मास्कमा बानी पर्नै मुस्किल

स्वास्थ्य डायरी

खेमराज रिजाल

तुलसीपुर, २१ साउन । तीन लाखको बाइकमा बालबालिका सहित चार जना सवार थिए, तीन जनाले मास्क लगाएका थिएनन् । तुलसीपुर बसपार्कबाट बुटवलका लागि छुटेको बस बुधवार बिहान बिजौरीमा रोकिएको एउटा यात्रुवाहक बसमा चालक र सहचालक तथा परिचालकले नै मास्क लगाएका थिएनन् । केही यात्रुहरूले नाकमुख छोपिने गरी मास्क लगाएका थिए, केहीले घाँटीमा झुण्ड्याएका थिए त केहीले पाखुरामा छिराएका थिए ।

अर्को लामो दूरीका लागि गुडिरहेको यात्रुवाहक बसमा पनि सबैले मास्क लगाएका देखिएनन् । केहीले मास्क लगाएको देखिन्थ्यो, एक जना बृद्ध आमाले पछ्यौरीले नाकमुख छोप्न सजिलो मानेको देखिन्थ्यो । टेक्टर चलाउने चालकले मास्क लगाउने कुरै भएन । मास्क खोइ भन्ने जवाफमा उनको अभिव्यक्ति थियो, ‘म त टेक्टरमा एक्लै छु, किन लगाउनु प¥यो ?’ निजी स्कर्पियोमा गनेरै ९ जना यात्रुहरू राखेर यात्रा गराइरहँदा कसैको पनि मुखमा मास्क देखिएन । ‘एकै परीवारका हो हामी’ भन्दै उनीहरू पनि हुइँकिइरहेका देखिए । सडकमा हिंड्ने बटुवाहरू भने धेरैले मास्क लगाएका थिए ।

लायन्स क्लव अफ मालिका कालीकाले बुधवार आयोजना गरेको तपाईँको मास्क खोई अभियानका क्रममा देखिएका दृश्यहरू हुन्, यी । यति मात्र होइन, सोही अभियान तुलसीपुर उपमहानगरपालिकाका दुधरास चोकमा पुग्दा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य नगरपालिकाको गाडीमा त्यहीँ रोकिइन् । उनको मुखमा पनि मास्क थिएन । सायद उनी गाडीमा एक्ली भएकाले मास्क झिकिएको हुनसक्छ । अभियन्ताको आग्रहलाई सहर्ष स्वीकार गर्दै दुधरासबाट तुलसीपुर यात्रामा भने उनले मास्क लगाएको दृश्य देखियो । सोही चोकमै तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेका एउटा स्कर्पियोमा सवार तुलसीपुर उपमहानगरपालिकाकै कार्यवाहक प्रमुख सूर्यबहादुर डाँगी (श्याम)को मुखमा पनि मास्क थिएन ।

क्लबको यो अभियानमा देखिएका परिदृश्यहरू हुन्, यिनी । यात्रामा रहने अधिकांशले प्रहरी चौकी नजिकिएको अवस्था वा चेकजाँच भएका बेलामा मात्रै मास्क लगाउने परिदृश्य देखियो । मास्क नलगाउनेहरूमा अधिकांश पढेलेखेका र टाठाबाठाहरू देखिए । समग्रमा मास्क लगाउने बानी पार्न अझै पनि मुस्किलको अवस्था देखिएको छ । यी परिदृश्यहरू बुधवारमात्र देखिने गरेका होइनन्, अझै पनि मास्क अनिवार्य लगाउनुपर्छ भन्ने स्वास्थ्य चेतना आम नागरिकमा जागृत हुनसकेको छैन ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढिरहेको अवस्थामा पनि नागरिकले नेपाल सरकारले तोकेका न्यूनतम स्वास्थ्य मापदण्डहरू पालना गर्ने गरेका छैनन् । ‘यो लापरबाहीको क्षति स्वयम् हामी नागरिकले नै व्यहोर्नुपर्ने छ, त्यसैले समयमै सचेत बनेर स्वास्थ्यका मापदण्ड पालना गर्न आवश्यक छ’—जनस्वास्थ्य महाशाखा तुलसीपुरका जनस्वास्थ्य निरीक्षक बिमल केसीले अभिव्यक्ति दिएका छन् ।

