जीवन संघर्ष हो । कतिबेला दुःख आउँछ, कतिबेला सुख त्यो पत्तै हुँदैन । तर, पनि जीवन निरन्तर रूपमा अघि बढिरहन्छ । यसैगरी अघि बढेको एउटा जीवन हो, साहित्यकार दीपक शर्मा ‘ समीर’ को । उमेरले करिव चार दशक पुगेका शर्मा संघर्षशील व्यक्ति हुन् । त्यही संघर्षका कारण शर्मा कर्मथलो घोराहीमा सफल रूपमा अघि बढिरहेका छन् ।
काममा मिहिनेत गर्ने र श्रममा विश्वास राख्ने शर्माको जीवनमा गोरक्ष दैनिकको खुसी स्तम्भका लागि खुसीका क्षणहरू खोज्ने प्रयास गरेका छौँ । त्यही क्रममा साहित्यकार शर्माले आफ्नो खुसीको एउटा क्षणका रूपमा राप्ती साहित्य परिषद्को नेतृत्वमा पुग्दाको क्षणलाई लिन्छन् ।
सानैदेखि साहित्य लेखनमा लागेका शर्मा कुनै दिन साहित्यिक संस्थाको नेतृत्वमा पुगिएला भन्ने कल्पना गरेका थिएनन् । घरमा बुबा गीत गाउने र मामाहरू कमलमणि देवकोटा र केशवराज देवकोटाको प्रेरणाले साहित्य लेखनमा लागेका शर्मा निरन्तर रूपमा लेखनमा लागिरहे । उनले आफ्नो पढाइसँगै साहित्यलाई अघि बढाइरहे ।
एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि दाङको घोराही आइपुगेका शर्मा राप्ती साहित्य परिषद्सम्म पुगे । त्यही क्रममा २०५७ सालमा परिषद्को साधारण सदस्य बनेका उनी २०५९ सालमा आजीवन सदस्य बने । त्यसपछि परिषद्कै विभिन्न पदमा बसेर काम गर्दै साहित्य लेखन तथा कार्यक्रममा सक्रिय बन्दै गएका शर्मा गत वर्ष राप्ती साहित्य परिषद् दाङ शाखाको अध्यक्षमा निर्वाचित भए ।
परिषद्को अध्यक्षमा निर्वाचित हुँदाको क्षणलाई शर्माले आफ्नो जीवनको खुसीको क्षणका रूपमा लिन्छन् । ‘साहित्य लेखनसँगै विकासका लागि संघर्षशील व्यक्तिहरूलाई संस्थाको नेतृत्वमा पुग्ने चाहना हुन्छ नै, त्यो चाहना मलाई पनि थियो’–शर्माले भने–‘मनको चाहना र मेरो मिहिनेतले अहिले म परिषद्को अध्यक्ष बन्ने अवसर प्राप्त गरेको छु । यो क्षण मेरो जीवनको एउटा खुसीको क्षण हो ।’
साहित्यसँगै जोडिएको शर्माको अर्काे खुसी हो, पहिलो कविता संग्रह ‘अग्नीदीप’ पुस्तक । सानैदेखि साहित्यमा रूचि राख्ने भएकाले उनले २०४७÷०४८ सालदेखि सायरी, कविताहरू लेख्न सुरु गरे । तर पहिले अहिले जस्तो अवस्था थिएन । त्यसैले कतिपय रचना हराए पनि । कति रचनाहरू विभिन्न साहित्यिक कार्यक्रममा सुनाए ।
केही विभिन्न पत्रपत्रिकामा छापिए । तर मनमा आप्mनो पनि एउटा पुस्तक निकाल्ने चाहना थियो । त्यो चाहना शर्मालाई परिषद्मा आबद्ध भएपछि झनै बढ्दै गयो । सायद परिषद्का कार्यक्रममा पुग्दा विमोचन हुने कृतिहरूले पनि उनलाई लोभ्याएको हुनुपर्छ । त्यही अनुसार रचनाहरू तयार गर्दै गए र त्यो पुस्तक तयार भयो, २०६७ सालमा । विभिन्न समयमा रचना गरिएका कविताहरूको पहिलो पुस्तकका रूपमा तयार भयो ‘अग्नीदीप’ कविता संग्रह ।
