‘खोपका प्रतिअसर सामान्य हुन्, डराउनु पर्दैन’

खेमराज रिजाल

तुलसीपुर, २० साउन । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा रहेको प्राप्ती मेडिकलमा अचेल दैनिक दर्जन जति नागरिक खोपको असरको गुनासो लिएर आउने गरेका छन् । केहीले जिउ दुख्यो, केहिले जोर्नी मात्र दुख्यो त केहीले ज्वरो समेत आएको बताउने उनीहरूले अघिल्लो दिन कोरोना भाइरसको खोप लगाएको बताउने गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका धर्म केसीलाई कोरोना भाइरसको खोप लगाएको दुई दिनसम्म लगातार ज्वरो आयो, टाउको दुख्यो अनि दाँत समेत दुखेर समस्या भयो । दुई दिन डबल डोज सिटामोल खाएपछि मात्र उनको यो समस्या अहिले समाधान भएको छ ।

कोरोना भाइरस विरूद्धको जोन्सोन एण्ड जोन्सोन खोप लगाएका उनी खोप लगाएको चौथो दिन मात्रै आफू पूर्ववत अवस्थामा फर्किएको बताए । अघिल्लो साता भेरोसिल खोप लगाएकी सोही गाउँकी चमेली रिजाललाई पनि खोप लगाएको पहिलो दिन टाउको भारी हुने समस्या देखियो । तर पछि सो समस्या त्यत्तिकै हराएर गएको उनले बताएकी छन् ।

‘खोप लगाएका प्रायः धेरैले केही न केही समस्या लिएर आउने गरेका छन्, उनीहरूलाई सिटामोल दिएर पठाउने गरेको छु’–प्राप्ती मेडिकलका सञ्चालक गोपाल भट्टराईले भने । अधिकांशमा ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, जिउ भारी हुने, हाडजोर्नी दुख्ने समस्या देखिएको भट्टराईको अभिव्यक्ति थियो ।

तुलसीपुर उपमहानगरपालिका–१७ दुधरासको नवीन मेडिकलमा पनि खोप अभियान चलिरहँदा यस्तै गुनासो लिएर बिरामीहरू बढी आउने गरेको सञ्चालक नवीन केसीले बताएका छन् । खोप लगाउने व्यक्तिहरूका अनुसार भेरोसिल खोप लगाउनेभन्दा कोभिशिल्ड र जोन्सोन खोप लगाउनेहरूमा बढी समस्या देखिएको मेडिकल सञ्चालकहरूको छ । अधिकांश खोप लगाउनेहरूलाई कुनै पनि लक्षण नदेखिए पनि केहीलाई भने यस्ता समस्या देखिएका छन् ।

खोप कस्ता समस्या भएका बिरामीले नलगाउने, खोप लगाएपछि देखिने प्रतिअसरहरू के–के हुनसक्छन्, निराकरणका लागि कुन औषधी सेवन गर्ने ? भन्ने सवालमा अहिले सरकार केही बोलेको छैन । जसका कारण नागरिकमा एउटा त्रासको अवस्था समेत सिर्जना भएको छ । यस अघिका खोप अभियानहरू सरकारी अस्पतालहरूका माध्यमबाट सञ्चालन हुन्थे ।

खोपका विषयमा पूर्व तयारी अनुशिक्षणलगायत प्रतिअसरका विषयमा पनि सचेतना अभियान सञ्चालन हुन्थे तर कोरोना भाइरसका विषयमा यी सबै कार्यक्रमहरू छैनन् । स्थानीय सरकारलाई परिचालन गरेर लगाइँदै आएको यो खोपको प्रतिअसरका विषयमा पनि आधिकारिक अभिव्यक्ति दिने कुनै चिकित्सक नहुँदा समस्या थप शंकास्पद बन्न थालेको छ ।

प्रतिअसर सामान्य हुन्, नलगाए जटिल अवस्था : चिकित्सक

खोपका विषयमा अनुसन्धान भइरहेको छ । कुन व्यक्तिलाई कस्तो असर गर्छ र कस्ता व्यक्तिले खोप लगाउन नहुने भन्ने विषयमा पनि सरकार बोलिरहेको छैन । यद्यपि, चिकित्सकहरूले भने खोपले असर गर्छ भनेर नलगाउनु थप घातक हुनसक्ने बताएका छन् । हजारमा एक–दुई जनामा अलि गम्भीर असर र केहीलाई सामान्य प्रतिअसर खोपले गर्ने भए पनि त्यसबाट नअत्तालिन चिकित्सकहरूले सुझाव दिएका छन् ।

