नारायणपसाद श्रेष्ठ
‘लोपको भाँडो उभिण्डो, लोभले लाभ, लाभले विलाप’– त्यसैले कहिल्यै पनि लोभी र लालची हुनु हुँदैन । प्राप्तिभन्दा बढी चाहना राख्ने हो भने यसले एकदिन सीमा नाघ्न पुग्छ र मानिसलाई विकृत उन्मुख गराउँछ । यो भनाइ हाम्रा पुर्खाले वर्षौं पहिले भन्दै आएको युक्ति हो । यो भनाइ हिजो जति सार्थक थियो, आज पनि त्यत्तिकै सार्थक र सशक्त भएर प्रमाणित हुँदै आएको छ ।
तर पनि मानव चेतनाले स्वीकार नगरिरहेको अवस्था छ । केही प्रबुद्धवर्गले चाहनाले प्राप्ति हुने र विचार र कर्महरु जुझारु भएर आउने कुरा बताउँदै भन्ने गर्नुहुन्छ – खोज अनुसन्धान र आविस्कार तब प्राप्तिभित्र मुखरित हुन्छ, जब मानिसको चाहना र इच्छा बढ्नथाल्छ । लालच बढाउनु कुनै अपराध पनि होइन । यसले नोक्सान पनि पु¥याउँदैन । यसरी लालचलाई चाहनासँग दाँजेर व्याख्या र विश्लेषण पनि गरेको पाइन्छ ।
अर्काथरि भन्छन्– चाहना र इच्छाले सबै कुरा पुग्ने भए मानिस अहिलेसम्म किन दुःखी र पीडित छन् ? यदि यो सत्य हो भने मानिस उहिल्यै दुःख, पीडाबाट मुक्त भइसक्थे । के मानिसको चाहना दुःख हो र ? यसरी उनीहरु भन्ने गर्छन् । मानिस जब बढी लालची र एउटै विषयभित्र लम्पसार हुनुपुग्छ, त्यसपछि उसमा विकृत भाव बढ्न थाल्छ । उसले अरुतर्फ ध्यान केन्द्रित गर्न सक्दैन । ऊ न त प्राप्तिको नजिक पुग्न सक्छ न त उसको लाल्चीपन हट्न नै सक्छ । सीमाभन्दा बाहिर जानु भनेको आफू र आफ्नो परिवेशलाई गलत चिन्तनतर्फ अग्रसर गराउनु हो । मनलाई आडम्बर र वेदनाले छट्पटाउनु हो ।
लाल्ची व्यक्तिको मानसिकता केवल उसको प्राप्ति भित्रमात्र केन्द्रित हुन्छ । त्यसबेला न त उसको विचार पवित्र हुनसक्छ न त त्यसबाट छुट्कारा पाउने युक्ति नै सोच्न सक्छ । ऊ केवल आफ्नो स्वार्थभित्र मात्र रुमलिरहन्छ । अन्ततोगत्वा उसको हरेक सोच, विचार, चिन्तन तथा कर्म विकृतितर्फ मोडिन पुग्छ । ऊ मानसिक र शारीरक रुपले कमजोर हुन गई उसका भावनाहरु कुण्ठित हुन पुग्छन् । जसको फलस्वरुप मानवीय चेतनामा पूर्णविराम लाग्नसक्छ ।
त्यसैले लालच बढाउनु हुँदैन भनिएको हो । लोभ मानिसको सबैभन्दा ठूलो शत्रु हो । यसले मानिसको चाहनालाई कहिल्यै पूरा हुन दिँदैन । यो यस्तो चिन्तन हो । जुन चिन्तनले मानिसको सोच र संस्कृति नै आडम्बरयुक्त हुनसक्छ । हुन त प्राप्तिको चाहना राखी त्यसप्रति लगाम गर्नु स्वभावमा प्रदर्शन हुनु कुनै अप्रत्यासित र गलत चिन्तन होइन । यो प्रत्येक मानव आत्माले चाहेको विषय पनि हो । तापनि यही चाहनाभित्र बढेको आशक्ति र विकृतिले स्थिति भयानक बन्न पुग्छ ।