‘जुन पुस्तक पहिलो पटक पाठक सामू ल्याउन पाउँदाको क्षण मेरो जीवनको अर्काे खुसीको क्षण हो, जुन खुसी म कहिल्यै भुल्न सक्दैन, साहित्यमा लागेको हरेक व्यक्तिका लागि पुस्तक प्रकाशन गर्ने महत्वपूर्ण काम हो, मेरो चाहना पनि पुस्तक प्रकाशन गर्ने थियो’–उनले भने–‘त्यो चाहना राप्ती साहित्य परिषद्मा आबद्ध भएपछि ममा बढ्दै गएको थियो । नभन्दै परिषद्मा आबद्ध भएको दश वर्षपछि मेरो पहिलो कृति ‘अग्नीदीप’ कविता संग्रह प्रकाशन भयो ।’ त्यसपछि शर्माका अन्य कृतिहरू समेत प्रकाशन भएका छन् । उनी लेखनसँगै अभिनयमा समेत आपूmलाई सफल बनाएका छन् ।
शर्माले अर्काे खुसीको क्षणका रूपमा २०५१ सालमा जिल्ला विकास समिति सल्यानले आयोजना गरेको कविता वाचन प्रतियोगितामा दोस्रो स्थान हुँदाको क्षणलाई समेत खुसीको क्षणका रूपमा सम्झन्छन् । उक्त प्रतियोगितामा जिल्लाभरका करिब ७५ जनाभन्दा बढी सहभागीहरूलाई उछिन्दै शर्माले वाचन गरेको ‘आमा’ शीर्षकको कविताले दोस्रो स्थान प्राप्त गरेको थियो ।
विभिन्न क्षेत्रमा सक्रिय शर्माले जीवनको अर्काे खुसीका क्षणका रूपमा त्रिभुवन नगर जेसीजको अध्यक्षमा निर्वाचित हुँदाको क्षणलाई समेत लिन्छन् । जुन संघसंस्थामा आबद्ध हुन्छन्, त्यसमा इमानदारीका साथ काम गर्ने उनले कहिल्यै पदका लागि समेत अग्रसर भएनन् । तर पदमा पुगेपछि आफ्नो काम, कतव्र्य र जिम्मेवारी इमानदारी साथ निर्वाह गर्ने गरेका छन् ।
सन् २००९ मा त्रिभुवननगर जेसीजमा आबद्ध भएपछि शर्मा सन् २०१४ सम्म जेसीजका विभिन्न पदमा बसेर काम गरे । जेसीजको उपाध्यक्ष, कोषाध्यक्ष, तालिम निर्देशक, कार्यकारिणी उपाध्यक्षलगायतका पदमा रहेर सफलतापूवर्क काम गरेका छन् । त्यही कारण पनि शर्माले सन् २०१५ जेसीजको महासचिवमा दाबी गरेका थिए । तर परिस्थितिले महासचिव बन्न सकेनन् ।
जसका कारण उनी दुई वर्ष जेसीजको कुनै पनि पदमा नबसेर जेसीजका गतिविधिहरूमा निरन्तर रूपमा सक्रिय रहिरहे । जसको फलस्वरूप सन २०१७ मा शर्मा त्रिभुवननजर जेसीजको अध्यक्षमा निर्वाचित भए, त्यो क्षण शर्माको जीवनको अर्काे एउटा खुसीको क्षण हो । सन् २०१७ मा शर्मा त्रिभुवननगर जेसीजको अध्यक्षमा विजयी भएका थिए ।