‘जुनसुकै खोपले केही न केही असर देखाउने विशेषता हुन्छ, असरको त्रासले खोप नलगाउनु थप घातक हुनसक्छ’, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन मीनचन्द्र अधिकारीले भने । अहिले जिल्लामा खोप अभियान चलिरहँदा आफूकहाँ पनि त्यस्ता समस्या लिएर नागरिक आउने गरेको बताएका छन् ।

डा अधिकारीका अनुसार कुनै पनि व्यक्तिमा बाहिरी वस्तु प्रवेश गराउँदा त्यहाँ प्रतिक्रिया उत्पन्न हुनु स्वाभाविकै हो । बाहिरबाट प्रवेश गराइएको वस्तुसँग शरीरभित्र रहेका विभिन्न कोषहरूले द्वन्द्व सिर्जना गर्दा त्यसको प्रतिकार स्वरूप केही समस्या देखिनसक्ने पनि उनले बताएका छन् ।

हालसम्म निर्मित विभिन्न खोपहरू अनुसन्धानकै क्रममा रहेका कारण कुन–कुन व्यक्तिले लगाउन नहुने, कुन व्यक्तिलाई कस्तो असर गर्र्नसक्ने जस्ता विषय पनि निक्र्यौल भइनसकेको उनको अभिव्यक्ति थियो । ‘एन्टिजेन र एण्टिबडीको लडाइँका कारण केही समस्या देखिनसक्छन्, यी समस्याहरू केही दिनमै स्वतः हराएर जाने गरेका छन्’, डा अधिकारी भन्छन्, ‘तर खोप नलगाउँदा कोरोना भाइरसको संक्रमणले आउने समस्या यो भन्दा धेरै गुणा घातक हुनसक्छ ।’

चिकित्सकहरूका अनुसार कोरोना भाइरस विरूद्धको खोपले मानव शरीरमा रगत बाक्लो बनाइदिनसक्छ । जसका कारण रगतको सहज रूपमा आवागमनमा अवरोध सिर्जना भई केहीलाई हर्ट फेलियरसम्मको समस्या हुन सक्नेछ । तर यो समस्या एक हजारमा एक जनालाई मात्र हुनसक्छ । चिकित्सकहरूले यसलाई ‘थाइवो–इम्बोलिजम’ भनेका छन् ।

यसैगरी केही व्यक्तिहरूलाई शरीरको एउटा भाग विस्तारै चल्न छाडेर त्यो सबै शरीरभर फैलिएर प्यारालाइसिस तथा दिमागमा समेत असर ग¥यो भने आकस्मिक निधन समेत हुन सक्नेछ । तर यो दुर्भाग्यको अवस्था एकदमै कमलाई मात्र हुने हो । खोप नलगाएका कारण कोरोना भाइरसको संक्रमणले सयौँ नागरिकमा यस्ता दुर्भाग्यहरू निम्त्याउन सक्नेछ ।

‘कुन वस्तुले हामीप्रति कस्तो प्रतिक्रिया गर्छ भन्ने एउटा प्रमाणित तथ्य हो तर हामीले त्यो वस्तुलाई कस्तो प्रतिक्रिया दिन्छौँ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ, त्यसैले हरेक खोपले व्यक्तिपिच्छे फरक–फरक प्रतिक्रिया दिने गरेको पनि उनको अभिव्यक्ति थियो ।

यद्यपि, हरेक रोग विरूद्धका भ्याक्सिनहरू एण्टिबोडी उत्पादनकै लागि दिइने हुँदा मानव शरीरमा कुनै न कुनै प्रतिक्रिया भने स्वतः उत्पन्न हुने स्वास्थ्य विज्ञानको सर्वव्यापी मान्यता रहेको चिकित्सकहरूको प्रतिक्रिया रहेको छ ।दाङ जिल्लामा भने कोरोना भाइरस विरूद्धको खोप लगाएका कारण कुनै पनि दुर्भाग्यपूर्ण घटना नभएको स्वास्थ्यकर्मीले बताएका छन् ।

‘सामान्य प्रतिअसरहरूलाई स्वाभाविक रूपमा लिनुपर्दछ, गम्भीर खालका प्रतिअसरहरू तुलसीपुरमा खोप लगाएका नागरिकमा देखिएका छैनन्’—जनस्वास्थ्य महाशाखा तुलसीपुरका कोरोना फोकल पर्शन तथा जनस्वास्थ्य निरीक्षक बिमल केसीले गोरक्षलाई बताए ।

खोप कुन–कुन समस्याका नागरिकलाई लगाउन नहुने भन्ने सन्दर्भमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले कुनै पनि आधिकारिक धारणा बनाएको छैन ।