शिवराज खनाल
दाङ,१६ साउन । लमही नगरपालिका–१ सुन्डबरीस्थित वृद्धआश्रमका वृद्धवृद्धाहरुलाई देउखुरी निवासी एक व्यवसायीले खाद्यान्न सहयोग गरेका छन् ।
लमही बजारका खनाल स्टोर तथा गल्ला पसलका सञ्चालक ईन्द्रमणी खनालले आश्रमका लागी आवश्यक खाद्यान्न सहयोग गरेका हुन ।
शनिबार आश्रममै पुगेर उनले चामल, दाल, नुन, तेल, फलफुल, सोयबिन, चिनी, चियापत्तीलगायतका खाद्यान्न हस्तान्तरण गरेका हुन ।
बृद्ध बुबाआमालाई केही सहयोग पुगोस भन्ने उद्देयले सहयोग गरेको खनालले बताए । वृद्धवृद्धाहरु बस्नका लागि भौतिक पूर्वाधार भएपनि खानपिनमा ध्यान नदिँदा आश्रम सञ्चालनमा हम्यहम्य भईरहेको श्रृजनसिल बृद्धआश्रम सेवा समितिका अध्ध्यक्ष सोमनाथ शर्माले बताएका छन् ।
आश्रममा अहिले ३ जना वृद्धवृद्धाहरु बस्दै आएका छन । तरपनि उहाँहरुको दैनिक खानपिन तथा रेखदेखमा आर्थिक अबस्थाले समस्या पार्दै गईरहेको आश्रमका आजिवन सदस्य लक्ष्मणपवन शर्माले बताए । मनकारी सहयोगी दाता हरुको सहयोगले नै आश्रमको खानपिनमा सहजता थपिरहेको छ ।
जन्मदिन, बैबाहिक बर्षगाँठ, व्रत लगायतको अबसर पारी आश्रमलाई सहयोग त जुट्छ तर यस्ता अबसर सधै हुने पनि हैन । त्यसैलेपनि आश्रमको खानपिन तथा रेखदेखमा समस्या थपिदै गईरहेको शर्माले बताए ।
घर तथा परिवारबाट बिचल्लित भएका आमा बुवाको आश्रयका निमित्त सञ्चालित बृद्दबृद्दा आश्रमले आमा बुवाको उपचार तथा देहान्त पछि पनि काज किरिया खर्च आफै ब्यहोर्दै आईरहेको छ । दाङ जिल्लाको पहिलो आश्रमका रुपमा परिचित श्रृजनशिल बृद्दा आश्रममा अहिलेसम्म २ जना वृद्धवृद्धाहरुको मृत्यु भैसकेको छ ।