चुनौती भनेकै जग्गा प्राप्ति हो : उपकुलपति भण्डारी

  •   
  •  

स्तरीय स्वास्थ्य सेवा एवं मोफसलमा मेडिकल शिक्षाको अवधारणा अनुरुप करिब ४ वर्ष अघि दाङमा स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अझै पनि शैक्षिक गतिविधिहरु सञ्चालनमा आउनसकेका छैनन् । स्थापनाकालदेखि नै तात्कालीन सत्तारुढ दलले प्रतिष्ठानलाई गर्ने गरेको व्यवहार र प्रतिष्ठानलाई जग्गा प्राप्ति एवं स्वास्थ्य सेवाको स्तर वृद्धिका सन्दर्भमा स्थानीय सरकारहरुले गर्ने गरेको व्यवहारका कारण प्रतिष्ठानले स्थापनाको चार वर्षसम्म पनि जनचाहना अनुरुप सेवा प्रदान गर्न नसकेको आभास आम जिल्लाबासीले गर्दै आएका छन् ।

पछिल्लो डेढ वर्षदेखि प्रतिष्ठान केही ट्रयाकमा आए पनि विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण फेरि पनि आफ्ना गतिविधिहरुलाई जनअपेक्षा अनुरुप सञ्चालनमा केही कठिनाइ भएको छ । यति हुँदाहुँदै पनि प्रतिष्ठानमा पछिल्लो समयमा स्तरीय स्वास्थ्य सेवासँगै शैक्षिक गतिविधि सञ्चालनका केही प्रयासहरु हुनथालेका छन् ।

प्रतिष्ठानले यो अवधिमा सम्पादन गरेका कार्यक्रमसँगै भावि योजनाका विषयमा केन्द्रित रहेर गोरक्षकर्मी खेमराज रिजालले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीसँग गरेको कुराकानीको सार संक्षेप ।

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएको करिब चार वर्ष पुग्नै थालको छ । यसबीचमा प्रतिष्ठानले हासिल गरेका उपलब्धिका विषयमा केही बताइदिनुस् न ?

 हो, यहाँका राजनीतिक दलहरूको अधिक्तम प्रयाससँगै सरकारले पनि मोफसलमा स्तरीय स्वास्थ्य सेवासँगै मेडिकल शिक्षा उपलब्ध गराउने उद्देश्यले यहाँ स्थापना भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अझै पनि नागरिकको अपेक्षा अनुरूप काम गर्न नसकेको बुझाइ हुनसक्छ । तर पनि तपाईं आफै स्पष्ट रूपमा देख्न सक्नुहुन्छ, कि त्यो बेलाको राप्ती उपक्षेत्रीय अस्पताल र अहिले प्रतिष्ठानको अवस्था । बिरामीको संख्या बढाउनुभन्दा पनि सेवा कति प्रभावकारी छ भनेर हेर्ने हो ।

एउटा सामान्य भिडिओ एक्स–रे गर्न पनि निजी क्लिनीकमा धाउनुपर्ने अवस्था हटेर अहिले प्रतिष्ठानमा सिटिस्क्यान सेवा समेत सञ्चालनमा आइसकेको छ । अब हामी चाँडै नै उच्च क्षमताको आधुनिक मेसिन राखेर एमआरआई सेवा सञ्चालनको समेत अन्तिम तयारीमा छौँ । त्यसका लागि लिगल प्रोसेसहरू समेत सुरु भइसकेका छन् । बिरामीको शल्यक्रियाको कुरा गरौँ । सामान्य शल्यक्रिया समेत हुन असहज रहेको तात्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको स्वामित्वमा आएपछि अहिले अत्याधुनिक अप्रेशन थिएटर सञ्चालनमा आइसकेका छन् ।

हाडजोर्नी, गर्भवती महिला, हाइड्रोसिल, एपेण्डिसाइटिस, विभिन्न भागमा रहेका पत्थरी तथा विभिन्न खालका मेजर÷माइनर अप्रेशनहरू प्रतिष्ठानमै भइरहेका छन् । विभिन्न विभागीय विशेषज्ञ चिकित्सकहरूले प्रतिष्ठानमा सेवा दिइरहेका छन् । शल्यक्रियालाई आधुनिकीकरण गर्दै दूरवीन प्रविधिको पनि अनुशरण भइरहेको छ । प्रयोगशालाको कुरा गर्नुहुन्छ भने मेडिकल वायोप्सीदेखि रगतको कल्चरसम्मका सेवाहरू उपलब्ध भइरहेका छन् । प्याथोलोजिस्ट सहितको सेवा सम्भवतः यहाँ प्रतिष्ठान सञ्चालनमा आएपछि नै सुरु भएको यहाँलाई विदितै होला ।