एउटा बेलुनमा हावा भर्दै जानुस्, त्यो फुल्लिँदै ठूलो हुँदै जान्छ । जब हावा बढी हुँदै जान्छ तब उसको क्षमताभन्दा बाहिर गई ब्लास्ट हुनपुग्छ । त्यसैगरी लाल्ची मानिसको स्वभाव पनि त्यस्तै हो । रक्सी पिउने मानिसलाई थोरै मात्र पिउन दियौँ भने उसले त्यसमाथि आफ्नो अधिकार जमाउन पुग्छ । उसको प्यास तबसम्म मेटिँदैन, जबसम्म ऊ ढल्दैन पनि । रक्सी पिउने व्यक्तिको चाहना केवल रक्सीमा मात्र सीमित हुन्छ, उसको अन्यत्र सोच बढ्दैन । मानवीय चेतना जागृत हुने अवस्था हुँदाहुँदै पनि उसको चिन्तन केवल रक्सी पिउनेतर्फ मात्रै केन्द्रित हुन्छ ।
त्यसैगरी सुर्ती, चुरोट, तमाखुको लत भएका व्यक्तिलाई उनको तलतल मेट्न केवल त्यही सुर्ती तमाखु नै चाहिन्छ । बरु ऊ खाना छोड्न सक्छ तर अम्मल छोड्न सक्दैन । फलस्वरुप ऊ फोक्सो पीडित भई विभिन्न रोगको शिकार हुनुपुग्छ । समय घर्किसकेपछि उसलाई पछुतो त हुन्छ तर त्यसबेला ऊ रोगले यति पीडित भइसक्छ कि उसको बाँच्ने आधार पनि समाप्त भइसकेको हुन्छ । तीर्खा मेटाउने वस्तुप्रति मात्र आशक्ति जगाउनु निश्चित रुपमा दूरगामी असरतर्फ आफूलाई पु¥याउनु हो ।
पेट अघाए पनि आँखा अघाउँदैन त्यसै भनिएको होइन । यसमा धेरै सत्यता लुकेको छ । आँखाले वस्तु देख्छ, देखेको कुरा मनमा पु¥याउँछ र मनले इन्द्रीयहरुमा पु¥याई भोक जागृत गराउँछ । भोकले भोजन खोज्न थाल्छ । यदि भोजनलाई सही र सदुपयोग गर्न जानिएन भने विकृति जन्मन पुग्छ । साथै आँखाको प्यास मेटाउन भोजन अपाच्य हुने गरी लिने हो भने यसले शारीरिक र मानसिक दुवैकिसिमले क्षति पु¥याउँछ ।
जिभ्रोको स्वादमा हामी हाम्रो भोकलाई विलाषी र मनोरञ्जनात्मक प्रवृत्ति उन्मुखतर्फ लैजाने हो भने यसले विकृति जन्माउँछ । यदि हामीमा भोक, विलाष र लाल्ची नहुँदो हो त हाम्रो भोजन सात्विकमात्र हुने थियो । तर त्यसो भएको छैन । हामी भित्रभित्र गलिरहेका छौँ । विभिन्न रोग, शोकले ग्रस्त भएका छौँ । लालच हाम्रो शत्रु हो भन्ने ठानी यसको वास्तविक जानकारी हुँदाहुँदै पनि यसलाई हामीले खासै महत्व दिएका छैनौँ ।
लोभ र लालचले उत्पन्न गरेको खुशी र आनन्दको अन्तिम उद्देश्य प्राप्ति मात्र होइन । किनकि यो वस्तुपरक भएर प्राप्ति नभएसम्म मात्र रहन्छ । तर, जब प्राप्ति हुन्छ त्यसले केही क्षण र समयको लागि खुसी त अवश्य दिन्छ तर केही समयपछि पुनः त्यही वस्तु प्राप्तितर्फ उसको इच्छा र चाहना बढ्न सुरु हुन्छ । यतिसम्म उसको इच्छाले उसलाई पीडित बनाउँछ कि ऊ स्वयम् उसको बन्धक बन्न पुग्छ । जसले अपराध उन्मुख कार्यतर्फ मानिसलाई अग्रसर गराउँछ । अपराध प्रवृत्ति जागृत गराउने भनेकै मानिसभित्र लालच बढ्नु हो ।