त्यस्तै शर्माको अर्को खुसीको क्षण हो, छोरा अभियन शर्माको जन्म । पार्वती धितालसँग २०५७ सालमा विवाह भएपछि श्रीमान–श्रीमतीका बीचमा सल्लाह भएको थियो । एउटा मात्र सन्तान बनाउने । त्यही सोच अनुसार पहिलो सन्तान हुर्कंदै थिए, गर्भमा । स्वास्थ्यकर्मीको नियमित सम्पर्कमै थिइन्, श्रीमती पार्वती पनि । बच्चाको जन्मदिन नजिकिँदै गर्दा चिकित्सकले चेकअपका क्रममा बच्चाका लागि अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यही कारणले उनीहरूमा चिन्ता पनि थियो । तर पछि बच्चा जन्मँदा अप्रेशन गर्नु परेन । ‘बच्चा गर्भमा रहेपछि चिकित्सकको नियमित सम्पर्कमै थियौँ । आफै पनि स्वास्थ्य क्षेत्रको मान्छे भएकाले सचेत थियौँ । चेकअपका क्रममा बच्चाका लागि अप्रेशन गर्नुपर्ने भनेपछि तनाव थियो’–उनले भने–‘तर २०६० साल जेठ ३ गते छोरा अभिनयको पहिलो सन्तानका रूपमा जन्म भयो । चिकित्सकले भनेजस्तो अप्रेशन पनि गर्नुपरेन । साच्चै त्यो क्षण मेरो जीवनको खुसीको क्षण थियो ।’ उनका अनुसार छोरा अहिले कक्षा ११ मा पढ्दैछन् ।
साहित्य लेखनसँगै विकासका लागि क्रियाशील शर्मा विभिन्न पुरस्कार तथा सम्मान समेत प्राप्त गरेका छन् । जसमा राप्ती साहित्य परिषद्मा स्थापना भएको ‘हरिप्रसाद पाण्डेय–मिना पाण्डेय साहित्य कला पुरस्कार’, लेखक संघ दाङमा स्थापना भएको ‘नन्द–प्रज्ञा पुस्कार–२०७७, प्रदेशी साहित्य कला सम्मान–२०७२ भारतबाट, दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानमा स्थापना भएको ‘रुक्मिणीराज ओमकुमारी साहित्य सम्मान–२०७६’ र सोही वर्ष कला साहित्य परिषद् सल्यानलगायत विभिन्न संघसंस्थाहरूबाट समेत शर्मा सम्मानित भएका छन् ।
२०३५ साल मंसिर २६ गते बुबा सुदामा शर्मा र आमा कमलाकुमारी शर्माको ज्येष्ठ सुपुत्रका रूपमा सल्यान जिल्लाको कुमाख गाउँपालिका–६ गोलकपुर (साविक बडागाउँ गाविस–२) मा शर्मा जन्मिएका हुन् । उनका दुई भाइ र एक बहिनी छन् । २०५७ साल फागुन २८ गते हापुरे निवासी पार्वती धितालसँग वैवाहिक बन्धनमा बाँधिएका शर्माका एक छोरा छन् ।
गाउँकै चक्र प्राथमिक विद्यालयबाट औपचारिक शिक्षाको प्रारम्भ गरेका शर्माले २०५२ सालमा जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका थिए । त्यसपछि उच्च शिक्षाका लागि सल्यानबाट दाङ झरेका शर्माले घोराहीमा प्राविधिक शिक्षा अन्तर्गत सिएमए, महेन्द्र बहुमुखी क्याम्पसबाट आइ.ए. र सुर्खेत बहुमुखी क्याम्पसबाट बिए पास गरेका छन् ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष शर्मा त्रिभुवननगर जेसीज दाङको वर्ष २०१७ को अध्यक्ष, नेपाल सिएमए संघ दाङको संस्थापक महासचिव तथा पूर्व केन्द्रीय उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्रको सल्लाहकार, गजल अभियान दाङको सल्लाहकारलगायतका विभिन्न साहित्यक एवं अन्य संघसंस्थामा आबद्ध रहेका छन् ।
प्रस्तुती : लिलाधर वली