दश रूपैयाँको मास्क लगाउने बानी पार्न कुनै पनि नागरिकलाई आर्थिक समस्या भने होइन, चेतनाकै कमीजस्तो देखिन्छ’—मास्क खोइ अभियानमा जोडिएका लायन्स क्लव अफ कालीका मालिकाका सदस्य बालकृष्ण रेग्मीले भने । त्यसो त केही नागरिकले आफूलाई मास्क लगाएर यात्रा गर्दा अक्सिजन आपूर्तिमा केही असहज हुने पनि अनुभव सुनाए । ‘जसरी मास्कबिना स्वतन्त्र रूपमा ग्रहण गरेको अक्सिजनले शरीरलाई सहज बनाउँछ, मास्क लगाउँदा लिइएको अक्सिजनले त्यति सहज अनुभव हुँदैन’—दुधरासमै भेटिएका एक जना वयोबृद्धले भने ।

हो, स्वास्थ्यका अभियान यस्तै हुन्छन् । दाङबासीलाई आफ्नो घरमा अनिवार्य रूपमा शौचालय बनाउ भन्न करिब ६ वर्ष लागेको थियो । यसका लागि जिल्ला विकास समितिले अभियान नै सञ्चालन गर्नुपरेको थियो । शौचालय बनाएर त्यही दिसा गर्ने बानी पार्नका लागि राज्यले अर्बं रूपैयाँभन्दा बढी खर्च गर्नुपरेको थियो ।

हामी स्वास्थ्यका सवालमा स्वजिम्मेवार बन्न निकै कठिन छ । विसं २०६६ सालमा सुरु भएको खुलादिसा मुक्त अभियान ६ वर्षपछि विसं २०७२ सालमा मात्रै पूरा भएको थियो । अझै थप भन्नुपर्दा तात्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले त विसं २०६५ साल फागुनमै साविक ढिकपुर गाविसलाई खुल्ला दिसामुक्त गाविस घोष्णा गरेका थिए । पूर्ण सरसफाई युक्त जिल्ला घोषणा त अझै कार्यान्वयन भएकै छैन ।

‘अब पूर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्दा मास्क प्रयोगलाई पनि जोड्नसके उत्तम हुने थियो’—दुधरासकै स्थानीयबासी रामकुमार डाँगीले भने । खुला दिसामुक्त बनाउन त ६ वर्ष लागेको थियो भने सार्वजनिक स्थलमा वा सार्वजनिक यातायातमा अनिवार्य मास्क प्रयोगको अवस्था बनाउन अझै समय लाग्नसक्छ ।

जोखिम रहेसम्म अभियान  : अध्यक्ष खड्का

यसैबीच लायन्स क्लव अफ कालीका मालिकाका अध्यक्ष वीरेन्द्र खड्काले जिल्लामा कोरोना भाइरसको जोखिम कायम रहेसम्म कुनै न कुनै हिसाबले क्लवले सचेतना एवं सहयोग अभियान जारी राख्ने बताएका छन् । आफूहरू सामाजिक क्षेत्रमा क्रियाशील संस्थामा आबद्ध रहेकाले सामाजिक काममा आफ्नो सक्रियता अझै बढ्ने अभिव्यक्ति दिए ।

कोरोना भाइरसको संक्रमणको जोखिम अझै तेस्रो लहरमा बढी हुने सम्भावना देखिएकाले आफूहरूको यो वर्षको पहिलो कार्यक्रम नै स्वास्थ्य सचेतनाबाट सुरु भएको बताए । ‘हामीले क्लवको पहिलो कार्यक्रमका रूपमा मास्क र सेनिटाइजर वितरणलाई लिएका छौँ’, खड्काले भने ‘यसमा आम नागरिकको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।’

क्लवले बुधवार प्रहरी पोष्ट बिजौरी, प्रहरी पोष्ट बेलझुण्डी र दुधरासमा कार्यरत सुरक्षाकर्मीहरूलाई मास्क र सेनिटाइजर उपलब्ध गराएको सो क्लबका सचिव गौरव आचार्यले जानकारी दिएका छन् । लायन्स क्लब इन्टरनेशनलको सामाजिक अभियानको मार्गनिर्देशन अनुरूप क्लबले अन्य सामाजिक कायमा पनि अघि बढ्ने आचार्यले बताएका थिए ।

क्लबमा आबद्ध सदस्यहरूले व्यक्तिगत रूपमा पैसा उठाएर मास्क र सेनिटाइजर खरिद गरी अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, सार्वजनिक यातायातका यात्रु तथा मज्दुरहरू तथा बाटोमा हिंड्ने बटुवाहरूलाई समेत वितरण गरेको थियो । बुधवारको यो अभियानमा अनुमानित ५० हजार रूपैयाँका मास्क सेनिटाइजर खरिद गरिएको क्लवका कोषाध्यक्ष चित्रबहादुर खड्काले जानकारी दिएका छन् ।