ऊ जुन वस्तु उसको जीवनलाई आवश्यक हुन्छ त्यसतर्फभन्दा उसभित्र बढेको लालचले उसको सोच र चिन्तनमा एकोहोरोपन ल्याउँछ । प्राप्तिपछिको प्राप्ति नै उसको उद्देश्य भएर जागृत हुनु भनेको समाज दुर्गन्धित हुनु हो । यस्तो किन हुन्छ ? लालच बढ्नुको कारण के हो ? त्यसबारे गहिरो अध्ययन र विश्लेषण हुनु जरुरी छ । कसैप्रति अनावश्यक लालच बढाउनु, आशक्ति जगाउनु वा मोह बढाउनु यो जति पनि कार्य छन् ती सबै मानिसभित्र रहेको असीमित चाहना प्राप्तिको लालचले सिर्जना गरेको परिस्थिति हुन् ।
त्यसैले समय र परिस्थितिलाई आत्मसात गरी लालचबाट उत्पन्न हुने चाहना र चाहनाबाट जागृत हुने घमण्ड र अहंकारलाई प्रत्येक विवेकशील व्यक्तिले बुझ्न र बुझाउन जरुरी हुन्छ । परिवारका कुनै पनि सदस्यलाई संस्कार दिन सकिएन भने उसले प्रतिपादन गर्ने जति पनि कर्महरु छन्, ती केवल देखावटी र बनावटी मात्र हुन पुग्छन् । योग्यता र क्षमता भएर पनि लालचका कारण ऊ पतीत हुने अवस्था रहन्छ ।
त्यसैले लालचले उत्पन्न हुने असीमित इच्छा र आकांक्षालाई तिलाञ्जली दिन पारिवारिक संस्कार र संस्कृतिको विकास गर्दै ‘सन्तोषम् परम सुखम्, असन्तोषम् परम दुःखम्’ यो मान्यतालाई शिरोधार्य गर्नु जरुरी छ । अहिले देशमा जेजति राजनीति तरंग आएको छ ती सबै मानिसमा बढेको लालच र बढी प्राप्ति गर्न खोजको कारणले हो । लालचले अहंकार र अहंकारले घमण्ड ल्याउने यसको प्रकृति नै भएकोले जुन वस्तु प्राप्तिप्रति मानिसको असीमित चाहना बढ्न थाल्छ, तब त्यसबाट उत्पन्न हुने परिणाम विकृत उन्मुख हुन पुग्छ ।
कुर्सी नै सबै हो भन्ने मानसिकता र त्यस पदमा हुने सुख, सुविधा र अधिकारको चाहनाले जे जसरी राष्ट्रिय राजनीति तरंगिएर अगाडि बढेको छ, यसले समयमै सही दिशा लिन सकेन भने यसको परिणाम निकै भयावह नहोला भन्न सकिन्न । तसर्थ, लालचले उत्पन्न गर्ने परिस्थिति र परिणामको समयमै ख्याल गरी प्रत्येक व्यक्तिले आफूलाई सीमाभित्र राख्ने क्षमता बढाउनु पर्छ । मनिस बुद्धिजीवी र विवेकशील प्राणी हो ।
यति हुँदा पनि समयमा विवेकलाई सही दिशा प्रयोग गर्न सकिएन भने यसले ल्याउने परिणाम प्रत्येक नेपालीको लागि दुर्भाग्य बन्न पुग्छ । त्यसैले विवेकलाई मनको कसौटीमा छटनी हुने गरी सीमाभित्र आफ्नो चाहनालाई राख्ने कोशिस गर्नुपर्छ । रोग, भोक र शोकको प्रमुख कारण र वर्गशत्रुको रुपमा रहेको लालच हाम्रो लागि अभिशाप हुनसक्छ भन्ने सत्यलाई महशुस गरी त्यसतर्फ सबै सचेत बन्नु र बनाउन सक्नु पर्दछ । समयले यही खोजिरहेको छ, चेतना भया ।