एउटा सामान्य थाइराइड टेस्ट र रगत कल्चर गर्न समेत बुटवल तथा नेपालगञ्ज रिफर गर्ने अवस्था अब छैन । अस्पतालमा सघन उपचार–कक्ष सञ्चालनमा आइसकेको छ । यद्यपि नियमित अक्सिजन अभावका कारण केही आइसियु सेवा सञ्चालनमा ढिला भयो । तर अहिले प्रतिष्ठानमै अक्सिजन प्लान्ट समेत सञ्चालनमा आइसकेको छ । अक्सिजन प्लान्टबाटै पाइपलाइनमार्फत् आइसियु एवं एचडियु कक्षमा अक्सिजन सप्लाई सुरु भइसकेपछि आइसियु सेवामा अब कुनै कठिनाइ छैन । इनडोर सेवासँगै आउटडोर सेवा पनि विस्तार भएको छ ।

एक बजे अस्पताल पुग्दा चिकित्सक नभेट्ने अवस्थालाई अन्त्य गरी बिहान ८ बजेदेखि साँझ ४ बजेसम्मै बिरामीहरूको नियमित चेकजाँच समेत भइरहेको सबैलाई स्मरण भइसकेको कुरा हो । नेपाल सरकारले निःशुल्क गरेका आमा सुरक्षा कार्यक्रमदेखि निःशुल्क सुत्केरी सेवा, निःशुल्क हाइड्रोसिलको शल्यक्रिया, ओसिएमसी, सामाजिक इकाईलगायतका सेवाहरू उपलब्ध छन् । अर्को कुरा प्रतिष्ठानले अब आफ्नै फार्मेसी सञ्चालनमा ल्याइसकेको छ । अब चाँडै प्रतिष्ठानले ब्लड बैंक पनि सञ्चालन गर्दैछ । ताकि बिरामीलाई अब रगतका लागि पनि बाहिर जानु नपरोस् भन्ने हाम्रो चाहना हो, अनि कर्तव्य पनि हो ।

 स्वास्थ्य सेवाका विषयमा त जानकारी भयो, प्रतिष्ठानले मेडिकल शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने होइन र ?

 हो, मेडिकल शिक्षाबिना प्रतिष्ठान अधुरो हुन्छ भन्ने हामीलाई थाहा छ । अघिल्लो शैक्षिक–सत्रदेखि नै केही विधामा शैक्षिक कार्यक्रम चलाउने अन्तिम तयारीमा थियौँ । बिएससी नर्सिङ कक्षा सञ्चालनका लागि करिकुलम निर्माणको कामलगायत कामचलाउ भौतिक संरचना निर्माण पनि भएको हो । प्राज्ञिक जनशक्तिका लागि नेपालका अरु प्रतिष्ठानहरू वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका प्रतिष्ठानसँग आदानप्रदान गर्ने सहमति पनि भएको थियो ।

प्रतिष्ठानमै पनि प्राध्यापन समेत गर्नसक्ने जनशक्ति राख्ने तयारी भइसकेको थियो । तर यसबीचमै विश्वव्याधिका रूपमा कोरोन भाइरसको संक्रमण फैलियो । हामी पनि कोरोनाको पिसिआर परीक्षण र बिरामीलाई उपचारको अभियानमा जुट्नुप¥यो । नर्सिङ क्याम्पसका लागि तयार भएको भौतिक संरचनामा कोरोना संक्रमितको उपचार गर्नुप¥यो । थप भौतिक संरचना निर्माणका लागि सबैभन्दा पहिले त जग्गा चाहियो । जग्गा प्राप्ति पछि न भौतिक संरचना निर्माणको कुरा आउँछ । यही कारणले शैक्षिक कार्यक्रम सञ्चालनमा केही ढिलाई अवश्य भएको हो ।

 बेलाबेलामा प्रतिष्ठानले पर्याप्त बजेट आएन, त्यसैले सेवा–सुविधा बढाउन र दक्ष जनशक्तिको व्यवस्थापनलगायतका शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा पनि समस्या भयो भन्ने बताउँंदै आएको छ । खासमा शैक्षिक कार्यक्रम पैसाले रोकेको हो वा जग्गा नभएर ?

 समस्या जग्गा व्यवस्थापनको हो । मेडिकल कलेज सञ्चालन गर्नेजस्तो काम सामान्य दश÷बाह्र विगाह जग्गाले सम्भव हुने होइन । मेडिकल काउन्सिलले तोकेको मापदण्डमा जग्गा र त्यसमा भौतिक निर्माणसँगै अस्पताललाई कम्तिमा ३ सय बेडमा स्तर वृद्धि गर्नुपर्ने हुन्छ । हाल प्रतिष्ठानको स्वामित्वमा तीन सय बेडको अस्पताल निर्माण गर्नलाई समेत पर्याप्त जग्गा छैन भने एकेडेमिक विल्डङ, प्रयोगशाला, पुस्तकालय, स्टाफ आवास, क्यान्टिनलगायतका संरचना निर्माण कहाँ सम्भव हुन्छ ?

