँ हो कहाँ विलाप गर्ने भरियाहरु धेरै छन् ।

कसैले राम्रो दाम कमाए भने कसैले घरखेत उडाए । आफ्नो पैतृक सम्पत्ति उडाउन सजिलो हुन्छ तर सम्पत्ति जोड्न धेरै समस्या पर्छ । सम्पत्ति बेचेर बिचौलियाहरुलाई धनपैसा बुझाएर विदेशमा बसेर धन कमाउनेले कहिल्यै पनि बेचेको सम्पत्ति फर्काएका छैनन् । सदैव भरिया बनेर विदेशिन्छन् । यस्ता युवकहरु जीवनभर रोएर बस्छन् । युवा भरियाहरु धेरै छन् । तर खतर्नाक भरियाहरु विचार र सिद्धान्तका पाठ घोकाएर समय बिताउँछन् र राज्यको दोहन गर्छन् । ठेकेदार र बिजौलियाहरुका भरिया बन्छन् । एकअर्कालाई जुधाएर फाइदा लिनेहरु राष्ट्रघाती भरिया हुन् । जसले नियम कानुन मान्दैनन् ।

चम्चावाला भरियाहरुको फूर्तिफार्ती ठूलै मान र सान हुन्छ । यस्ता भरियाहरुले आफ्ना मालिकहरुलाई चम्चाबाट रसादी खुवाउँछन् । मालिकहरुले चम्चाको रसादी मीठो मान्छन् । कुर्सीका लागि लड्ने भरियाहरुले राजनीतिक खेल खेल्छन् । आफूलाई नेता मान्छन् । उनीहरु विचार भावना र सिद्धान्त बोकेका भरिया हुन् । यस्ता भरियाबाट देश बन्दैन । यो राष्ट्रलाई उभो लगाउने कार्यशैली बन्दैन । मोटर बोकेर काठमाडौं पु¥याउने भरियाहरु राष्ट्र निर्माता हुन् । उनीहरुले देशको अस्तित्व थामेका थिए । देश निर्माण गर्छौं भन्ने नेताहरु राष्ट्रका भरियाहरु मात्र हुन् । उनीहरुले राष्ट्रियता बिर्सन्छन् ।

संसारका भरियाहरु विचित्रका छन् । उनीहरु आफ्नै स्वार्थमा लिप्त छन् । राष्ट्र प्रेम र राष्ट्रियता धरौटीमा राखेर सत्ताको स्वादमा रमाउँछन् । नेपाली भरियाहरु सत्तारी वर्ष पार गरेका छन् । नयाँ पुस्ताले भरिया बनेर देश हाँक्न सक्दैनन् । भारी गह्रौँको भयो भरियाहरुलाई भारीको माया भएन । उनीहरुले आफ्नो भारीको माया गर्ने भए अन्तरकलह गर्ने थिएनन् । उनीहरले सामाजिक भावनालाई बुझ्नुपर्छ । तब मात्र भरियाहरुको चरित्रमा सुधार हुनेछ । आपसी ममता बढ्दै गयो भने भरियाहरुले राष्ट्र, राष्ट्रियताको महत्व बुझ्नेछ । निजी स्वार्थ त्यागेर सामाजिक भावना जगाउनु पर्छ ।

नागरिकलाई भरियाबाट राजनीतिज्ञ बनेको परिवर्तन देखिनुपर्छ । आफ्नो दलहरुमा राजनीतिज्ञ व्यक्तित्व देखाउनुपर्छ । तबमात्र राष्ट्रवादी भरिया बन्न सकिन्छ । नेपालका राष्टवादी भरियाहरुमा टंकप्रसाद आचार्य, वीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, नरबहादुर विश्वकर्मा, गिरिजाप्रसाद कोइरालाजस्ता व्यक्तिहरुका राष्ट्रवादी गुणहरुलाई नयाँ पुस्ताहरुले अनुकरण गर्न पनि सकेनन् ।

आफ्नोपन पनि निस्वार्थ भावना देखाउन सकेको वातावरण भएन । नागरिकले राजनीतिज्ञहरुको सामाजिक सुधार देख्न पाएका छैनन् । छाडा प्रवृत्ति, उच्छृंखला वातावरण, प्रतिशोधी स्वभाव, उन्मातको व्यवहार समाजमा बढ्दो छ । नागरिकले सामाजिक वातावरण नदेख्दा राजनीति बोकेका भरियाहरुलाई भारीको माया भएन ।