शैक्षिक अभियान बजेट नभएर रोकिएको होइन, जग्गा उपलब्ध नभएर हो । जग्गा प्राप्ति प्रतिष्ठान एक्लैले खोजेर उपलब्ध हुने कुरा होइन, त्यसमा यहाँका नागरिक समाज, राजनीतिक दललगायत सबैले सहयोग गर्नुपर्ने अवस्था हो । पछिल्लो समयमा यहाँको नागरिक समाज पनि जग्गा प्राप्तिको सन्दर्भमा अहोरात्र खटिरहेको अवस्था छ । प्रतिष्ठानको स्थानीय स्तरको सल्लाहकार समिति निर्माण गरेर हामीले जग्गा प्राप्तिको अभियानलाई तीव्र बनाउँदै गएका छौँ । पछिल्लो समयमा नारायणपुरमा एउटा प्लट हेर्ने र सम्झौता गर्ने काम पनि भइरहेको छ । मलाई लाग्छ, केही दिनमै यसको अन्तिम निर्णय हुनेछ ।

जग्गा प्राप्तिको सम्भावना नजिकिएसँगै सम्झौता पनि भयो भने हामीले प्रतिष्ठानको आउँदो सिनेटसभामा यो प्रस्ताव लगेर अनुमोदन गराउने छौँ । त्यसपछि न बजेट माग गर्ने हो । त्यसैले मैले यही पत्रिकामार्फत् पनि सबैलाई आग्रह गर्दछु कि प्रतिष्ठान पदाधिकारीको चासोको विषय मात्र होइन, म आज उपकुलपति छु, भोलि अर्को आउनसक्छ तर प्रतिष्ठान त तपाईंहरू सबैको सम्पत्ति हो नि !

यसैले सबैभन्दा पहिले जग्गा प्राप्तिका लागि हरेकले आ–आफ्नो क्षेत्रबाट सहयोग गरौँ । त्यसपछि बजेटको माग गर्न मार्ग प्रशस्त हुनेछ । जग्गा उपलब्धिसँगै भौतिक संरचनाको निर्माणको पनि बाटो खुल्नेछ । यसपछि त शैक्षिक कार्यक्रम सञ्चालनका लागि कुनै ढिलाइ हुने छैन ।

 अन्त्यमा, फेरि पनि कोरोना भाइरसको थर्ड वेभ नेपालमा पनि नजिकिँंदै गएको अवस्था देखिन्छ । यो अवस्थामा दाङ जिल्ला पनि अछूतो रहन सक्नेछैन । त्यसबेला कोरोना भाइरसको संक्रमणको सामना गर्न प्रतिष्ठानको के–कस्तो तयारी छ ?

 हो, अहिलेको संक्रमण फैलावटको दर हेर्दा अब चाँडै फेरि कोरोना भाइरसको तेस्रो लहर आउनसक्छ । त्यसै कारण पनि हामीले सबैभन्दा बढी प्राथमिकता कोरोना भाइरसको संक्रमणलाई परास्त गर्नलाई दिएका छौँ । त्यसका लागि कम्तिमा पनि १ सय जना जति बिरामीलाई उपचार गर्ने गरी आइसोलेशन वार्ड निर्माणको पनि तयारी भइरहेको छ । यसैका लागि संघीय सरकारबाट प्राप्त सहयोगबाट एउटा अक्सिजन प्लान्ट रन गरिसकेका छौँ ।

अर्को थप अक्सिजन प्लान्ट स्थापनाका लागि पनि मेसिन खरिदका लागि टेण्डर समेत भइसकेको छ । मलाई विश्वास छ, सम्भवतः अर्को महिनासम्म थप अर्को अक्सिजन प्लान्ट पनि सञ्चालनमा आउने छ । दुवै प्लान्ट सञ्चालनमा आएपछि यहाँ दैनिक तीन सय सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । अहिले कोरोनाका संक्रमितलाई सबैभन्दा बढी नभई नहुने भनेको अक्सिजन नै हो । अघिल्लो संक्रमणका बेला अकिसजनकै अभावका कारण धेरै बिरामीलाई यहाँबाट रिफर गर्नुपर्ने अवस्था आएको पनि हामीलाई तीतो अनुभव भएकाले अहिले हामीले सबैभन्दा बढी प्राथमिकता अक्सिजन प्लान्टको निर्माणलाई नै दिएका छौँ ।

त्यसपछि गम्भीर संक्रमितहरूलाई आवश्यकताअनुसार एचडियु, आइसियु र भेण्ट्रिलेटर सेवा समेत उपलब्ध गराउने छौँ । त्यसका लागि आवश्यक स्वास्थ्य क्षेत्रको जनशक्ति हामीसँग यस अघि नै तयार छ । पिसिआर परीक्षणका लागि हामीसँग दैनिक एक हजारसम्मको परीक्षण गर्न सकिने मेसिन समेत उपलब्ध रहेको पनि आम नागरिकलाई जानकारी गराउन चाहन्छु ।